सोमबार, कार्तिक १० गते २०८३

‘सदस्यकाे मन जितेकाले मन्दीका बेलामा समेत संस्थाकाे प्रगति उत्साहजनक छ’

चैत्र १५, २०७९ बुधबार
‘सदस्यकाे मन जितेकाले मन्दीका बेलामा समेत संस्थाकाे प्रगति उत्साहजनक छ’

मुलुकमा देखिएको वित्तीय संकट र तरलता अभावको अवस्थाका वावजुद पनि चतरा बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुको मन जितेर पर्याप्त तरलता व्यवस्थापन गर्न सकेको छ । संस्थामा २० प्रतिशतभन्दा माथि तरलता रहेको संस्थाका व्यवस्थापक बाबुराम खत्रीले जानकारी दिए । बजारमा वित्तीय संकटको चाप रहेपनि संस्थालाई त्यसले कुनै असर नगरेको उनले बताए । संस्थाप्रति सदस्यहरुको विश्वास राम्रो रहेको छ । संस्थामा हाल ५ हजारमाथि शेयरसदस्य, ९ करोडको शेयरपुँजी, ५० करोड बचत संकलन र ६७ करोडमाथि ऋण लगानी गरेको छ । संस्थाले तरलता व्यवस्थापनका लागि १० करोड रुपैया राखेको छ । संस्थाले सदस्यहरुलाई अधिकतम १० लाखसम्मको ऋण समेत लगानी गर्दै आएको छ । व्यवसाय र आयमुलक क्षेत्रमा लगानी बढिरहेको र घरजग्गा खरिदका लागि सदस्यबाट नै ऋण माग कम भएको उनले बताए । संस्थाबाट ३० प्रतिशत व्यवसायिक क्षेत्रमा, ३० प्रतिशत उत्पादनमूलक क्षेत्रमा र ४० उपभोग तथा घरजग्गा खरिदका लागि लगानी हुँदै आएको छ ।  चतरा सामुदायिकलाइ यस भेगकै अब्बल संस्थाको रुपमा स्थापित गराएका छाैं । 

संस्थाले आफैंले डेरी फर्म सञ्चालनमा ल्याएको छ । सदस्यबाट उत्पादन गरेको दुध पनि संस्थाले लिने गरेको छ । दैनिक २ हजार लिटर दुध सदस्यहरुबाट संकलन हुने गरेको छ । संस्थाले सञ्चालन गरेको फर्मबाट भने ८५० लिटर उत्पादन हुँदै आएको छ । संस्थाको फर्ममा बाच्छाबाच्छी र माउ गरेर १७५ वटा गाई रहेका छन् । ७० वटा गाई दुहुना छन् भने ४० वटा ब्याउने अवस्थामा रहेका छन । बाँकी बाछी र कोरली रहेको व्यवस्थापक खत्रीले जानकारी दिए । संस्थाले कृषि फर्मका लागि ३ करोड लगानी गरेको छ भने त्यसका लागि १० बिगाहा जमीन समेत खरिद गरेको छ । संस्थाले आफ्नै पुँजीबाट कृषि फर्म सञ्चालन गरिरहेको उनले जनाए । संस्थाले सहकारी बैंकबाट ऋण लिएको तर त्यो भने परियोजनामा लगानी नगरी सदस्यहरुमाझ नै गरेको छ । नजिक जंगल क्षेत्र भएकाले बेसार खेती शुरु गर्ने योजना बनाएको भएपनि त्यसलाई हाल स्थगित राखेर डेरी फर्मलाई नै थप अगाडि लैजाने योजनाका साथ अघि बढेको उनले बताए ।

संस्थाले यस वर्ष १ हजार जनालाई सहकारी शिक्षा दिने कार्यक्रम बनाएको छ । जसमध्ये ४ सय जनालाई शिक्षा तालिम दिइसकेको छ भने यस वर्ष बाँकी ७ सय जनालाई सहकारी साक्षरता तालिम दिँदै जाने संस्थाले जनाएको छ । १५० जना सदस्यलाई सहकारी तथा कृषि तालिम र २५० जनालाई सहकारी अवलोकन भ्रमणमा लैजाने कार्यक्रम संस्थाको रहेको छ । यी सबै कार्यक्रममार्फत् १३५० सदस्यलाई सहकारी शिक्षा, तालिम तथा भ्रमणमा जोड्ने योजना रहेको उनले सुनाए । 
समुदायमा आधारित संस्था भएको र सदस्य नै संस्थाको मालिक भएकाले कुनै समस्या नपरेको उनको भनाई छ । ‘कतिपय संस्थामा आन्तरिक समस्या छ, त्यहाँ सञ्चालकहरुले मनोमानी ढंगले संस्था चलाएको हुनुपर्छ,’ उनले भने, ‘संस्थागत सुशासन र सिस्टममा चलेका संस्थामा कुनै समस्या छैन ।’

