मंगलबार, कार्तिक ११ गते २०८३

‘वित्तीय प्रणाली बाँच्ने आधार भनेकै विश्वास हो, सदस्यको विश्वास टुटेकाले सहकारी संस्थाहरु समस्यामा परे’

भाद्र २८, २०८० बिहीबार
‘वित्तीय प्रणाली बाँच्ने आधार भनेकै विश्वास हो, सदस्यको विश्वास टुटेकाले सहकारी संस्थाहरु समस्यामा परे’

विश्वमा आएको आर्थिक मन्दीको प्रभाव नेपालको अर्थतन्त्रमा पर्दा त्यसको असर सहकारी क्षेत्रमा पनि परेको छ । कतिपय सहकारीले सदस्यको बचत फिर्ता गर्न नसकिराखेको अवस्था छ । पछिल्लो समय ललितपुरका सहकारी संस्था कुन अवस्था छन् ? 

कोभिड १९ र रुस, युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा नै मन्दी आयो र मुलुकको अर्थतन्त्रको समग्र सूचकांकमा पनि यसले असर पुर्‍यायो । ललितपुरमा रहेका ठूला सहकारी संस्थामा पनि अर्थतन्त्रमा आएको मन्दीले असर पुगेको छ । साना र समुदायमा काम गरेका संस्थाहरुमा भने त्यति धेरै अप्ठ्याराहरु देखिएको छैन । समस्यामा परेका ९० प्रतिशत संस्थामा सदस्य र पुँजी ठूलो पाइयो भने १० प्रतिशत संस्था मात्रै सानो र सदस्यकेन्द्रीत देखियो । ठूला संस्थामा समस्या आएपछि त्यसको प्रभाव सानो संस्थाहरुमा पनि पर्ने नै भयो ।

अहिलेको मुख्य विषय भनेकै बचतकर्ताहरुको बचतको सुरक्षा हो । त्यसका साथै संस्थाले गरेको ऋण लगानी पनि उठ्न सकिराखेको छैन । सदस्यहरुले सहकारीको ऋणलाई त ऋण नै सम्झँदैनन् । ऋण भनेको बैंक फाइनान्सको मात्र हो । सहकारीको ऋण त ऋण नै होइन भन्ने बुझाई छ । यसले गर्दा संस्थाहरुले लगानी गरेको ऋणको साँवाब्याज उठिराखेको छैन । त्यसको सुनिश्चितता पनि हुनुपर्छ भन्ने हाम्रो माग हो । अहिलेको अवस्थामा सहकारी अभियानभित्र समस्या जटिल छ । ठूला संस्थाहरुमा समस्या बढी छ ।

संघमा कति संस्था आवद्ध छन् ? तीमध्ये कतिजति संस्था वित्तीय संकटबाट गुज्रिएका छन् ?

ललितपुरमा करिब १३०० संस्था रहेका छन् । त्यसमध्ये ७९४ संस्था संघमा आवद्ध छन् । कति संस्था समस्यामा परे भनेर यकिन तथ्याङ्क हामीसँग छैन । हामीले समस्यालाई दुई किसिमले हेरेका छौं । एउटा सदस्यको बचत फिर्ता गर्न नसकेर कार्यालय नै बन्द गरेको अवस्था हो भने अर्को संस्था दैनिक रुपमा सञ्चालनमा छ तर सदस्यले मागेजति वा भनेजति पैसा फिर्ता गर्न सकेको छैन । एकाध संस्थाले भने कार्यालय बन्द गरेर आफ्नो कारोबार रोकेका छन् । तीबाहेक ललितपुरमा अहिले सबै संस्थाले कार्यालय खोलिराखेका छन् ।

जिल्ला संघ जिल्लाभरका सहकारी संस्थाको अभिभावक संघ हो । कुनै संस्थामा समस्या पर्‍यो भने त्यो संस्थाको सदस्य र सञ्चालकबीच समन्वयकारी भूमिका खेल्ने काम हामीले गर्दै आएका छौं । दुईचारवटा संस्थामा म आफैं पनि गएर समस्या समाधानको पहल गरेको छु । केहि संस्थामा सदस्यहरुले बचत लिन आउँदा हामीलाई पनि बोलाउनुहुन्छ र त्यहाँ गएर सहजीकरण गर्ने काम हामीले गर्दै आएका छौं । समस्यामा परेका धेरै संस्थाका सदस्य र सञ्चालकबीच सहजिकरण गरी सहज वातावरण बनाउने काम हामीले गर्दै आएका छौं । कतिपय संस्थाका सञ्चालकहरुलाई फोन गरेर अवस्था के छ भनेर बुझिरहेका छौं । सञ्चालक र कर्मचारीको आत्मविश्वास बढाउने काममा संघले सक्रिय भूमिका खेल्दै आएको छ । 

