बुधबार, कार्तिक १२ गते २०८३

सामुदायिक साकोस र ज्योति बहुउद्देश्यीयबीच एकीकरण सम्झौैता, ५ अर्ब ९० करोड पुँजी पुग्ने 


आश्विन १७, २०८० बुधबार
सामुदायिक साकोस र ज्योति बहुउद्देश्यीयबीच एकीकरण सम्झौैता, ५ अर्ब ९० करोड पुँजी पुग्ने 

काभ्रे, पनौती नगरपालिका वडा नं. ४, काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र बनेपा ७, काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको ज्योति बहुउदेश्यीय  सहकारी संस्था लि. बीच एकीकरण गर्ने सम्झौता भएको छ । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को मुख्य कार्यालयमा भएको एकीकरण सम्झौतामा दुबै संस्थाका एकीकरण कार्यदलले दुबै संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सल्लाहकारहरु समेतको उपस्थितिकाबीच एकीकरण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

२०५१ साल माघ १४ गते स्थापना भई १० वटा सहकारी संस्था एकीकरण भई काभ्रेपलाञ्चोक, काठमाण्डौं, भक्तपुर र ललितपुर जिल्ला कार्यक्षेत्र रहेको ५१ हजार शेयर सदस्य र ४ अर्ब ५० करोडको कुल पूँजी रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र २०५५ सालमा स्थापना भई ६ हजार ९ शय शेयर सदस्य र १ अर्ब ४० करोडको कुल पूँजी रहेको ज्योति बहुउदेश्यीय सहकारी संस्थाले एक आपसमा एकीकरण हुने सम्झौता गरेका हुन् । एकीकरण सम्झौता कार्यक्रममा जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकका अध्यक्ष दिलिप शर्माले प्रदेशकै ठूलो समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्था बन्न सफल भएकोमा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि. लाई बधाई दिए ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष उदयराम कायस्थ, संस्थाका प्रमुख सल्लाहकार दीपक थापा, सल्लाहकार शम्भुलाल श्रेष्ठ, ज्योति बहुउदेश्यीय सहकारी संस्था लि. का सल्लाहकार राजकुमार हुमागाई र निवर्तमान अध्यक्ष मुकुन्द प्रसाद दाहालले शुभकामना मन्तब्य राखेका थिए ।

सामुदायिक  साकोसका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष प्रकाश बन्जाराले मन्तब्यको क्रममा राज्यको कानून, सहकारी ऐन, नियमावली तथा निर्देशनलाई अक्षरश पालना गर्दै शेयर सदस्यहरुलाई एकीकृत संस्थाबाट दिगो र गुणस्तरिय सेवा उपलब्ध गराउने उदेश्यले एकीकरणको सम्झौता गरेको बताए । ‘एकीकरणको बाधक भनेको पद हो, पद कहिले पनि स्थायी हैन त्यसैले म केही पनि पदमा छैन भन्ने सोचेर खाली दिमागले एकीकरणको छलफलमा बस्नु पर्छ अनिमात्र एकीकरणले सार्थकता लिन सक्छ’,उनले भने ‘यो एकीकरणको सन्देशले नेपालमै समुदायमा आधारित सहकारी संस्थाहरु मध्येको बिग मर्जर हो ।’  औपचारिक र अनौपचारिक छलफलबाट शुरु भएको एकीकरणको अभियान सम्झौतासम्म पुग्न सफल भएकोमा दुबै टिमलाई उनले धन्यबाद दिए ।

आगामी साधारण सभाबाट एकीकरणको प्रस्ताव पारित भएपश्चात दुबै संस्थाको एकीकृत कारोबार हुने भएको छ  ।  एकीकृत संस्थाको शेयर सदस्य संख्या ५९ हजार र कुल पूँजी रू ५ अर्ब ९० करोड हुनेछ भने शेयर पूँजी रू ४६ करोड पुग्नेछ । लगानीमा रहेको ऋण रू ४ अर्ब ६० करोड हुनेछ । बचत निक्षेप रू ४ अर्ब १० करोड हुनेछ । जगेडा कोष रू. ४३ करोड हुनेछ र अन्य कोषहरु रू २० करोड गरी जम्मा कोष रू ६३ करोडको हुनेछ । कार्यक्रम सञ्चालन संस्थाका सचिव मुकुन्द शर्माले गरेका थिए  भने कार्यक्रमको समापन ज्योति बहुउद्देश्यीय सहकारी संस्थाका का अध्यक्ष सुर्य मानन्धरले मन्तब्य सहित एकीकरण सम्बन्धी संयुक्त बैठक समापन  गरेका थिए ।