बुधबार, कार्तिक १२ गते २०८३

सहकारी बैंकको  १५ प्रतिशत लाभांश संस्थाको खातामै जम्मा 

पौष ३०, २०७८ शुक्रबार
सहकारी बैंकको  १५ प्रतिशत लाभांश संस्थाको खातामै जम्मा 


राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ को कारोबारबाट शेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १५ प्रतिशत लाभाशं वितरण गरेको छ । 

बैंकको १८ औं वार्षिक साधारणसभा सकिएकै दिन शुक्रवार बैंकले लाभाशं सदस्य संघ संस्थाको खातामा पठाएको हो ।     

साधारणसभाले १५ प्रतिशत लाभाशं दिने निर्णय पारित गरेको लगत्तै बैंकले खातामा रकम पठाएको अध्यक्ष के.बी. उप्रेतीले जानकारी दिए । ‘आज साधारणसभा सकिदैछ, लाभाशं पनि आजै सहकारीहरुको खातामा पठाएका छौं’, उप्रेतीले भने ।  
बैंकले यस पटकको साधारणसभा भौतिक उपस्थितिकाबीच एकाईगत रुपमा ७ वटै प्रदेशमा गरेको थियो । एकाई प्रतिनिधिहरुको साधारणसभा शुक्रबार सम्पन्न भएको र शुक्रबार नै देशभरका सहकारीहरुको खातामा लाभाशंको रकम पठाएको हो ।

बैंकले  गत आर्थिक वर्ष ०७७/०७८ मा रु ३९ करोड ९५ लाख रुपैया लाभाशं वितरण गरेको छ, सहकारी बैंकले विगत ४ वर्ष देखि लगातार १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ । बैंकले वितरण गरेको यो लाभांशमा संरक्षित पुँजी फिर्ता कोषबाट प्राप्त गर्ने रकम समावेश नगरिएको बैंकले जनाएको छ ।

बैंकले छिट्टै नै सदस्यहरुलाई संरक्षित पुँजीफिर्ता कोषको रकम पनि सदस्यको खातामा पठाउने तयारी गरेको जनाएको छ । बैंकले लाभांश बाहेक कारोबारका आधारमा संरक्षित पुँजीफिर्ता कोषबाट पनि सदस्य सहकारीहरुलाई रकम उपलब्ध गराउँदै आएको छ ।