मंगलबार, कार्तिक ११ गते २०८३

जनमुखी साकोसको आयोजनामा बागमती क्लस्टर दोस्रो व्याचको सिकाई व्यवस्थापन कार्यशाला

भाद्र ११, २०८० सोमबार
जनमुखी साकोसको आयोजनामा बागमती क्लस्टर दोस्रो व्याचको सिकाई व्यवस्थापन कार्यशाला

 

एक्सेस ब्राण्डिङ कार्यक्रममा सहभागी रहेका बागमती क्लस्टर दोस्रो व्याचको ३४ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला आइतबार सम्पन्न भएको छ । 

दोलखाको जनमुखी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको कार्यशाला उद्घाटन सत्रमा संस्थाका अध्यक्ष माधवप्रसाद दाहालको अध्यक्षता र बागमती प्रदेश सभा सदस्य माननीय भरतबहादुर के.सीको प्रमुख आतिथ्यता रहेको थियो भने दोलखा जिल्ला सहकारी संघ लि। का महासचिव कृष्ण प्रसाद दाहाल लगायतको आतिथ्यता रहेको थियो । 

कार्यशालामा दोलखा, काभ्रे, भक्तपुर, धादिङ र नवलपुर जिल्लाका १० वटा संस्थाको सहभागिता रहेको थियो । 

कार्यशालामा मन्तव्य राख्दैन प्रमुख अतिथि केसीले सहकारी संस्थालाई सहकारीको मूल्य, मान्यता र सिद्धान्तमा आधारित भएर कारोबार सञ्चालन गर्नुपर्ने उल्लेख गरे । सदस्य नै सहकारी संस्थको आधार हुने हुँदा उनीहरुको विश्वास आर्जन गर्ने गरी सहकारीले काम गर्नुपर्नेमा उनको जोड थियो । 

दोलखा सहकारी संघका महासचिव कृष्ण प्रसाद दाहालले सहकारीको छैठौं सिद्धान्तले सहकारी संस्थाहरुबीच पारस्परिक सहयोगलाई जोड दिएको बताउँदै उक्त कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशालाले संस्थाहरुमा सिकाई आदानप्रदान तथा गुणस्तर अभिवृद्धिमा सहयोग गर्ने अपेक्षा राखे । 

Janamukhi saccos 2.jpg

कार्यक्रममा सहभागी बुडोल सामुदायिक साकोस, काभ्रेपलाञ्चोक, हाम्रो जनकल्याण साकोस, दोलखा, जनकल्याण साकोस, धादिङ, किसान साकोस, नवलपुर, मनकामना साकोस, काभ्रेपलाञ्चोक, मिलिजुली कालिन्चोक साकोस, दोलखा, नवजागरण साकोस, रामेछाप, सामुहिक साकोस, भक्तपुर, शुभकामना साकोस, भक्तपुर तथा जनमुखी साकोस, दोलखाका कार्यकारी प्रमुखहरुले २०८० वैशाख देखि श्रावण सम्मको प्रगति विवरणहरु प्रस्तुत गरेका थिए । 

नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेले नेफ्स्कूनको स्वनियमन मार्गनिर्देशन तथा साकोसको छवि अभिवृद्धिको बारेमा प्रकाश पार्नुका साथै कार्यशालाको सहजिकरण गरेका थिए । उक्त ३४ औं कार्याशालाले सहकारी संस्थाका नीति तथा आन्तरिक कार्यविधिहरु पुनरावलोकन गर्ने, ऋण नीति अद्यावधिक गर्दा ऋण विश्लेषण विधिमा जलवायुमा पहल स्वरुप छैठौं सूचक समावेश गर्ने र साकोसहरुको छवि निर्माणको लागि सदस्यहरुसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने निर्णय समेत गरेको छ । उक्त समुहको आगामी कार्यशाला नवजागरण साकोस, रामेछापको आयोजनामा आगामी मंसिर २४ गते हुने निर्णय भएको छ ।