विद्युतकर्मी बहुउद्देश्यीय सहकारी संस्थाको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष रामकुमार थेवेको सभापतित्वमा सभा सम्पन्न भएको हो ।
सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष थेवेले सदस्यहरुलाई परिश्रमी, मिव्ययी र एवं बचत गर्न अभिप्रेरित गर्ने उद्देश्यसहित २०६३ सालमा स्थापना गरिएको संस्थाले हालसम्म आइपुग्दा २८ करोड ६८ लाख माथिको कारोबार गर्न सफल भएको बताए ।
आर्थिक वर्ष २०७८।७९ को आर्थिक कारोबारको विवरण प्रस्तुत गर्दै संस्थाका कोषाध्यष राजुप्रसाद तिमल्सिनाले संस्थामा शेयर सदस्याको संख्या ५८२७ पुगेको बताए । उनले गत असार मसान्त सम्म संस्थाले शेयरपुँजी ४ करोड ८४ लाख ८८ हजार, बचत संकलन १७ करोड ८५ लाख, ऋण लगानी २२ करोड २२ लाख गरी कुल नाफा २ करोड गरेको जानकारी दिए ।
लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रतिवेदन पेश गर्दै संयोजक मुकुन्द अधिकारीले संस्थाको बहुउद्देश्यीय प्रकृति भएकोले सहकारी ऐनले व्यवस्था गरे अनुरुपका परियोजना सञ्चालन गर्नुपर्ने सुझाव प्रस्तुत गरे ।
संस्थाले नियमित, साधारण, अवधिक, बालबचत, सिल्भर र गोल्ड बचत जस्ता बचत योजना सञ्चालन गरेको छ भने सदस्यहरुलाई पर्न सक्ने दुर्घटना वा दीर्घरोगको उपचारमा आर्थिक टेवा दिने उद्देश्यले स्वास्थ्य हितकोषको कार्यक्रम लागु गरेको छ ।