मंगलबार, कार्तिक ११ गते २०८३

म्यानमारमा बल्झिदो सैन्य शासन र कमजोर नागरिक शासन

बैशाख १५, २०७९ बिहीबार
म्यानमारमा बल्झिदो सैन्य शासन र कमजोर नागरिक शासन

Ang Sang Suu Kyi.jpg
–लोकनारायण सुबेदी
सैनिक शासन अन्तरगतको म्यानमारको एक अदालतले त्यो देशकी प्रसिद्ध तथा लोकप्रिय पूर्ब नेतृ आङ साङ सू चीलाई भ्रष्टाचारको मुद्दामा पाँच बर्षको काराबासको सजाय सुनाएको छ । म्यानमारको सेनाले एक बर्ष अघि २०२१ को फेब्रुअरी महिनामा त्यहाँको निर्वाचित नगरिक सरकारको सत्ता पल्टाएपछि सू चीलाई उनको निवासमै नजरबन्द राखेको थियो । अहिले भ्रष्टाचारमा फँसाउने तारतम्य मिलाएको देखिदैछ । उनले सेनाका उच्च अधिकारीसँग डलर र सून घूस लिएको आरोप लगाइएको छ । तर  सूचीले अदालतको यो आरोपका ठाडै अस्वीकार गरेकी छन् । यस अघि नै सू चीलाई अन्य बिभिन्न मुद्दामा ६ बर्षको जेल सजायको फैसला पनि सुनाइसकेको छ । यतिबेला सू चीलाई भ्रष्टाचार अन्य १० वटा आरोप पनि लागिसकेका छन् । यो अपराध गरे बापत उनलाई अधिकतम् १५ बर्षको जेल सजाय र जरीमाना पनि हुने प्रावधान रहेको छ । यस्तै अरु मुद्दामा पनि दोषी ठहराइएमा उनमाथि सबै मिलाएर एक सय बर्षभन्दा बढी समय जेलमा बस्नु पर्ने स्थिति खडा हुनसक्छ । नोबेल पुरस्कारले सम्मानित लोकतन्त्रबादी नेतृ सू चीले म्यानमारको सैनिक शासनको अबहेलना गरेको आरोपमा पहिल्यै पनि धेरै बर्ष नजरबन्दी जीवन बिताइसकेकी छन् ।


 म्यानमारको सेनाले गत बर्ष २०२१ मा अङ साङ्ग सूची सरकारको सत्ता पल्टाइदिएको थियो र उनी लगायत कयौ शीर्ष नेताहरुलाई सैनिक हिरासतमा कोचेको थियो । कारण गत बर्ष सम्पन्न भएको आम निर्वाचनमा सू चीको पार्टी लिग फर डेमोक्रेसीले ठूलो बहुमतले बिजय हासिल गरेको थियो । तर सेनाले त्यो चुनावमा ब्यापक धाँधली भएको आरोप लगाएर सत्ता आफ्नो कब्जामा लिएको थियो । अहिले त्यहाँ के आशंका गरिदैछ भने सैनिक शासन अन्तरगतको अदालतले आङ साङ्ग सूचीलाई नयाँ नयाँ सजाय सुनाउन थालेको छ र त्यहाँ जनतामाथि थप दमन तीब्ररुपमा बढाउन सक्ने छ । 


