मंगलबार, कार्तिक ११ गते २०८३

जिल्ला सहकारी संघ काभ्रेद्वारा सहकारीमा महिला उद्यमशीलता विकास सम्बन्धी कार्यक्रम आयोजना


चैत्र १६, २०८२ सोमबार
जिल्ला सहकारी संघ काभ्रेद्वारा सहकारीमा महिला उद्यमशीलता विकास सम्बन्धी कार्यक्रम आयोजना

काभ्रे । जिल्ला सहकारी संघ  लि. काभ्रेले ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीमा महिला उद्यमशीलता विकास सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । महिला विकास उपसमितिको आयोजनामा “उद्यमशीलता र पारदर्शिता स् सहकारीको प्राथमिकता” भन्ने नारासहित  अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । 

 संघको सभाहलमा आयोजित कार्यक्रममा महिला उद्यमशीलताको प्रवर्द्धन, सहकारीमार्फत आर्थिक सशक्तिकरण तथा पारदर्शिताको अभ्यासलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा केन्द्रित रही छलफल गरिएको थियो। कार्यक्रमको सभापतित्व महिला विकास उपसमिति संयोजक तथा संघकी सञ्चालक सदस्य अम्बिका तिमल्सिनाले गरेकी थिइन् ।  प्रमुख अतिथिको रुपमा बनेपा नगरपालिकाकी उप–प्रमुख बिमला सापकोटा तथा विशिष्ट अतिथिको रुपमा सामाजिक विकास कार्यालयकी शाखा प्रमुख मन्जु कार्कीको उपस्थिति रहेको थियो। 

कार्यक्रममा संघका अध्यक्ष अमन पोटे श्रेष्ठ, सचिव प्रकाश बञ्जारा, कोषाध्यक्ष अर्जुन प्रसाद सापकोटा, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उपसमिति सदस्य तथा कर्मचारीहरु सहित विभिन्न सहकारी संस्थाबाट आएका ४४ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो। महिला विकास उपसमितिकी सदस्य रामशोभा खड्काले स्वागत मन्तव्य  राखेको  कार्यक्रमको प्रशिक्षण सत्र महिला उद्यमी दिक्षा पौडेलले सञ्चालन गरेकी थिइन् । प्रशिक्षणमार्फत उद्यम सुरु गर्ने प्रक्रिया, वित्तीय अनुशासन, बजार पहुँच विस्तार तथा नवप्रवर्तनका अभ्यासहरुबारे व्यावहारिक जानकारी प्रदान गरिएको थियो। 

कार्यक्रममा सहभागीहरुले सहकारी क्षेत्रलाई महिला उद्यमशीलताको प्रमुख माध्यमको रुपमा विकास गर्न आवश्यक नीतिगत र व्यवहारिक सुधारका विषयमा धारणा राखेका थिए। वक्ताहरुले सहकारीमार्फत महिलाको आर्थिक आत्मनिर्भरता अभिवृद्धि गर्न यस्तो प्रकारका कार्यक्रमको निरन्तरता आवश्यक रहेको उल्लेख गरेका थिए।