मंगलबार, कार्तिक ११ गते २०८३

नेपालको गण्डकीको शिला भारतमा राजनैतिक र धार्मिक लिला

माघ २५, २०७९ बुधबार
नेपालको गण्डकीको शिला भारतमा राजनैतिक र धार्मिक लिला

Gandakishila.jpg
 लोकनारायण सुबेदी
अहिले भारतमा मोदी सरकारले राम र सीताको मूर्ति स्थापना गर्ने धर्मको राजनीतिलाई तीब्र पारेको छ । त्यसका लागि नेपालको काली गण्डकीबाट निकै ठूलो तामझामकासाथ दुइटा ठूल्ठूला शिला भारत लगिसकिएको छ । तर भारतमा भने त्यो शिलाको बिषयमा ठूलो बिबाद खडा भएको छ । त्यो शिला शालिग्राम हो भने त्यसलाई छिनो र हतौडीले तरासिनु हुँदैन ।अरु नै महत्वपूर्ण शिला हो भने त्यसलाई शालिग्राम हो भन्ने किन झूटो हो–हल्ला र तामझाम गरियो भन्ने ठूलो प्रश्न र बिबादको बिषय भारतमा बनेको छ ।
 हुन पनि यदि आस्था र श्रद्धाबिना केवल सत्ता प्राप्तिको उदेश्य तथा भोट बटुल्नका लागि धर्मको बिषयमा राजनीति प्रवेश गराइयो भने त्यो कत्तिको घातक हुन्छ  भन्ने कुराको उदाहरण भारतमा अहिले निकै चर्कोरुपमा देखिदैछ । यस्ता गतिबिधिहरुबाट बितेका केही बर्षदेखि भारतको सन्त तथा भक्त समाज निकै ब्यथित हुने गर्दै आएको कुरा पनि प्रकाशमा आएको छ । तर सत्ताको अहंकारमा सत्ताधीशहरुले कसैको भावना र आस्थाको पर्वाहा गर्ने गर्दैनन् । चाहे त्यो कुरा कुनै पनि धर्मको झण्डा उचालेर गरिएको किन नहोस् । भारतको अहिलेको पछिल्लो ताजा बिबाद अयोध्याको राम मन्दिरमा  राम र सीताको मूर्ति निर्माण र स्थापनाका लागि नेपालबाट लगिएको काली गण्डकीको बिशाल शिलालाई लिएर चर्किएको हो ।
 भनिन्छ बैदिक शास्त्रहरुलाई मान्ने नगरेको राष्ट्रिय स्वयं सेवक संघ तथा भारतीय जनता पार्टीको नेतृत्व हिन्दू भावनालाई नगदीकरण गर्नका लागि आफ्नो मनोधर्मबाट बेला बेलामा नयाँ नयाँ नौटंकी गर्दै रहन्छ । जुन शिला नेपालबाट यत्रोठूलो तामझाम, ढोल–पिटान तथा धूमधामको सञ्चार–प्रचारबाजीसँग अयोध्या लगियो ती शिलाहरुलाई शालिग्राम भनेर बाटोभरी तिनको पूर्जा अर्चना गराइयो । तर अयोध्या पुगेपछि अयोध्याको सन्त समाज त्यसका बिरुद्ध खडा हुनपुग्यो । त्यो समाजका सन्तहरु किन आहत र आक्रोशित भएको बताइन्छ भने पुरानो शास्त्रका अनुसार शालिग्रामको शिला साक्षात बिष्णुजीको स्वरुप मानिन्छ । यो कुरा देबी भागवत पुराण, शिबपुराण तथा ब्रह्म बैबर्त आदि पुराणहरुमा उल्लेख रहेको र शालिग्राम शिलाको बिधिबत सेवा तथा पूजाको बिवरण तिनमा रहेको बताइन्छ ।यसकारण यो शालिग्राम शिलामा कहिल्यै पनि छिनु र हतौडी चलाउन नसकिने मान्यता छ । यसो गर्नु घोर अपराध मानिन्छ । यसर्थ अयोध्याका सन्तहरुले घोषणा गरिदिएका छन् कि उनीहरुले यसमा कुनै छिनु हतौडी चल्न दिने छैनन् ।