 इतिहासलाई हेर्ने हो भने सन् १९८८ को बिद्रोह आधुनिक म्यानमारको इतिहासको एउटा निर्णायक मोड थियो । त्यतिबेला म्यानमारको सैनिक शासनले त्यहाँको अर्थतन्त्रलाई जस्तो किसिमले तहस नहस पारेको थियो त्यसको बिरोधमा जनताको ठूलो असन्तुष्टीको बिस्फोट भएको थियो । त्यस अघि सैनिक जनरल ने वीनले १९६२ मा सत्ता पल्टाएर शासन सत्ता कब्जा गरेका थिए । म्यानमारमा सैनिक शासनलाई ‘तामदौ’ भन्ने गरिन्छ । त्यहाँ सेनाको के मान्यता रहँदै आएको देखिन्छ भने नागरिक शासनले देशलाई एकजुट राख्ने क्षमता राख्दैन । त्यतिबेला जनरल नेबिनले बर्मा(अहिलेको म्यानमारलाई त्यतिबेला बर्मा भनिन्थ्यो)को सम्पर्क बाँकी संसारसँग पूरै काटिदिएको थियो । त्यति बेलाको बिश्वमा शीत युद्धको कारणले बिश्व दुइ खेमामा बिभक्त थियो । तर जनरल ने बिनले भने कुनै खेमातिर लाग्न पनि अस्वीकार गरिदिएका थिए । त्यसको बिपरीत बरु उनले सनकको भरमा फैसला लिने एक दलीय ब्यबस्थाको आरम्भ गरे । त्यसमा सेनाको बर्चश्व रहेको थियो । तत्पश्चात चाँडै नै ने वीनको बर्मा सोशियलिष्ट प्रोग्राम पार्टीका गलत निर्णहरुले गर्दा बर्मा बिश्वको गरीब राष्ट्रकोरुपमा परिणत हुन पुग्यो । त्यस परिस्थितिमा बर्मामा १९८८ को अगस्ट र सेप्टेम्बर महिना चलेको जन आन्दोलन उत्कर्षमा पुगेको थियो । त्यसबेला १९८७ मा ने बीनको सरकारले एकाएक देशमा नोटबन्दी गरिदियो । बैंकमा जम्मा गरिएका नोटहरु अमौद्रिकरण(डिमोनिटाइजेशन)को दायरामा ल्याइए । त्यस कदमले बर्माको अर्थ ब्यवस्थामाथि अझ बिनाशकारी प्रभाब पर्न गयो । अनि गत बर्ष पनि सैनिक सत्ता हस्तगतका कारणले म्यानमारका जनतालाई उद्वेलित गरेर झक्झक्याएको थियो । तथापि त्यहाँको नागरिक आन्दोलनलाई कुल्चिनका लागि सैनिक हिंसा अहिलेसम्म १९८८ को स्तरमा पुगेको छैन भनिदैछ । 

Myanpartasbir.png
 तर अहिले पनि स्थिति झन झन नाजुक बन्दै गएको यथार्थ कुन कुराले दर्शाउदछ भने जसले सैनिक शासन या सेनाको बिरोध गर्दछ र लोकतान्त्रिक आन्दोलनमा सामेल हुन्छ तिनको साथै तिनका नातेदार र सहयोगी समेतको या त हत्या गर्ने गरिन्छ या हिरासतमा बन्द गरिने गरिन्छ । कयौ पटक त बेपत्ता पार्ने समेत गरेको औंल्याउने गरिन्छ । तिनका घरमा रातारात छापामार्ने र आतंकित तुल्याउन गरिन्छ । सुरक्षा सेनाले लैंगिक तथा यौना हिंसा गर्नमा पनि कुनै कसर नराख्ने गरेको उल्लेख गरिन्छ । भनिन्छ त्यहाँ अहिले शिक्षक तथा कर्मचारी सैनिक दमनको प्राथमिकतामा परेका छन् । म्यानमारको सेनाले बिरोधीहरुको दमनका क्रममा गाउँ गाउँमा छापा मार्ने गरेको, घर घरमा आगो लगाइदिने गरेको र मानिसहरुको हत्या गर्ने गरेको समेत आरोप छ ।


