मंगलबार, कार्तिक ११ गते २०८३

चूनौति नै चूनौतिका बीच चुनाब

कार्तिक ११, २०७९ शुक्रबार
चूनौति नै चूनौतिका बीच चुनाब

Indra.jpg
लोकनारायण सुबेदी
 देशले पछिल्लो राजनीतिक परिबर्तन पछि पनि कुनै सकारात्मक कोल्टे फेर्न सकेन । बरु संकट पछि संकट थपिने तथा देश र जनताको अबस्था अझ दारुण र सकसपूर्ण हुदै जाने अस्वीकार्य स्थिति बिकसित भएको छ । यसको खाश कारण भने उपरी ढाँचा अर्थात अधिरचना(सुपरस्ट्रक्चर)मा मात्र सामान्य परिबर्तन भएको र आधार(बेस)मा कुनै तात्विक परिबर्तन हुन नसकेको अबस्था नै हो । हिजो जुन बर्गले शासन र शोषण गर्दथ्यो भिन्नरुपमा त्यही बर्गले आज पनि शासन र शोषण गरिरहेको छ । आम श्रमजीबी जनताको अबस्थामा कुनै पनि परिबर्तन आउने र ल्याउने कुनै आमूल परिबर्तनका कदमहरु चालिएका छ्रै्रनन् । चालिने कुनै संकेत र  छाँटकाँटसम्म पनि देखा परेको छैन । बरु जनता र देशलाई गरीबी, अभाव, असुरक्षा, बढ्दो ऋणको बोझ, अशिक्षा, बेरोजगारी, अन्धबिश्वास, कुरीति, पाखण्ड तथा बाह्य हस्तक्षेप लगायतका अनेक असैह्य र अमान्य समस्याले आक्रान्त पारेको छ र यो क्रम अझ बढेको छ । 
 परिबर्तनका बाहक भनिएका शक्तिहरुमा आएको चौतर्फी परनिर्भरता, नैतिक स्खलन, अपचलन र निहीत स्वार्थले गर्दा देशमा अजंगका भ्रष्टाचार, कमिशनखोरी, सुदखोरी, तस्करी, कालोबजारी ब्याप्त छ । तिनको बोझले थिचिएका जनताले  तिनबाट त्राण पाउने निकट सम्भावनाको कुरै छाडौ यस्तै यथास्थितिमा सुदूर भबिष्यमा पनि यस स्थितिको अन्त्य होला भनेर आशा गर्न नसकिने स्थिति बिकसित भएको छ । बिकास निर्माणका कार्यहरु, योजना परियोजनाहरु अत्यन्तै महँगा, कमसल, बोझिला र अबिश्वसनीय बनेका छन् । जसले गर्दा जनताले हिजो र आजमा कुनै तात्विक फरक पाउन र परिबर्तनलाई पत्याउन सकेका छैनन् । बरु उनीहरुले ‘जुन जोगी आए पनि कानै चिरेको’ कटु अनुभव दिनानु दिन गरिरहनु परेको अबस्था छ । यो स्थिति जनताका निमित्त ‘मुटुमाथि ढुंगा राखेर हिड्नु सरह’ छ ।
 यस बिचमा सरकार, संसद र न्यायपालिका कुनै पनि क्षेत्रले जनता र राष्ट्रको हितमा काम गरेर आशलाग्दो  उदाहरण बनेको एउटा पनि आधार कतै खडा हुन सकेको छैन । बरु तिनका बीचमा एक वा अर्को किसिमको ‘सेटिङ्ग’ चलेको र सर्बत्र ऐन कानुनको उल्लंघन भइरहेको आरोप एकले अर्कोलाई लगाएको र लगाइरहेको  स्थिति छ । वास्तवमा यो घोर अराजक र अबिश्वसनीय स्थिति हो । यसले ब्यवस्था खराब छ र त्यसले अबस्था पनि खराबतम तुल्याउदै लगेको छ भन्ने कुरा नै झल्किरहेको र देखिइरहेको छ । 
 जनताले न सरकार, न संसद न अदालत कतै पनि बिश्वास गर्ने, न्याय पाउने र बर्तमान सुरक्षित तथा भबिष्य आशाप्रद र उज्वल हुने स्थिति देखिरहेका छैनन् । यस भयावह स्थितिमा चुनावलाई जतिसुकै प्रजातान्त्रिक भनेर ढोल पिटिए पनि त्यसको औचित्यता सावित हुन सक्तैन र सत्यापन  हुँदैन । त्यसमा पनि चुनाव अत्यन्तै खर्चिलो, महँगो र अपारदर्शी बनेको कुरा राजनीतिक दल, सरकार, सांसद र स्वयं निर्वाचन आयोग सबैले यथार्थ औंल्याइरहेका छन् । यस अबस्थामा चुनावले पनि कुनै समाधान दिने स्थिति बन्दैन । यो आजको यथार्थ र कटु सत्य कुरा हो । 