सहकारी संस्थाले सदस्यको बचत फिर्ता गर्न नसक्दा सहकारीप्रति सदस्यको विश्वास गुम्दै गएको छ । सहकारीको गुमेको साखलाई माथि उकास्न कसरी सकिएला ?

वित्तीय कारोबार गर्ने संस्थाहरु विश्वासको भरमा चल्ने हो । पैसा राख्नेले पनि विश्वासको आधारमा राखेको हुन्छ भने संस्थाहरुले पनि विश्वासकै भरमा बजारमा ऋण लगानी गरेका हुन्छन् । अहिले मूल समस्या भनेको सदस्य र संस्थाहरुबीच विश्वासको समस्या हो । वित्तीय प्रणाली बाँच्ने आधार नै विश्वासले हो । त्यो नै नभएपछि सहकारी संस्थाहरु समस्यामा त पर्ने नै भए नि । अहिलेसम्म सहकारीलाई बचत गर्ने र ऋण दिने संस्थाको अवधारणामा मात्र अगाडि बढाइएको छ । यसमा नै अब परिवर्तन गर्नुपर्छ । सहकारीको मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै सहकारी सेवा र उत्पादनमा जानुपर्छ । उत्पादन र सेवाको क्षेत्रमा सहकारीले आफ्नो वर्चश्व कायम राख्नुपर्छ । यो कुरा अहिलेको वित्तीय संकटले सिकाएको छ । 
२०७२ सालको भुकम्प आउनुपूर्व घर बनाउँदा साना डण्डी प्रयोग गर्दा पनि हुन्छ भन्ने मान्यता हाम्रो थियो । भूकम्पपछि मोटो डण्डी, पर्याप्त सिमेन्ट र गुणस्तरीय सामानको प्रयोग गर्नुपर्ने रहेछ भन्ने पाठ सिकाएको छ । अहिलेको परिस्थितिले सहकारीकर्मीहरुलाई पनि नयाँ पाठ सिकाएको छ । हिजो जस्तै गरी संस्था सञ्चालन गर्नु हुँदैन रहेछ । संस्था सञ्चालन गर्दा विशेष ध्यान दिनुपर्ने रहेछ, राम्रो वित्तीय ज्ञान हासिल गर्नुपर्ने रहेछ भन्ने सोच आम सहकारीकर्मीमा हालिदिएको छ । यो सोचले सहकारी सञ्चालनको तरिका परिवर्तन गर्न सहयोग मिल्छ । हिजो कतिपयले जानेर त कतिपयले अन्जानमा गल्ती गरेका थिए । ती सबै कुरालाई सुधार गर्न अहिलेको मन्दीले हामीलाई ठूलो पाठ सिकाएको छ ।

ठूलो कारोबार र धेरैवटा सेवा केन्द्र भएका सहकारी संस्थाले सदस्यबाट बचत लिएर अनुत्पादक क्षेत्रमा लगानी गर्दा अहिलेको समस्या आएको हो भनिन्छ नि ?

नेपालको सहकारी अभियानमा वित्तीय कारोबारलाई मात्र स्थापित गर्न खोजियो । अब यसलाई परिवर्तन गर्नुपर्छ । उत्पादन र सेवाको क्षेत्रमा सहकारीले काम गर्नुपर्छ । अहिले ती क्षेत्रमा पनि काम त भइरहेका छन् । वित्तीय कारोबार गर्ने सहकारी संस्थालाई नियमन गर्ने काम राज्यले गर्नुपर्छ । वित्तीय कारोबार गर्ने संस्था धेरै भएकाले ती संस्थालाई राज्यले फोर्सफुल्ली मर्ज गर्नुपर्छ । साना र धेरै भन्दा पनि अब बलिया संस्था बनाउनुपर्छ । ती संस्थाहरुको अनुगमन गर्न राष्ट्र बैंक जस्तै कुनै प्रभावकारी निकाय गठन गर्नुपर्छ । अहिले बहुउद्देश्यीय र कृषि नाम लेखेका संस्थाले पनि बचतऋणको नै कारोबार गरिरहेका छन् । बहुउद्देश्यीयले बहुउद्देश्यीय मात्र काम गर्नुपर्छ र बचतऋणको कारकोबार गर्न पाईदैन भनेर राज्यले कडाइकासाथ लागु गर्नुपर्छ । अब बचतऋण सहकारी संस्थालाई एकिकरण गरेर बलियो संस्था बनाउनैपर्छ । अन्य प्रकृति र फरक उद्देश्य बोकेका संस्थालाई उत्पादन र सेवामूलक क्षेत्रमा जान प्रोत्साहन गर्नुपर्छ ।