 यसमा अर्को के पनि बिबाद खडा भएको छ भने ती शिलाहरु शालिग्रामका शिला नै होइनन् ।किनभने शालिग्राम शिलाहरुको आकार प्रायः एकदमै सानो हुन्छ । जसलाई सजिलै हातमा लिन सकिन्छ  । हुन त ठूल्ठूला शालिग्राम पनि हुने गर्दछन् ती सबै भगवान बिष्णुसँग सम्बन्धित अनेक चिन्ह अंकित हुन्छन् भन्ने मानिन्छ । त्यस्ता चिन्हहरुमा शंक, चक्र, गदा, पद्म आदि रहने गरेको पाइन्छ भनिन्छ । यसका अतिरिक्त ती शिलाहरुको रुप, रंग र आकार प्रकारका अनुरुप तिनको नाम पनि बिभिन्न रहने गरेको औंल्याइन्छ । जस्तै कि दशाबतारको नाममा आधारित दश किसिमका शालिग्राम शिलाहरु नेपालको काली गण्डकी तलमा पाइने गरेको उल्लेख छ । यसका अतिरिक्त यस्ता शिलाहरुको अन्य नामहरु  हुन्छन्, जो यस प्रकार छन् ः केशव, हैह्यग्रीब, हिरण्यगर्भ, चतुर्भुज, गदाधर, नारायण, लक्ष्मीनारायण, रुपनारायण, माधव, गोबिन्द, बिष्णु, मधुसुदन, त्रिबिक्रम,श्रीधर, पद्मनाभ, दामोदर, सुदर्शन तथा बासुदेब आदि इत्यादि ।
 अहिले जुन बिशाल शिलाहरुलाई शालिग्राम भनेर नेपालबाट अयोध्या पुर्याइएको छ ती शास्त्रका अनुसार कुन श्रेणीमा पर्दछन् त्यो कुरा बताउने दायित्व पनि राम मन्दिर निर्माण समितिका सदस्यहरुको हो । यदि ती शीलाहरु शलिग्राम होइनन् र केववल नेपालको गण्डकी नदी किनारामा उपलब्ध पत्थर मात्र हुन् भने तिनलाई शालिग्राम भनेर हिन्दूहरुलाई किन मूर्ख बनाइदैछ ? यदि ती शालिग्राम हुन् भने त तिनलाई तराशेर मूर्ति बनाउनु नै घोर पाप हुन जाने कुरा उठेको छ ।
 भारतमा गोबर्धन पर्बतको फेदमा पौराणिक संकर्षण कुण्डमा संकर्षण भगवानको ३४ फुट उच्चाइको कालो ग्रेनाइटको बिशाल मूर्ति निर्माणको निर्णय २०१६ मा जतिबेला द ब्रज फाउण्डेशन लिएकाे थियाे  त्यतिबेला  त्यसका बरिष्ठ आधिकारी आन्ध्रप्रदेशमा स्थित तरुपति देबस्थानमा गएका थिए । त्यहाँ शास्त्रानुसार प्रशिक्षित २२ योग्य शिल्पी–शास्त्रीहरुको नेतृत्वमा तिरुमाली पहाडहरुमा बिष्णुतत्वाको ५० टनको एउटा बिशाल शिला खोजी गरेर ठूल्ठूला क्रेनको मद्दतले त्यसलाई पहाडबाट तल झारिएको थियो । अनि त्यहाँ तिरुपतिमा ती शिलालाई योग्य  शिल्पी शास्त्रीहरुले संकर्षण भगवान अर्थात बलारम जीको दीब्य मूर्ति एक बर्षसम्म लगाएर निर्माण गरे । त्यसपछि ती मूर्तिहरुलाई ट्रेलरमा राखेर तिरुपतिबाट गोबर्धन (मथुरा)मा ल्याइयो । यो कथा यस कारणले उल्लेख गरिएको हो कि तिरुमाला पहाडमा लक्ष्मी तत्व र बिष्णु तत्वका बिशाल शिलाहरु पाइने गर्दछन् । तिनैलाई तरासेर लक्ष्मी–नारायण, सीता–राम  या राधा–कृष्णहरुका मूर्तिहरुको निर्माण गरिने गरेको पाइन्छ । शायद भारतका राम जन्मूभूमि तीर्थ क्षेत्रका ट्रस्ट सदस्यहरुलाई यो तथ्य कुराको जानकारी थिएन कि ! शायद हुँदो हो त नाहकमा यो अहिलेको नेपालबाट शालिग्राम भनेर लगिएको शिलाको यत्रो बिबाद नहुँदो हो । भारतकै तिरुपतिबाट अर्को बिवादरहीत शिला पनि आउन सक्थ्यो होला ।
