बर्दिबास महोतरीमा रहेको एकीकृत बचत तथा ऋण सहकारी संस्थाले बार्षिक समीक्षा गोष्ठी सम्मन्न गरेको छ । संस्थाका अध्यक्ष उत्तम कुमार श्रेष्ठको संयोजकत्वमा आयोजना गरिएको गोष्ठीमा वार्षिक समीक्षा तथा आगामी योजना र बजेट प्रस्तुतीकरण लगायतका विषयमा छलफल गरिएको थियो । गोष्ठीमा संस्थाका सञ्चालक समिति, लेखा सुरीवेक्षण समिति तथा विभिन्न उप – समितिका तथा सदस्यका साथै कर्मचारीहरुको सहभागिता रहेको थियो ।
संस्थाले आ.ब.२०८२/८३ मा सम्पन्न गरेका क्रियाकलापहरुको समीक्षा तथा आगामी कार्ययोजनाको लागि सल्लाह तथा सुझाव सहित आ.ब.२०८३/८४ को वार्षिक कार्ययोजना नीति र व्यवस्थापन सम्बन्धी अध्यक्ष श्रेष्ठले विस्तृत प्रस्तुतिकरण गरेका थिए । त्यसैगरी, गोष्ठीमा गत आर्थिक आर्थिक बर्षको असार सम्मको यथार्थ वित्तीय विवरण, बचत–ऋणको अनुशासन, पारदर्शिता र संस्थाको वित्तीय स्थायित्वका साथै आ.ब. २०८३/८४ को अनुमानित बजेटको वारेमा व्यवस्थापक पूर्ण प्रसाद सुबेदीले प्रस्तुत गरेका थिए ।
संस्थाको वितीय विवरण सम्बन्धमा कोषाध्यक्ष डिग बहादुर श्रेष्ठले जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन सचिव विनोद अधिकारीले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष मिना पोखरेलले राखेकी थिइन् । कार्यक्रममा विशेषगरी कर्मचारीको समस्या, गुनासा, तथा आगामी दिनका कार्य योजना ऋण असुलीको अभ्यासजस्ता विषयहरूमा अर्थपूर्ण छलफल गरिएको थियो ।
समग्रमा, कार्यक्रमले सहकारीप्रतिको बुझाइ बढाउनुका साथै सुरक्षित, पारदर्शी र जिम्मेवार सहकारी सञ्चालनतर्फ सबैलाई सचेत गराउने महत्वपूर्ण भूमिका खेलेको विश्वास लिइएको संस्थाले जनाएको छ । जिम्मेवार व्यवस्थापन र पारदर्शी प्रणाली नै सहकारीको दीगो भविष्य भन्ने मान्यता संस्थाको रहेको छ । संस्थाको गत असार मसान्तसम्म शेयर पुँजी १ करोड ८५ लाख,जगेडा कोष७५ लाख, बचत संकलन १४ करोड ९ लाख,ऋण लगानी १२ करोड ६५ लाख गरी कुल कारोबार १८ करोड ३० लाख पुगेको छ । संस्थामा ३ हजार ३६३ सदस्य आवद्ध रहेका छन् ।

नेपालपत्र संवाददाता