जुन उद्देश्यको र जुन प्रकृतिको भएपनि बचतऋणको काम गर्ने गरेकाले अहिलेको समस्या  आएको हो त ? उत्पादन र सेवामा जान पनि त्यति सजिलो छैन नि ?

सहकारीको सबैभन्दा ठूलो समस्या भनेकै बुझाइमा एकरुपता नहुनु हो । नेफ्स्कुनले बचतऋणको मात्र दृष्टिकोण बनाउँछ । सहकारी बैंकले पनि त्यहि गर्छ । हरेक संघहरुले आआफ्नो डम्फुमात्र बजाइरहेका छन् । सहकारीलाई कसरी सञ्चालन गर्ने भनेर कसैले पनि प्रष्ट रुपमा भन्न सकेको अवस्था छैन । सहकारीले बचतऋणको कारोबार गर्ने त हो, तर एउटै घरमा तीनचार वटा बचत ऋण सहकारी संस्था खोलेर काम छैन । सहकारी ऐनमा महानगरपालिकाभित्र ५ हजार सदस्य बराबर एक सहकारी संस्था भनेको छ । ललितपुर जिल्लामा मात्रै बचतऋणको कारोबार गर्ने झण्डै ५ सय संस्था होलान् । त्यति धेरै संस्था कसरी टिक्न सक्छन् । पाँचछ वटा संस्थालाई एकिकरण गरेर ठूलो र बलियो संस्था नबनाई सुख्खै छैन । 
सरकारले नीतिगत रुपमा एकीकरणको कार्यक्रम ल्याउनुपर्‍यो । संस्थाहरु एकीकरण गर्न सके बैंकभन्दा बलिया बन्छन् । त्यसतर्फ राज्यले कदम चाल्नैपर्छ । सहकारीहरुलाई स्वच्छन्द रुपमा छाडेकाले अहिलेको दुर्घटना निम्तिएको हो । एउटा संस्थाले एउटा नियम त अर्को संस्थाले अर्कै नियम बनाएको छ । ती संस्थाहरुको नियमन तथा अनुगमन छैन । कुन संस्था कस्तो अवस्थामा छ भनेर राज्यसँग यकिन तथ्यांक छैन । त्यसकारण अहिले दुर्घटना भयो । नेपालमा यति सजिलोसँग सहकारी सञ्चालन गर्न दिइयो । जनताले दु:ख गरेर कमाएको पैसा चलाउन दिने एकदमै खुकुलो कानुन बन्यो । एउटा व्यक्तिले १ लाख धन आर्जन गर्न कति दु:ख हुन्छ । तर सहकारीका सञ्चालकले त्यो पैसालाई सहजरुपमा चलाउन पाए । यसकै परिणाम आज धेरै संस्था दुर्घटनामा परे ।

यहि कानुन, यहि जनशक्ति र यहि संरचनाले त सदस्यको बचतको सुरक्षा नहुने देखियो नि ?