 अर्को भारतकै बृन्दाबनको ५०० बर्ष पुरानो मानिने सुप्रसिद्ध राधारमण मन्दिरमा राधा–रमणको जुन सानो सुन्दर मूर्ति छ त्यो श्री चैतन्य महाप्रभुका शिष्य गोपाल भट्ट गोस्वामीबाट अर्चित शिलाबाट स्वप्रकट मूर्ति मानिन्छ । त्यसलाई कुनै छिनु र हतौडीले ठोकपिट गरेको थिएन भनिन्छ । मन्दिरका सेवारत गोस्वामीगण बताउँदछन् कि शालिग्रामजीको शिलामा यदि छिनु हतौडी चलायो भने त्यो तत्काले फुटेर यत्रतत्र छरिन्छ  । यदि यो कुरा सही हो भने नेपालबाट लगिएको बिशाल शालिग्राम शिला पनि फुटेर छरिनु पर्ने हो । तर त्यसो भएन भने यो दाबी गलत सिद्ध हुनजाने छ कि नेपालबाट लगिएको शिला ‘शालिग्राम शिला’ हो ।
 वास्तबमा भारतको यो राम मन्दिर निर्माणको पूरा यात्रा नै भारतीय जनता पार्टीको सत्ता लोलुपतासँग गाँसिएको धार्मिक गुत्थी जस्तो प्रतीत हुन्छ । बितेको तीन दशकमा भारतीय जनता पार्टी र संघ परिवाले यस्ता नयाँ नयाँ धार्मिक कुरा उरालेर हिन्दू भावना भड्काउने र भोट भजाउने काम गर्दै आएको छ । चाहे त्यो शिला पूजा अर्चनाको कुरा होस्, चाहे मन्दिरका लागि चन्दा उठाउने कुरा होस् जबकि अर्काेतिर भारतकै तेलांगनाका मूख्य मन्त्री के. चन्द्रशेखर रावले मात्र चार बर्षमा कुनै चन्दा नउठाइकन शास्त्रको बिधि अनुसार यादगिरी गुट्टामा पौराणिक लक्ष्मी–नरसिंह देव गुफामा तिरुपति बालाजी जस्तो बिशाल मन्दिर बनाएका छन् र त्यसका चारैतिर बैदिक नगर बसाएका छन् । ती मूख्य मन्त्री केसीआरको प्रत्येक काम चाहे निजी होस् या सार्बजनिक बडो भब्य स्तरमा शास्त्र पारंगत पुरोहितहरु र आचार्यहरुको निर्देशनमा बैदिक अनुष्ठानहरुबाट प्रारम्भ हुने गर्दछ भनिन्छ  । तर त्यसको कसैले प्रचार प्रसार गर्दैन । उनको के भनाइ रहँदै आएको छ भने भगवानकाप्रति श्रद्धा  र धार्मिक अनुष्ठानहरुमा बिश्वास प्रदर्शनको प्रचार या राजनैतिक लाभ लिने कृत्य हुँदैन । यो त भगबत कृपा प्राप्त गर्ने र आफ्नो आध्यात्मिक चेतना बिकसित गर्ने आस्था हुने गर्दछ । तर संघ र भारतीय जनता पार्टीले धर्मको यस्तो राजनीतिकरण गरेका छन् कि न त उनीहरुलाई प्राण प्रतिष्ठित देब मूर्तिहरुमाथि अयोध्या र काशीमा बुल्डोजर चलाउनमा कुनै संकोच हुन्छ न  त गोबर्धन (मथुरा)मा संकर्षण भगबानको प्राण प्रतिष्ठा गरेर मूर्तिलाई पाँच बर्षदेखि मलमुत्रले घेरिएको जलाशयमा उपेक्षित गरेर खडा राख्नमा नै कुनै संकोच हुन्छ । तर पनि दाबी उनीहरु के गर्दछन् भने ‘गर्बकासाथ भनौ हामी हिन्दू हौं’ । कालीगण्डकीबाट भारत लगिएको बिशालकाय शिलाले उत्पन्न गरेको बिबादको अन्तरनिहीत कथा यस्तै छ ।