सोमबार, कार्तिक १० गते २०८३

तामागढी साकोसको वित्तीय अवस्था सबल, नीति बनाउँदा स्थानीय यथार्थ समेट्नुपर्नेमा जोड


भाद्र ७, २०८३ आइतबार
तामागढी साकोसको वित्तीय अवस्था सबल, नीति बनाउँदा स्थानीय यथार्थ समेट्नुपर्नेमा जोड

 

बारा । बारा जिल्लाको कोल्हवी नगरपालिका–१ मा रहेको तामागढी बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो आर्थिक वर्षमा वित्तीय सूचकहरूमा उल्लेख्य सुधार गर्न सफल भएको छ । संस्थाले आर्थिक वर्ष २०८२–८३ मा वासलातमा १५ प्रतिशत वृद्धि गर्नुका साथै बचत संकलन, बाह्य ऋण, सदस्य संख्या र जोखिम कोष व्यवस्थापनमा समेत सुधार गरेको व्यवस्थापक बासुदेव रिमाल बताउँछन् । 

उनका अनुसार विगतमा निक्षेप संकलनमा कमजोर र बाह्य ऋणमा निर्भर रहेको तामागढी साकोसले अहिले निक्षेप तथा बाह्य ऋण दुवैको अवस्था ‘पर्ल्स मोनिटरिङ सिस्टम’का सूचकभित्र राख्न सफल भएको छ । विगतमा कुल कारोबारको १७–१८ प्रतिशतसम्म बाह्य ऋणमा निर्भर रहेको संस्थाले अहिले उक्त अनुपातलाई नियामकीय सूचकभित्र ल्याएको उनको भनाइ छ ।

सदस्य संख्यामा समेत १५ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । भाखा नाघेको कर्जा विगतको तुलनामा सुधार भएको र आवश्यक जोखिम कोषको व्यवस्था पूर्णरूपमा गर्न सफल भएको व्यवस्थापक रिमालको दाबी छ । समग्र वित्तीय अवस्थालाई हेर्दा संस्था अहिले अब्बल अवस्थामा पुगेको उनले जनाए ।

चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा संस्थाले ३६ करोड ६४ लाख रुपैयाँ बचत  संकलन गरेको छ भने ऋण लगानी करिब ४२ करोड १९ लाख रुपैयाँ पुगेको छ । संस्थाको शेयर पुँजी ४ करोड ७५ लाख रुपैयाँ, जगेडा कोषमा ४ करोड ९५ लाख र अन्य कोषहरुमा ३ करोड ११ लाख पुगेको व्यवस्थापक रिमालले जानकारी दिए । संस्थाको कुल वासलात ५६ करोड १८ लाख रुपैयाँ पुगेको छ । संस्थामा ७ हजार ८ सयको हाराहारीमा सदस्य आवद्ध रहेका छन् । 

करिब १४ वर्षअघि २ करोड रुपैयाँको कारोबारबाट सुरु भएको संस्था अहिले करिब ५५ करोड रुपैयाँको कारोबारको अवस्थामा पुगेको उनले बताए । संस्थाले सदस्यहरुलाई ऋणतर्फ सात तथा बचततर्फ २२–२३ वटा प्रडक्ट सञ्चालनमा ल्याएको जनाएको छ । तीन वर्ष पूरा भएका र नियमित बचत गर्ने सदस्यलाई लक्षित गरी संस्थाले ‘आकस्मिक पैँचो सापटी’ कार्यक्रम सञ्चालन गरेको छ । यसअन्तर्गत सदस्यले आकस्मिक आवश्यकतामा २० हजार रुपैयाँसम्म ब्याजरहित रकम लिन सक्नेछन् । यस्तो रकम तीन महिनाभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, गम्भीर रोगबाट प्रभावित शेयर सदस्यलाई सहयोग गर्न २५ हजार रुपैयाँसम्मको कोष स्थापना गर्ने प्रस्ताव गरिएको छ । आगामी १८औँ वार्षिक साधारण सभासँगै उक्त कार्यक्रम अघि बढाउने तयारी रहेको संस्थाले जनाएको छ । संस्थाले सदस्यको स्वामित्वलाई व्यवहारमै अनुभूत हुने गरी सेवा विस्तार गर्ने रणनीति लिएको छ । वित्तीय प्रतिस्पर्धाका बीच संस्थाले करिब ११ प्रतिशतको दरमा कर्जा लगानी गर्न सक्ने अवस्थामा आफूलाई पु¥याएको व्यवस्थापक रिमालको भनाइ छ।