सहकारीमा आमूल परिवर्तनको आवश्यकता छ । सहकारीको इमेज बनाउने हो र सहकारीलाई अनन्तसम्म सदस्यमाझ टिकाउने हो भने यो भन्दा विकल्प छैन । आज कुनै पनि सहकारीकर्मीमा कन्फिडेन्ट नै छैन । सहकारी बचाउन राज्य र अभियान दुवै पक्षले कठोरता देखाउनुपर्छ । त्यसपछि मात्र बचतकर्ताको बचतको सुरक्षा हुनसक्छ । र यस्ता दुर्घटनाहरु कम हुन्छ । मेरो सहकारी करिअरमा यति कठिन अवस्था कहिल्यै देखेको थिइँन । 
अर्थतन्त्रमा आएको मन्दीको पहिलो प्रभाव सहकारी क्षेत्रमा पर्‍यो । सहकारीको जग बलियो नभएकै कारण यो परिस्थिति सिर्जना भयो, होइन ? 
पहिलो कुरा सहकारीलाई हामीले बैंक जस्तै गरी चलायौं । वित्तीय कारोबार गर्ने संस्थाहरुले बैंक जस्तै गरी चलाए । बैंक र सहकारीको उद्देश्य, कार्यक्षेत्र र काम गर्ने शैली नै फरक हुन्छ । बैंकले निक्षेप संकलन गर्छ । ग्राहकले बैंकमा ब्याजको लागि निक्षेप जम्मा गर्ने हो । सहकारीमा सदस्यले बचत गर्ने हो । भविष्यको लागि पुँजी निर्माण गर्दै जाने हो । तर सहकारीले पनि बैंकले जस्तै बचतमा १ वर्षको लागि यति प्रतिशत ब्याज दिन्छौं भन्दै हिँड्यौ । सहकारीले पनि मुद्दती निक्षेप खोज्दै हिँडे । त्यसकारण सहकारी दुर्घटनामा परे । सहकारीलाई सहकारी जस्तै गरी सञ्चालन गरेको भए दुर्घटना हुँदैन थियो । 

सहकारीको समस्याप्रति राज्य अनुदार देखियो नि, किन ? 

हिजो देशको नीतिनिर्माण गर्नेदेखि राजनीतिज्ञहरु सबैले सहकारीलाई प्रयोग गरे । चुनावमा भोट र नोट दुवैका लागि सहकारीबाट फाइदा उठाए । कर्मचारीले पनि साधारण सभामा गएर अतिथि भएर मायाको चिनो खाँदा, माला र यातायात खर्च लिए । र सहकारी राम्रै रहेछ भनेर मुल्याङ्कन गरे । सहकारीकर्मीले पनि ब्यालेन्स सिट ठूलो बनाउन होडबाजी गरे । ठूलो ब्यालेन्स सिट, धेरै सदस्य, चिटिक्क कार्यालय र बरिष्ठ नेताहरुलाई साधारणसभाको अतिथि बनाउनेमा नै होडबाजी चल्यो । जब सहकारीमा समस्या आयो कसैले वास्ता गरेनन् । हिजो सहकारीबाट लाभ लिएकाहरु आज सहकारीको सबैभन्दा बढी विरोध गरेर हिँडिरहेका छन् । हिजो सहकारीकै बलले चुनाव जितेकाहरु आज सहकारी भन्न नै डराइरहेका छन् । 

हामीले पनि सहकारीलाई सहकारी जस्तै गरी चलाएनौं । आज त्यसैको परिणाम हो यो । आज हामीले जेजति दु:ख भोगेका छौं, यो हाम्रै कर्मले गर्दा भोगेका हौं । अरुलाई दोष दिएर हुँदैन । हिजो लाभ लिने ले त लिइहाले नि । दु:खको बेला वास्तविक आफन्त चिन्ने हो । राजनीतिक प्रभाव सहकारीमा देखिएको छ । यसलाई लुकाउनुपर्ने कुरा नै छैन । आज संकटको बेला हाम्रो पक्षमा बोल्दिने कोही भएनन् । कतिपय सहकारीकर्मीले अहिलेको दवाव खेप्न नसकेर आत्महत्या गरिराखेका छन् । यो अवस्था सिर्जना हुँदासम्म राज्य कहाँ गयो ? हाम्रा समस्या लिएर स्थानीय, प्रदेश र संघीय सरकारसम्म पुग्यौं । तर कसैले हाम्रो आवाज सुनेनन् ।

सहकारीमा राजनीतिक प्रभाव छ्याप्छ्याप्ती देखिन्छ । यस्तो हुँदा ऐन कार्यान्वयन कसरी सम्भव होला ?

