आजभन्दा एक दशक जति अघि २०१३ को नोभेम्बर ८ देखि १० सम्म विश्वका कम्युनिस्ट तथा वर्कर्स पार्टीहरुको १५औँ अन्तर्राष्ट्रिय बैठक पुर्तगाल (पोर्चुगल) को राजधानी लिस्बनमा सम्पन्न भएको थियो ।विश्वका ६१ देशका ७७ पार्टीहरु सहभागी भएको त्यस बैठकमा विभिन्न कारणले सहभागी हुन नसकेका थप १४ पार्टीहरुले शुभकामना पठाएर त्यो महत्त्वपूर्ण बैठकको सफलताको कामना गर्दै ऐक्यबद्धता जनाएका थिए। त्यस बैठकमा विशद छलफल गरिएका महत्त्वपूर्ण र सान्दर्भिक विषय वस्तुहरुमा पुँजीवादको गहिरिँदो संकट, श्रमजीवी वर्ग र कम्युनिस्टहरुको भूमिका, श्रमजीवी वर्ग तथा जनताका अधिकारहरुका निम्तिको संघर्षका विभिन्न कदमहरु, साम्राज्यवादको आक्रमण र अन्तर्राष्ट्रिय शक्तिहरुको पुनर्संयोजन, राष्ट्रिय प्रश्न, तथा वर्गीय मुक्ति र समाजवादका लागि संघर्ष जस्ता वर्तमान विश्वका अत्यन्तै महत्त्वका अन्तर्राष्ट्रिय विषयहरु थिए ।
विश्वका ६१ देशका ७७ पार्टीहरु सहभागी भएको त्यस बैठकमा विभिन्न कारणले सहभागी हुन नसकेका थप १४ पार्टीहरुले शुभकामना पठाएर त्यो महत्त्वपूर्ण बैठकको सफलताको कामना गर्दै ऐक्यबद्धता जनाएका थिए । बैठकले अरु पनि महत्त्वपूर्ण विषयमा छलफल गर्नुका साथै पुँजीवादको अझ गहिरिँदो संकट र विश्वस्तरका शक्तिहरुको जटील पुनर्संयोजनका कारण उत्पन्न हुने साम्राज्यवादी आक्रमणका बारेमा निकै गम्भीरतापूर्वक र गहन विश्लेषण गरेको थियो ।
यसका अतिरिक्त त्यो संयुक्त विश्व बैठकले विश्वका श्रमजीवी जनताले चलाइरहेको प्रतिरोध र संघर्षलाई उच्च सम्मानकासाथ सलाम गर्यो । मुक्ति आन्दोलनको वर्तमान अवस्थाको वास्तविकतालाई ठम्यायो र एकाधिकार तथा साम्राज्यवाद विरोधी वर्तमान आन्दोलनको दिशामा आएको व्यापक परिवर्तन र त्यसले समाजवादी आन्दोलनलाई पुग्ने योगदानको बारेमा पनि चर्चा गरिएको थियो ।
बैठकले लेहमन बद्रर्सको कंगालीकरणसँगै २००८ उत्पन्न विस्फोटक स्थितिबाट प्रादुर्भाव भएकाे संकटका बारेमा उल्लेख गर्दै त्यसको प्रकृति र प्रवृत्तिले त्यो संकट पुँजीवादीहरुले भन्ने गरेजस्तो टर्दै र समाधान हुँदै गएको नभई कम्युनिस्टहरुले भनेजस्तो अतिउत्पादन र पुँजीको अति केन्द्रीकरणको संकटकै पुष्टि गरेको औँल्यायो । यो संकटले वास्तवमा पुँजीवादी अन्तरविरोध अझ चर्केको र त्यो पुँजीवादभित्रको उत्पादनको समाजिकीकरणको चरित्र र पुँजीको अतिकेन्द्रीकणको तीव्र अन्तरविरोधलाई नै दर्शाएको प्रष्ट पारेको बताएकाे थियो । यसले पुँजीवादको ऐतिहासिक सीमितता र पुँजीवादबाट समाजवादको विकल्पमा जाने संघर्षको सामयिकता र सान्दर्भिकता नै अर्थ्याएको थियो ।
त्यस बैठकले मुख्य साम्राज्यवादी शक्तिहरुको ठूलो पुँजी र तिनको अन्तर्राष्ट्रिय र केन्द्रित राष्ट्रइतर संरचनाको सम्यताको विकासले दिएका सामाजिक, आर्थिक र श्रमिक अधिकारहरुमाथिको हस्तक्षेपकारी कटौती गरेर जनताको जीवनयापन र जीवनस्तरमा पारिरहेको गम्भीर संकट अनि यसरी जनता र राष्ट्रको स्वाधीनता र स्वतन्त्रतामाथि गरिँदै गरेको युद्धको घोषणाको भर्त्सना पनि गरेको थियाे । त्यो बैठकले खासगरी पुँजीवादका यस्ता कदमले विकासशील देशहरुका बहुसंख्यक जनसाधारणमाथि थोपर्दै लगेका गलत कदमहरुको उल्लेख गर्दै तिनका आर्थिक सामाजिक अधिकार कटौती गरिएको कुरालाई पनि विशेषरूपले उल्लेख गरेको थियो ।