 अर्कोतिर म्यानमारमा रोहिंग्या मुसलमानहरुको समस्या पनि गम्भीर समस्याकोरुपमा रहेको छ । त्यहाँको चुनावमा पनि ती अल्पसंख्यक रोहिंग्याहरुलाई मताधिकारबाट बञ्चित राखिएको छ । अहिले म्यानमारको नागरिक सत्ता पल्टाउने सेना प्रमुखर जनरल मिन आङ्ग ह्लाइङ्ग उनको क्रूरताका लागि बिश्वमै दरिएको जानकारहरु औंल्याउँदछन् । दश बर्ष अघि २०१२ मा म्यानमारको रखाइन प्रान्तमा गृह युद्धको जस्तो स्थिति उत्पन्न भएको थियो । सेनालाई रोहिंग्याहरुमाथि अत्याचार गरेको आरोप लागेको थियो । म्यानमारको सेनाले अगस्ट १९१७ मा त्यो रखाइन प्रान्तमा रक्त रञ्जित अभियान नै चलाएको बताइन्छ । जसमा परेर हजारौं रोहिंग्या मुसलमानहरु मारिएका थिए । त्यतिबेला पाँचलाख जति रोहिंग्याहरुले आफ्नो थात थलो छोडेर छिमेकी बंगालादेश र अन्य देशहरुमा भाग्नु परेको थियो । त्यो रखाइन प्रान्तमा बिग्रदो स्थिति सम्हाल्नका लागि त्यहाँको सरकारले कुनै ठोस कदम उठाउन सकेन । त्यसको फाइदा सेनाले उठायो र सेना नागरिक सरकारभन्दा सबल बन्न गएको देखियो । त्यस्तो बेलामा रोहिंग्या मुसलमानमाथि भइरहेको अत्याचारको क्रममा नोबेल पुरस्कारले सम्मानित म्यानमार नेतृ सू ची मौन साधेर किन बसिन् ? त्यसले गर्दा उनको पनि सर्बत्र आलोचना हुनथाल्यो ।


 त्यतिबेला लगातार रोहिंग्या मुसलमानहरुमाथि भइरहेको हत्या र दमनका बिरुद्धको सैन्य हिंसा रोक्नका लागि बिश्व चर्चित आर्क बिशप डेसमण्ड टूटूदेखि लिएर नोबेल पुरस्कारले सम्मानित मलाला यूसूफजाईसम्मले आङ साङ्ग सू चीसँग अपिल समेत गर्दै रहेको सुनिएको र देखिएको हो । तर शान्ति र सुब्यवस्था तथा दमन रोक्न गरिएको त्यो अपिललाई बेवास्ता गरेर मौन बस्ने काम सू चीले गरिन् । वास्तवमा यस मामिलामा उनले पनि आफ्ना पिता आङ सानले जस्तै बाटो अख्तियार गरेको देखियो ।


 दोश्रो बिश्व युद्धका बेला त्यो रखाइन प्रान्त दक्षिण पूर्ब एशियामा चलिरहेको युद्धको क्रममा सबैभन्दा अगाडि रहेको थियो । रोहिंग्या समुदायका मानिसहरुले बृटेन र उसका सहयोगीहरुको तर्फबाट जापानी सेनालाई टक्कर दिएको थियो । त्यो रखाइन प्रान्तमा बर्मी समुदाय र रखाइनका बौद्धहरुले भने लडाईमा जापानलाई साथ दिएका थिए । १९४२ र १९४३ का बीच दुबै तर्फबाट धेरै मानिसको ज्यान गएको बताइन्छ । यस परिप्रेक्षमा के भनिन्छ भने बिश्व समुदायले यदि प्रभावकार िदबाब दिन सकेन भने अहिले पनि त्यहाँ जनधनको भयंकर ठूलो नोक्सान हुन सक्तछ । यस सम्वन्धमा संयुक्त राष्ट्र संघदेखि लिएर बिश्वमा सबै मानबाधिकारसँग सम्बन्धित संघ संस्थाले पनि कडा आवाज उठाउनु पर्ने र बिशेष पहल गर्नु पर्ने देखिएको राजनीतिक लेखाजोखा गर्ने बिश्लेषकहरु औंल्याइरहेका छन् । जस्तो सत्तामुखी परम्पराबाट म्यानमारको सेना चल्दै आएको छ त्यसले गर्दा त्यहाँ जनतान्त्रिक अधिकार र नाग।िरक स्वतन्त्रताले सही किसिमले जरा जमाउन नपाएको स्थिति छ ।