सहकारीको सात सिद्धान्तमा राजनीतिबाट बाहिर भन्ने नै छ । यो देशको विडम्बना नै भन्नुपर्छ, कुनै पनि क्षेत्र राजनीति भन्दा पृथक हुन सकेन । गणतन्त्रको यो सबैभन्दा नराम्रो पक्ष हो । हरेक क्षेत्र राजनीतिबाट प्रभावित भएको छ । सहकारीमा राजनीतिज्ञदेखि व्युरोक्रेटसम्मको आँखा लागेको छ । पैसाको कारोबार पनि गर्ने र सदस्यहरुसँग प्रत्यक्ष जोडिने भएकाले राजनीतिक प्रभाव परेको हो । सहकारीकर्मीले नै यो कुरा विचार गर्नुपर्छ । यसका लागि सहकारी शिक्षा पनि सबैभन्दा ठूलो कुरा हो । कुनै पनि घटनाक्रमले हामीलाई प्रभावित पारिराखेको हुन्छ । फेरि यसमा एउटा अमूक पार्टीले मात्र गरेर केहि नहुने रहेछ । एउटा पार्टीले सहकारीमा राजनीति नगर्नु भन्यो भने अर्को पार्टीले गरिराखेको हुन्छ । यो कुरा सहकारीकर्मी स्वयंले बुझ्नुपर्छ । अभियान राजनीतिक रुपमा दिक्षित छ । जिल्ला संघ, केन्द्रिय संघ र महासंघमा राजनीतिक भागबण्डा चल्छ ।

नेपालको सन्दर्भमा सहकारी त आवश्यक छ नि ?

नेपाल जस्तो देशको लागि सहकारी त एकदम आवश्यक छ । संविधानले पनि अर्थतन्त्रको तेश्रो खम्बाको रुपमा सहकारीलाई लिएको छ । हामीजस्तो अल्पविकसित देशको जनताको आयस्तर अभिवृद्धि गर्न र गरिबी न्यूनिकरण गर्न सहकारी आवश्यक छ । हामीले सहकारीलाई राम्रोसँग चलाउन नसकेको मात्र हो । सहकारी आफैंमा नराम्रो होइन । सहकारीको मूल मर्म अनुसार चलेको भए आज धेरै कुरा परिवर्तन भइसक्थ्यो । नेपालमा जसरी सहकारीलाई लैजानुपथ्र्यो, त्यस खालको अभ्यास भएन । गलत अभ्यासका कारण आज अभियान धराशायी बन्न पुग्यो । 

राज्यले सहकारीको समस्या समाधानमा कस्तो भूमिका खेलेको छ ?

राज्यको प्रतिनिधि भनेको मन्त्री, सचिव, र सरकारी कर्मचारी हुन् । उहाँहरुको सहकारीप्रतिको मनोविज्ञान नै गलत छ । उहाँहरुले सहकारीलाई सहकारीजस्तै गरी सञ्चालन गर्न चाहनुहुन्न । सहकारीकर्मी भनेको फटाहाहरुको समुह हो भन्ने मनोविज्ञानमा परिवर्तन नभएसम्म सहकारीले नयाँ धार समात्न सक्दैन । त्यसैले पनि राज्यसँग धेरै आशा गर्नुपर्छ भन्ने मलाई लाग्दैन । सहकारी विभागमा रजिष्ट्रार परिवर्तन भइरहन्छन् । एकजना रजिष्ट्रार आउनुहुन्छ । केहि समय सहकारी बुझ्नै लाग्छ । बुझेर केहि नयाँ गर्ने समय आउनै लाग्दा रजिष्ट्रारको सरुवा भइहाल्छ । मन्त्री, सचिवको अवस्था पनि त्यही छ । अहिले पालिका र प्रदेशमा सहकारी गएपछि झन् समस्या थपिएको छ । बागमती प्रदेशका सहकारीमा नै धेरै समस्या छ । ललितपुरमा पनि प्रदेश कार्यक्षेत्र भएका धेरै संस्था समस्यामा छन् । १३ जिल्लाको सहकारी हेर्न १२–१३ जना कर्मचारी छन् । सहकारीलाई पनि कहिल्यै कृषि, कहिले पर्यटन त कहिले उद्योग मन्त्रालयमा जोडिदिएको छ । सहकारीप्रतिको हेर्ने दृष्टिकोणमा राज्य त्यति सकारात्मक छैन भन्ने पुष्टि यिनै कुराले गर्छन् ।

जिल्ला संघले हाटबजार सञ्चालन गर्नुको खास उद्देश्य के हो ?