 यस अबस्थामा चुनावमा पुरानै प्रबृत्ति, पुरानै शक्ति, पुरानै ब्यक्ति र पुरानै गतिबिधि दोहोरिने कुरा प्राय: निश्चित छ, नयाँ कोही आइहाले पनि दलको नीति कार्यक्रम र कार्यनीति पुरानै राखेर कुनै फरक र बिश्वासिलोपना आउने कुरामा बिश्वास गर्ने आधार खडा हुँदैन । गलतको स्थानमा सही आउने कुरा यदाकदा एक दुइ अपबाद मात्र भएर रहन्छ । किनभने चुनावलाई प्रभाव पार्ने जुन तत्वहरु छन् ती अबैध पैसा, प्रभाव, दबाव र जनताको निरीहताबाट फाइदा उठाउने कुरा नै हुने गरेका छन् । अनि अनतर्राष्ट्रि दता राष्ट्र र संस्थाहरुको समेत प्रत्यक्षा परोक्ष प्रभाव पर्ने गरेको कुरा पनि त्यत्तिकै सत्य छ । तिनलाई छेकबार लाउन सक्ने र लाग्ने कुनै स्थिति बिल्कुलै बनेको छैन । जसले गर्दा फेरि पनि त्यसै प्रबृत्तिका मानिसहरु चाहे ती जुनसुकै दलबाट किन नहुन् ब्यवस्थापिका र कार्यकापालिकामा पुग्ने कुरा निश्चित प्राय: रहेको छ । 
कुरा यहाँ यूवा पिढी र उमेर ढल्केका बृद्ध बीचको हुँदै होइन, पात्र र प्रबृत्तिको मूल कुरा छ । पात्र र प्रबृत्ति उही रहे पछि तिनले ल्याउने परिणाममा कुनै फरक पर्दैन । प्रष्ट छ, अबैध श्रोत साधन भएका सण्डमुण्डहरुकै फेरि पनि मनमरी चल्ने स्थिति कायम रहन्छ र बन्छ । चुनाव तिनकै प्रभावमा जान्छ । आर्थिक क्षेत्रमा जसरी सर्बत्र बिचौलियाहरुको रजगज छ त्यसरी नै राजनीतिक क्षेत्रमा पनि परोक्ष प्रत्येक्ष तिनले आसन जमाएर बसेका हुन्छन् र तिनकै फूर्तिफार्ती चुनावमा प्रभावी हुन्छ ।  जनताले त्यस्तैलाई चुने के गर्ने त भनेर पञ्छिने क्रम उपक्रम चलाएर कुरा सामसुम पार्ने बाहेक अरु केही हुने अहिलेसम्म देखिएको छैन । 
यसरी संसदीय चुनाव चाहे स्थानीय, प्रादेशिक र संघीय जुनसुकै स्तरको होस् त्यसमा उत्पन्न गरिएका बिषाक्त गतिबिधि र प्रबृत्तिले चूनौति नै चूनौति पहाड खडा गरिदिएको छ । त्यसलाई आम जन समुदायले छिचोल्न कठिन छ । तथापि कतै लाटोको खुट्टा बाटोमा परिहाल्यो भने पनि त्यो अरण्य रोदन सरह मात्र भएर रहनेछ । यथार्थ यही नै हो ।
यस्तो स्थितिमा चुनाव एउटा कर्मकाण्ड मात्र भएर रहनजान्छ । केवल एउटा ‘चुनावी मेलाको ठेलम ठेला’मा परिणत हुन्छ । संबिधान बमोजिम चुनाव भयो भन्ने भजन गाउने कुरा मात्र हुन्छ । यसले समस्याको सही समाधान दिदैन । यसले गर्दा देश र जनताको बिग्रदो र दारुण अबस्था फेर्ने कुरा मात्रै होइन ब्यवस्था नै आमूलरुपमा फेर्नु पर्ने कुरामा पुग्नु पर्ने हुनजान्छ र त्यसका लागि ब्यापक, गहन र जिम्मेवारीपूर्ण बिचार बिमर्श चलाउनु र अग्रगामी सही निष्कर्शमा पुग्नु ऐतिहासिक राष्ट्रिय आवश्यकता बन्न जान्छ । आन्तरिक र बाह्य कारणले जुन यथास्थितिलाई दशकौंदेखि च्यापेर चल्ने निराशाजनक प्रबृत्ति र मनोबृत्तिका साथ अहिलेसम्म चल्ने गरिदै आएको छ त्यसले अब काम गर्दैन । कि देश अब अझ तीब्ररुपमा थप अधोगतिमा धकेलिन्छ कि अग्रगतिको बाटोमा जाने निष्कर्शमा पुग्नै पर्दछ । योभन्दा अर्को कुनै बिकल्प छैन । चुनाव परिणाम जे जस्तो आए पनि यो कुरामा बुद्धि लगाइएन भने त्यो ‘श्राध्दमा बिरोलो बाध्ने’ पुरानो कथा दोहोरिएको बाहेक अरु केही ठहरिदैन ।