१८औँ वर्षमा प्रवेश गरेको तामागढी साकोसले आगामी कार्ययोजनामा आफ्नै भवन निर्माणलाई प्राथमिकता दिएको छ । विगतमा साधारण सभाबाट भवन निर्माण गर्ने निर्णय भइसकेतापनि कोभिड महामारी र आर्थिक मन्दीलगायत कारणले योजना अघि बढाउन नसकेको उनले सुनाए । ठूलो रकम भवन निर्माणमा लगानी गर्दा दैनिक वित्तीय व्यवस्थापनमा असर पर्न सक्ने भन्दै विगतमा पुनर्विचार गरिएको भए पनि अब भने भवन निर्माणको तयारीमा संस्था रहेको छ । 

दोहोरो सदस्यताको विषयमा समेत नियामकीय व्यवस्थाअनुसार अघि बढ्ने संस्थाको तयारी छ । कोपोमिसमा अद्यावधिक विवरणका आधारमा दोहोरो सदस्यता देखिएमा सम्बन्धित सदस्यलाई विकल्प दिएर एउटा संस्था मात्र छनोट गर्न लगाउने विषयमा सञ्चालक समितिमा छलफल भइरहेको उनले बताए । उनले पछिल्लो समय आएका नियामकीय व्यवस्थाहरू आवश्यक भए पनि नीति निर्माण गर्दा देशभरका सहकारीको वास्तविकता समेट्नु पर्ने उनको सुझाव छ । उनका अनुसार काठमाडौँ उपत्यकामा रहेका सहकारीको अवस्थालाई मात्र आधार मानेर देशभरका सहकारीलाई एउटै मापदण्डमा बाँध्दा ग्रामीण तथा समुदायमा आधारित सहकारीको वास्तविकता सम्बोधन हुन सक्दैन । ७७ जिल्ला र ७५३ स्थानीय तहमा रहेका सहकारीको समग्र अवस्थाको ‘समराइज रिपोर्ट’का आधारमा नीति निर्माण गर्नुपर्ने उनको धारणा छ ।

विशेषगरी सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारीले कर्जा लिन नपाउने व्यवस्था गरिएकाले समुदायमा आधारित सहकारीमा समस्या निम्त्याउन सक्ने उनले बताए । गलत काममा संलग्न सञ्चालकमाथि कारबाही आवश्यक भए पनि सबै सञ्चालकलाई एउटै दृष्टिले हेर्ने नीतिले सहकारी अभियान कमजोर पार्न सक्ने उनले बताए। समुदायमा आधारित सहकारीका सञ्चालक तथा सदस्य आफ्नै श्रम र आयमा निर्भर हुने भएकाले उनीहरूको आर्थिक वास्तविकतालाई पनि नीतिमा समेटिनुपर्ने उनको जोड छ ।

सहकारी क्षेत्रमा कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण र राष्ट्रिय सहकारी नियमन प्राधिकरणजस्ता संरचना स्थापना हुनु सकारात्मक भएको उनले बताए । तर यस्ता संरचनाको प्रभावकारी कार्यान्वयन अबको मुख्य चुनौती रहेको उनको भनाइ छ । विशेषगरी कर्जा असुली सहकारी क्षेत्रको प्रमुख चुनौती भएकाले कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरणलाई प्रभावकारी बनाउनुपर्ने उनले जोड दिए । स्थानीय तह र प्रदेश तहमा रहेका सहकारीलाई सम्बन्धित तहबाटै कर्जा असुलीमा सहजीकरण गर्ने व्यवस्था भए नियामकीय प्रणाली थप प्रभावकारी बन्ने उनका धारणा छ । उनका अनुसार नियमन आवश्यक भए पनि नियमनसँगै सहकारीको प्रकृति, भौगोलिक अवस्था र सदस्यको सामाजिक तथा आर्थिक पृष्ठभूमिलाई समेत ध्यान दिनुपर्छ । यसले मात्र सहकारी अभियानलाई दिगो र प्रभावकारी बनाउन सक्ने उनको धारणा छ ।

समग्रमा, १४ वर्षको यात्रामा वित्तीय आकार विस्तारसँगै जोखिम व्यवस्थापन, सदस्य वृद्धि र सेवा विविधीकरणमा सुधार गरेको तामागढी साकोसले आगामी दिनमा आफ्नै पूर्वाधार निर्माण, सदस्य केन्द्रित सेवा र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेको छ । नियमन र अनुशासन आवश्यक भए पनि देशभरका समुदायमा आधारित सहकारीको फरक प्रकृतिलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यान्वयन हुनुपर्नेमा व्यवस्थापक रिमाल जोड दिन्छन् ।