बुधबार, कार्तिक १२ गते २०८३

सहकारी महासंघको आयोजनामा बागमती प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न


चैत्र २७, २०८२ शुक्रबार
सहकारी महासंघको आयोजनामा बागमती प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम  सम्पन्न

बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझीले सहकारी ऐनलाई संशोधन गरेर भए पनि अभियानमा देखिएका विद्यमान चुनौतिहरुको सामना गर्दै निकास दिने बताएकी छन् । राष्ट्रिय सहकारी महासंघले चैत्र २६ र २७ गते काठमाडौंमा सञ्चालन गरेको “सहकारी संघ÷संस्था सुदृढीकरण तथा आन्तरिक लेखा प्रणाली सम्बन्धी बागमती प्रदेश स्तरीय अन्तरक्रिया कार्यको प्रमुख अतिथिको रुपमा बोल्दै सो कुरा बताएकी हुन् ।

उनले सहकारी अभियानमा देखिएका विद्यामान समस्याहरुको समाधान गर्न र निकास दिन सहकारी ऐन  पर्याप्त नभएकाले  ऐन संशोधनको प्रकृया शुरु भइसकेको  जानकारी दिइन् । मन्त्री रायमाझीले सहकारी संस्थाहरुलाई समस्याग्रस्त घोषणा गरेर मात्र समस्याको समाधान नहुने बताइन् । उनले सदस्यहरु आपसमा मिलेर नै समस्याको समाधान गर्न सकिने भएको हुँदा सदस्यहरु बीचमा सहकार्य हुनुपर्ने  जोड दिइन् ।  

राष्ट्रिय सहकारी महासंघका कार्य वाहक अध्यक्ष रमेश प्रसाद पोखरेलले सहकारी संघ÷संस्थाहरुलाई सुशासित, पारदर्शी र सदस्यमैत्री बनाउन लेखा सुपरीवेक्षण समितिलाई प्रभावकारी बनउन आग्रह गर्दै लेखा समिति सञ्चालक समिति भन्दा शक्तिशाली भएको बताए । उनले शेयर सदस्यहरु  नै सहकारी संघ÷संस्थाहरुको वास्तबिक मालिक भएको उल्लेख गर्दै केही लोभीपापी ब्यक्तिहरुका कारण सहकारी बदनाम भएको बताए । उक्त कार्यक्रमका अर्का बक्ता महासंघका उपाध्यक्ष डि.बि.बस्नेतले लेखा सुपरीवेक्षण समितिको अधिकार र जिम्मेवारीमाथि प्रकाश पार्दै लेखा समिति निष्कृय भएकै कारण सहकारीमा समस्या आएको बताउँदै लेखा समितिमा बस्ने ब्यक्ति दक्ष, सचेत र चुस्त हुनुपर्नेमा जोड दिए ।

उक्त अन्तरकृया कार्यक्रमको समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै महासंघका महाप्रबन्धक डा.बाबुकाजी थापाले शेयर सदस्यहरु आपसमा मिलेर सहकारी संस्था दर्ता र सञ्चालन गर्ने फेरि हामी नै सहकारीमा समस्या आयो भनेर सरकारसंग हारगुहार गनु लाजमर्दो भएको बताए ।

उनले सहकारीकर्मीहरु आपसमा मिलेर स्वनियम, पारदर्शिता र सुशासन कायम गरेर सहकारी संघ÷संस्थालाई अगाडि बढाउनुपर्ने बताए । महासंघका वरिष्ठ प्रबन्धक गोपीकृष्ण भण्डारीले सञ्चालन गरेको उक्त अन्तरक्रिया कार्यक्रममा पूर्व सचिव गोपीनाथ मैनालीले ‘सहकारी संस्थाहरुमा पारदर्शिता, आन्तरिक लेखा प्रणाली र सहकारी सुशासन’, संघीय सहकारी बिभागका उपरजिष्ट्रार शशी कुमार लम्सालले ‘सहकारीको स्वनियमन, सुशासन र राज्यको नीतिगत ब्यवस्था’ र बागमती प्रदेश रजिष्ट्रारको कार्यालयका शाखा अधिकृत राम प्रसाद गजुरेलले ‘सहकारी सेवा सुधार विविधीकरण र आर्थिक अनुशासन तथा जोखिम ब्यवस्थापनमा कानूनी व्यवस्था’ विषयमा प्रशिक्षण  दिएका थिए । अन्तरकृया कार्यक्रमका सहभागीले पछिल्ला एकाध वर्षदेखि सहकारी क्षेत्रमा देखिएका समस्याप्रति चिन्ता ब्यक्त गर्दै सबै सहकारीकर्मीहरु मिलेर अभियानलाई बचाउनु पर्नेमा जोड दिएका छन् ।

उक्त तालिमको समूहगत छलफलका क्रममा सहभागीहरुले उठाएका बिभिन्न सवालहरुका बारेमा चर्चा गर्दै सहभागी रमेश के.सी.ले तालिमको व्यवस्थापकीय पक्ष राम्रो रहेको र सहकारीको बुझाईमा थप स्पष्टता भएको बताए । साथै  उनले  तालिमबाट सिकेको सैद्धान्तिक ज्ञानलाई ब्यबहारमा उतार्न सकेमा सहकारी अभियानमा देखिएका समस्याहरु समाधान हुनुकासाथै सुधार हुँदै जाने बताए । सहकारीमा स्वनियमन ओझेलमा परेको र सुशासनमा कमी भएको स्वीकार गर्दै सहकारीका नीति÷नियम र कानूनहरुको अक्षरस परिपालना गरेमा समस्या समाधान हुने उनको भनाई छ ।