जिल्ला संघमा नयाँ नेतृत्व आएपछि हामीले सहकारीलाई बचतऋणमा मात्र सीमित गर्नु हुँदैन अहिलेको समस्याको मूल जड पनि सहकारीहरुले बचत तथा ऋणको कारोबार मात्र गर्नु रहेको छ । अब हामी उत्पादन र सेवामा जानुपर्छ भनेर सहकारी प्रवद्र्धन केन्द्र स्थापना गर्‍यौं । ललितपुरका सहकारी र सदस्यले उत्पादन गरेका वस्तु तथा सेवालाई ग्राहकहरुसमक्ष पुर्‍याउने उद्देश्यले प्रवद्र्धन केन्द्र सञ्चालन गरेका हौं । अहिले सहकारीले उत्पादन गरेका वस्तु तथा सेवाको विक्री गर्ने र भविष्यमा तालिम, पुँजी र बजारीकरणमार्फत् सदस्यहरुमा उद्यमशीलताको विकास गर्ने संघको लक्ष्य छ । तीनवटै कुराको सुनिश्चितता गरिसकेपछि कुनै पनि सदस्य उद्यमी बन्न चाहन्छ भने यसले बाटो खुल्ला गर्छ । यसको आधार भनेको प्रवद्र्धन केन्द्र हो । 

अर्को, गत भदौ १ गतेदेखि हामीले हाट बजार शुरु गरेका छौं । शुक्रबार १ बजेदखि ६ बजेसम्म र शनिबार बिहान ६ बजेदेखि ११ बजेसम्म हाट लाग्छ । ‘स्वदेशी उत्पादनको स्वदेशी बजार’ भन्ने नाराकासाथ हाट बजार शुरु भएको हो । कुनै संस्था वा सदस्यले उत्पादन गरेको वस्तु विक्रीका लागि हामीले स्टल दिएका छौं । उक्त स्टलको मासिक ५ सय भाडा लिन्छौं । त्यहाँ सहकारीले उत्पादन गरेका वस्तु विक्रीका लागि राख्छन् । र हामीले विक्री गरेर आएको पैसा उनीहरुको खातामा जम्मा गरिदिन्छौं । हाट बजारमा १ दिनको १५० रुपैया भाडा लिन्छौं । अहिले ३० वटा जति स्टल रहेका छन् । त्यहाँ ९९ प्रतिशत महिलाहरुको उत्पादन आउँछ । नगरपालिकाबाट तालिम लिएर उद्योग गरेकाहरुले उत्पादन गरेको वस्तु विक्री गर्छन् । आमा समुहले सेलरोटी, बारा, र घरेलु उत्पादन गरी विक्री गर्ने गरेका छन् ।

सहकारी क्षेत्रलाई संकटबाट माथि उठाउन, सरकार, अभियान र सदस्यको भूमिका के हुन्छ ?

सदस्यले सहकारी के हो भनेर बुझ्नुपर्‍यो । सहकारी बुझाउने कुरामा राज्य र अभियान दुवैको दायित्व हुन्छ । अभियान झिनामसिना कुरामा अल्झिनु भएन । हामीले ठूलो छाति बनाउनुपर्‍यो । हामीले स–साना स्वार्थ र राजनीतिक आग्रहपूर्वाग्रहलाई त्याग्न सक्नुपर्छ । भोलिको लागि सिटको लोभ नगर्ने, पार्टीले नेताले के भन्छन् भनेर पर्वाह नगरी अगाडि बढ्नुपर्छ । सरकारमा बस्नेहरुले पहिले सहकारीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ । सहकारीले गरिबी निवारण गर्न सक्छ र जनताको न्यूनतमदेखि हरेक आवश्यकता पूरा गर्न सक्छ । सरकारले लिएको आर्थिक सामाजिक विकासको उद्देश्यमा सहकारीले टेवा पुर्‍याउँछ भन्ने सोच व्युरोक्रेट्समा आउनुपर्छ । सहकारीलाई सौतेनी व्यवहार होइन काम गर्न सहुलियत दिनुपर्छ । ऐनमा भएका कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण, कालो सूचि, बचत तथा कर्जा सुरक्षण केन्द्रको व्यवस्था यथाशीघ्र कार्यान्वयनमा ल्याई, सहकारीलाई सही मार्गमा हिँडाउन सहयोग गर्नुपर्छ । त्यो हुन सक्यो भने सहकारीले लय समात्छ र सदस्यको आर्थिक रुपान्तरणको माध्यम बन्न सक्छ ।