काठमाडौं, यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशन( डिएफसी) ले नेपालमा साना तथा मझौला व्यवसाय कर्जाहरूको वित्तीय आवश्यकता पूरा गर्न दिगो बैंकिङ्ग क्षेत्रको एनएमबि बैंकलाई १० करोड अमेरिकी डलर बैदेशिक ऋण स्वीकृत गरेको छ ।
डिएफसी अमेरिकी सरकारको विभिन्न देशका निजी क्षेत्रसँग साझेदारी गरी विकासशील देशले सामना गरिरहेको चुनौतीहरूको समाधानको लागि ऊर्जा, स्वास्थ्य सेवा, पूर्वाधार र प्रविधिलगायत क्षेत्रमा वित्तीय लगानी गर्दै आइरहेको संस्था हो । एनएमबि बैंक र डिएफसीबीचको साझेदारीले नेपालको साना तथा मझौला व्यवसायलाई उद्यमशीलता मार्फत आत्मनिर्भरताको लागी महिलाहरूलाई प्राथमिकतामा राखेर नयाँ अवसरहरू सिर्जना गर्न बैंकले मद्दत गर्नेछ ।
एनएमबि बैंक उत्पादनशील र प्राथमिकता क्षेत्रमा अन्तर्राष्ट्रिय ऋण लगानी भित्र्याउने नेपालको पहिलो बैंक हो । हालको बैंकिङ्ग तरलताको परिदृश्यमा, यसरी देशमा भित्रिने वाह्य वित्तीय श्रोतले देशकै आवश्यकता अनुरुप उत्पादनमुलक तथा प्राथमिकताको क्षेत्रमा लगानी बढाउन बैंकले विश्वास लिएको छ । एनएमबि बैंकले जलविद्युत, नवीकरणीय ऊर्जा, कृषि तथा साना तथा मझौला उद्योगमा ऋण पूंजीको लागी डिएफसी सहित हालसम्म नौ डेभलपमेण्ट फाईनान्सियल ईन्सिटच्युसन डिएफसीबाट कुल ३०१.५० मिलियन अमेरिकी डलर ऋण भित्र्याईसकेको छ ।
एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।