त्यस संयुक्त बैठकले मुख्य साम्राज्यवादी शक्तिहरु र नेटोको बढ्दो सैनिकीकरण, युद्ध पिपासा र अरु देशहरुको सार्वभौमिकता र अखण्डतामाथिको बढ्दो हस्तक्षेपको विशेष उल्लेख गर्दै यसले दमनकारी शक्तिहरु संगठित हुँदै र आक्रमणलाई बढाउँदै लगेको र त्यसबाट पुँजीवादमा आएको संकटलाई अर्कोतिर मोड्ने असफल प्रयास गरिरहेको यथार्थ औँल्याएको छ र यस क्रममा विकासशील र अल्पविकसित देशहरुका श्रोत साधनलाई एक वा अर्को किसिमले नियन्त्रण गर्ने बाटो लिएको दर्शाएको छ । यस स्थितिले गर्दा सामाजिक र जनक्रान्ति विश्वव्यापी रुपमा पुनः टड्कारो बन्दै जाने प्रष्ट पारेको थियो ।
साम्राज्यवादी प्रभाव, दवाव र हस्तक्षेपका यस्ता घटना विरुद्ध चलिरहेका र विकसित हुँदै गएका विश्वभरिका आन्दोलनहरुप्रति ऐक्यबद्धता जनाउदै सहभागी ती प्रतिनिधिहरुले शान्ति, सामाजिक समृद्धि, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथिको दख्खल हस्तक्षेपको जोड्दार विरोध जनाउनुका साथै पुँजीवादको यो चौतर्फी वर्वताका विकल्प फेरि पनि वैज्ञानिक समाजवाद नै हो भन्ने कुरा औँल्याएका थिए । यस क्रममा उनीहरुले पुँजीवादी एकाधिकार, शोषण र जनविरोधी वर्वरताका विरुद्ध विश्वभरिका श्रमजीवी जनता तिनका सहयोगी सबै तह र तप्काका मित्र शक्तिहरुको मोर्चा र एकताकाे आवश्यकता अझ बढ्न गएको औँल्याउँदै उनीहरुले श्रमजीवी जानताका सबै तह र तप्का हक, हित खासगरी रोजगारी, श्रम तथा सामाजिक अधिकार तथा राज्यहरुको सामाजिक भूमिकाका पक्षमा सर्वाधिक जोड दिएका थिए ।
सहभागी सबैले त्यस बैठकमा मूलतः साम्राज्यवादी दख्खल हस्तक्षेपका विरूद्ध र खासगरी मध्यपूर्वका जनताको संघर्षप्रति ऐक्यबद्धता जनाए भने त्यो क्षेत्रमा भइरहेका सबै किसिमका साम्राज्यवाद विरोधी संघर्ष खासगरी राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, सामाजिक न्याय र राष्ट्रिय एकताका लागि संघर्ष र विशेषतः इजिप्ट र ट्युनिसियामा चलेका त्यस्ता संघर्षप्रति उच्च सम्मान प्रकट गरेको थिए भने त्यस क्षेत्रमा चलिरहेका प्यालेस्टाइनीहरु र सिरियाली जनताको संघर्षप्रति पनि विशेष ऐक्यबद्धता जनाएको थिए ।
एउटा खास ढाँचाभित्रका निरन्तरका प्रतिरोध र शक्तिहरुको एकत्रीकरणका अतिरिक्त विश्वका विभिन्न क्षेत्रमा साम्राज्यवादी हैकम र हस्तक्षेप विरोधी क्रान्तिकारी संघर्षहरुको जुन महत्त्वपूर्ण विकास हुँदै आएको छ, ती संघर्षहरुप्रति पनि बैठकले उच्च मूल्यांकन गर्दै विश्वभरिका कम्युनिस्ट तथा अरु प्रगतिशील शक्तिहरुको खासगरी ल्याटिन अमेरिकी जनताको संघर्षहरुप्रति सम्मान प्रकट गरेको थिय । अनि ती संघर्षहरुमा विकसित भएको पारस्परिक सहयोग र ऐक्यबद्धतालाई उल्लेखनीय भन्दै सम्मान जनाएको थियाे र ती प्रेरणादायी छन् भनेको थियो । सहभागीहरुले क्यूवाको प्रतिरोध र यसको समाजवादीकरणका साथै भेनेजुयला र बोलिभियाका जनताको संघर्षलाई पनि सलाम व्यक्त गरेको थियो ।
