
चन्द्रमणि गाैतम
वि.स.१९९३ जेठ २० गते, राणा शासनविरुद्ध क्रान्ति गर्न काठमाडौंको ओमबहालस्थित शहिद धर्मभक्त माथेमाको घरमा नेपाल प्रजा परिषद्को स्थापना भएको दिवस हो र यसका मूख्य संस्थापक हुनुहुन्थ्यो पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्य (बि.सं. १९६९–२०४९), शहिद धर्मभक्त लगायत अन्य इतिहास-पुरुषहरू ।
१९९७ सालमा राणा विरोधी संगठन गरी पर्चा छरेपछि पक्राउ परेकामध्ये सबैजसोलाई कठोरतम सजाय भयो। टंकप्रसादजी र रामहरि शर्मा ब्राम्हण भएकोले फाँसी दिँदा ब्रम्हहत्याको पाप लाग्छ भनेर राणा शासनले उहाँहरू दुईजनालाई जात लिएर ज्यान छुट दिने निर्णयका साथ जनै चुँडालेर, चारपाटा मुढी काखीमा सुँगुरको पाठाे झुन्डयाईदिएर पोडेलाई धपाउन लगाई थानकोट कटाउने सजाय गर्यो ।
२०१२ माघ १३ गते ७ सदस्यीय र त्यसको १० दिनपछि थप ११ जना गरी १८ जनाको मन्त्रिमण्डलसहित टंकप्रसादजी २०१३ साउन १० गतेसम्म ६ महिना प्रधानमन्त्री बन्नुभयो ।
उहाँकै पालामा आधुनिक निजामति सेवा ऐन बन्यो । २०१३ वैशाख १४ मा नेपाल राष्ट्र बैंकको स्थापना भयो। सोही वर्ष पहिलो पञ्चवर्षीय योजनाको प्रारम्भ, त्रिभुवन विश्वविद्यालयको स्थापना भए । वर्ष ०१३ असोज ६ गते टंकप्रसादजीले गरेको चीनको औपचारिक भ्रमण, सो अवसरमा चीनले नेपाललाई दिएको भा.रू. ६ करोड आर्थिक सहयोग, दुवै देशका राजधानीमा एक अर्काका आवासीय राजदूतावास स्थापना गर्ने सहमति आदि महत्वपूर्ण उपलब्धी हासिल भए ।
राजा महेन्द्र चीनसँग छुट्टै सन्धि-सम्झौता गर्दा तिब्बतले नेपाललाई दिँदै आएको वार्षिक १० हजार काला मोहर रोकिनेमा बढी संवेदनशील भए पनि टंकप्रसादले राजाको कोपभाजनको जोखिम मोलेरै पञ्चशीलको सिद्धान्तको आधारमा छुट्टै सन्धिका लागि कूटनीतिक वातावरण तयार पार्नुभयो। सन् १९५६ सेप्टेम्बर २० मा नेपाल-चीन मैत्री सम्बन्धमा हस्ताक्षर भयो। त्यही वर्ष पेकिङमा चीन भ्रमण गर्ने प्रथम नेपाली प्रधानमन्त्रीका रूपमा टंकप्रसाद आचार्यको स्वागत भयो।
मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारले कम्युनिस्ट पार्टीउपर लगाएको प्रतिबन्ध टंकप्रसादजीको पाला (२०१३ बैशाख ३) मा हटाईयो ।
२०१५ सालको पहिलो आमनिर्वाचनमा टंकप्रजादजी पनि पराजित हुनुभयो । विभाजित प्रजापरिषद (घन–कोदालो) २ स्थान र प्रजापरिषद (हलो) एक स्थानमा निर्वाचित भए । रौतहटमा प्रजापरिषदबाटै निर्वाचित शेख ईद्रिस निर्वाचनलगत्तै नेपाली काँग्रेसमा प्रवेश गर्नुभयो ।
प्रजापरिषदका संस्थापक नेता, नेपाली (राष्ट्रिय) कांग्रेसका पहिलो मानार्थ अध्यक्ष (वि.सं. २००३) ‘जिउँदा शहीद’, पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यले भारतीय नेता जयप्रकाश नारायणलाई चिठी लेख्नुभएको रहेछ। सो पत्रमा उहाँले उपरोक्त विचार व्यक्त गर्नुभएको थियो ।
साभार : चन्द्रमणि गाैतमजीकाे मुहारपुस्तिका