बुधबार, कार्तिक १२ गते २०८३

मौद्रिक नितिका कारण वित्तीय क्षेत्रको लगानीको प्रतिफलमा संकुचन आउछः सीबीफीन

श्रावण १०, २०७९ मंगलबार
मौद्रिक  नितिका कारण  वित्तीय क्षेत्रको लगानीको प्रतिफलमा  संकुचन  आउछः सीबीफीन

 बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले मौद्रिक नीतिमार्फत चालिएका कदमले तरलता व्यवस्थानमा कठिनाइ देखिएको भन्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि थप चुनौतिपूर्ण हुने बताएको छ ।

मौद्रिक नीतिबारेको धारणा सार्वजनिक गर्दै सीवीफीनले मौद्रिक नीतिबाट चालिएको मौद्रिक औजारले उत्पादनमुलक क्षेत्रमा लगानी विस्तार गर्दै आयात प्रतिस्थापन गर्ने र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा थप चुनौतीपूर्ण हुने बताएको हो । बाह्य क्षेत्रका विविध घटनाक्रमको कारण नेपालको अर्थतन्त्रमा नकारात्मक असर देखिएको र आर्थिक स्थिरता, मूल्य स्थायित्व, विदेशी मुद्राको सञ्चितिलाई स्थिर राख्न, शोधनान्तर स्थितिमा बढ्दो असन्तुलनले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन चुनौती खडा हुने सीबीफीनको भनाइ छ । 

कमजोर उत्पादन प्रणालीका कारण चुलिंदो आयातलाई प्रतिस्थापन गर्नुपर्ने चुनौतीमा बैंकदरमा गरिएको वृद्धि,सीआरआर र एसएलआरमा भएको वृद्धि, आयातमा नगद मार्जिन, कर्जा प्रवाहको सीमामा संकुचनले तरलता व्यवस्थापनमा थप कठिनाइ हुने सीबीफीनले जनाएको छ । बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीको प्रतिफलमा समेत संकुचन हुने सीबीफीनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।