त्यो बैठकले लोकतान्त्रिक स्वतन्त्रताका लागिको संघर्षहरु, दक्षिणपन्थीहरुको बढ्दो प्रभाव बिरुद्धको संघर्ष, जातिबाद, धार्मिक कट्टरता र पाखण्ड, तथा कम्युनिस्ट विरोधी शक्तिहरुका गतिविधिहरुका विरुद्धको संघर्षको विशेष उल्लेख गर्दै तिनलाई सुदृढ र व्यापक बनाउनुपर्ने आवश्यकता औँल्याएको थियो । यो बैठकले खासगरी युरोपेली महाद्वीपमा भइरहेका विभिन्न सरकार र संस्थाहरुका कम्युनिस्ट विरोधी हर्कत, दमन र अभियानहरुको उल्लेख गर्दै तिनका विरुद्ध कम्युनिस्ट तथा अन्य क्रान्तिकारी जनसमुदायको संघर्षप्रति एकताको भावना जाहेर गरेको थियो ।
विश्वभरिका प्रगतिशील संघर्षहरुका ठोस अनुभवहरुले साम्राज्यवादको बढ्दो दख्खल हस्तक्षेप र प्रभुत्त्व तथा जनतामाथि भइरहेका विभिन्न किसिमका दमन र उत्पीडनका विरुद्धको संघर्षलाई अघि बढाउन र अझ सुदृढ तुल्याउन तथा यसरी विश्व एकाधिकारवादी पुँजीवादका विरूद्धको संघर्षलाई अघि बढाउन सकिने निष्कर्ष निकालेको छ र वास्तवमा समाजवाद नै पुँजीवादी संकटबाट मुक्तिको सही विकल्प हो भन्ने कुराको पुनर्पुष्टि गर्दै तर विगतमा र अहिले पनि समाजवादी सिद्धान्त र व्यवहारका बारेमा जस्तो किसिमले तोडमोड गरिएका छन्, जस्ता गम्भीर गल्तीहरु दोहोर्याएका छन् र जसरी समाजवादी आन्दोलनलाई शिथिल र दिशाहीन तुल्याउने खालका गतिविधि भइरहेका छन् । तिनबाट उचित शिक्षा लिएर अघि बढ्न सक्दा मात्र समाजवादका मानवीय, विश्वव्यापी उपलब्धिहरु, समाजवादी प्रणाली र तिनको औचित्यता र आवश्कयताको पुनर्पुष्टि गर्दै अघि बढ्न सकिने आलोचनात्मक सार पनि बैठकले खिचेको छ । बैठकले क्रान्तिको कुनै एउटै मोडेल या नमूना हुँदैन भन्ने उल्लेख गर्दै समाजवादी क्रान्ति, समाजवाद निर्माण र त्यसको व्यवस्थापनमा जनताको भूमिका नै निर्णायक हुन्छ भन्ने कुरालाई विशेषरुपमा दोहोर्याएको थियो ।
माथि उल्लिखित निष्कर्षका साथ वर्तमान अन्तर्राष्ट्रिय स्थितिको परिप्रेक्ष्यमा विश्वभरिका कम्युनिस्ट तथा श्रमजीवी जनसमुदायका साथै साम्राज्यवाद विरोधी प्रगतिशील तथा लोकतान्त्रिक शक्तिहरुको ऐक्यबद्धता पारस्परिक सहयोग नै त्यस्तो शक्ति हो जसले समाजवाद एउटा अजेय विकल्प हो भन्ने कुरालाई चरितार्थ गर्दछ र गर्न सक्दछ भन्ने निष्कर्ष बैठकले निकालेको थियो । यसका लागि निरन्तर विश्वका बदलिँदा गतिविधिहरुलाई हेर्ने, केलाउने, परस्पर यस्ता अन्तरक्रिया गर्ने, विचारहरुको आदान प्रदान गर्ने र क्रान्तिकारी गतिविधिहरुलाई अघि बढाउन हर-तरहले लाग्ने बताइएको थियो । यसका लागि बैठकले विश्व समाजवादी आन्दोलनलाई अघि बढाउन विभिन्न नीति र विभिन्न कदमहरुको अबलम्बन गर्ने तिनलाई व्यवहारमा खरो उतार्ने महत्त्वपूर्ण निर्णय लिएको थियो । ती निष्कर्षहरु आज पनि उत्तिकै सामयिक रहेका छन् ।