संस्था २५ वर्ष पुरानो भइसकेकोले सदस्यहरुले बैंकलाई भन्दा बढी विश्वास गर्ने गरेको उनले बताए । ‘बैंकमाभन्दा सदस्यको कारोबार सहकारीमा बढी छ । हामी चौबीसै घण्टा सेवा दिइराखेका हुन्छौं । सेवालाई अझ व्यवस्थित बनाउन लागिपरेका छौं ।’
संस्थाले दीर्घकालिन बचत अर्थात अनिवार्य बचतलाई अघि बढाएको छ । सदस्यले क्षमता अनुसार मासिक २ सय देखि १ हजार रुपैयासम्म नियमित बचत गर्ने गरेका छन् । संस्थामा त्यस्तो बचत नै १५ करोडको हाराहारीमा पुगेको छ । ऐच्छिक बचतमा सदस्यको ४ करोड जति रहेको छ । ३ वर्षसम्मका लागि स–साना आवधिक बचतहरु लिने गरिएको छ । संस्थामा सीमित सदस्यको मात्रै ठूलो बचत रहेको छैन । धेरै सदस्य भएकाले थोरैथोरै बचत भएपनि त्यसको भोल्युम वृद्धि हुँदै गएको छ । कुल बचतमा नियमति बचतको हिस्सा ३०–३५ प्रतिशत हुन आउँछ । त्यही मात्रमा दीर्घकालिन बचत पनि रहेको छ । यो सबै जोड्दा संस्थामा ५० प्रतिशतभन्दा बढी दीर्घकालिन बचत रहेको छ । सानो बचत लामो समयको लागि संस्थाले लिने गरेको उनको भनाई छ ।

संस्थाले सदस्यहरुलाई मात्र ऋण लगानी गर्ने गरेको छ । सदस्यहरुले बचत फिर्ता माग्न आउँदा ऋणमा मिलान गर्न सक्ने व्यवस्था रहेको छ । संस्थाले लघुवित्त समुह बनाएर काम गर्दै आएको छ । ५ देखि ९ जना सम्मका ६०० लघुवित्त समुह गठन भएको छ भने १२३ केन्द्र रहेका छन् । ४ हजार सदस्य ती समुह र केन्द्रमा आवद्ध छन् । संस्थाले सहकारीको मोडलमा लघुवित्त कार्यक्रम सञ्चालन गरेको र त्यसले सदस्यहरुको आयआर्जनमा टेवा पु¥याएको उनले बताए ।

संस्थाले एकडेढ वर्ष अघिसम्म ९ प्रतिशतमा कृषि ऋण र १२–१३ प्रतिशतसम्ममा अन्य ऋण लगानी गर्दै आएको थियो । अहिले ब्याजदर बढेकाले १३ देखि १६ प्रतिशतसम्ममा ऋण लगानी गर्ने गरेको व्यवस्थापक खत्रीको भनाई छ । संस्थाका कुल सदस्यमध्ये ९५ प्रतिशत महिलाको सहभागिता रहेको उनले जनाए । संस्थाले कार्यक्षेत्र विस्तार गरी नयाँ नयाँ ठाउँमा सेवाकेन्द्र विस्तार गर्ने योजना बनाएको छ । प्रकाशपुर क्षेत्रमा ३०० नयाँ सदस्य बनेका छन्, त्यहाँ छिट्टै सेवा केन्द्र खोल्ने संस्थाको तयारी छ ।
संस्थाको अबको योजना सदस्यहरुलाई बढिभन्दाबढि उत्पादनमूलक क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने रहेको छ । उत्पादन वृद्धि गरी बजारीकरण र प्रशोधन कसरी गर्न सकिन्छ भनेर रणनीति बनाउन संस्था लागेको छ । बचतऋण भन्दा पनि उत्पादन र बजारीकरण गर्ने नै संस्थाको उद्देश्य रहेको छ । सदस्यले जति दुध उत्पादन गरेपनि संस्थाले लिने गरेको छ । सदस्यलाई दूधमा सरकारले दिने भन्दा ५ रुपैया बढि दिने गरेको उनले बताए । ‘अन्य उत्पादनमा कसरी जान सकिन्छ भनेर अध्ययन अगाडि बढाएका छौं,’ उनले भने, तीनचार सय सदस्यले कृषिमा लगानी गरेका छन् । बराह क्षेत्र व्यवसायिक एरिया भएकाले संस्थाबाट ऋण लिएर धेरै सदस्यले व्यापारव्यवसाय गर्दै आएका छन् । गाउँमा बस्नेले पशुपालन, कुखुरापालन, बाख्रा, बंगुर र भैसीपालन गर्ने गरेका छन् । आफुले खाने आफैं उत्पादन गर्छन् र बाँकी रहेको बजारमा लगेर विक्री गर्छन् ।’ उनले भने ‘बजारमा आर्थिक मन्दी भएको उनीहरुलाई खासै अनुभव नै छैन ।’ ‘पैसा कम भयो भने लत्ताकपडा ३ महिनाको साटो ६ महिनामा फेर्न सक्छन्,’ उनले थपे, ‘सदस्यबाट बचत आउने क्रममा कुनै अवरोध देखा परेको छैन । आर्थिक मन्दीको कुनै असर संस्थामा छैन ।’ 

 

(सुनसरीकाे बराहक्षेत्र नगरपालिकामा रहेकाे चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीका व्यवस्थापक खत्रीसँगकाे संक्षिप्त कुराकानीमा आधारित)