बुधबार, कार्तिक १२ गते २०८३

नेपालमा सतिप्रथाको उद्गमदेखि अन्त्यसम्म

मंसिर २९, २०८० शुक्रबार
नेपालमा सतिप्रथाको उद्गमदेखि अन्त्यसम्म
mahat ram.jpg
 
ज्याेतिलाल बन 
 
पूर्ववैदिक ऋग्वेदकालदेखि पुण्य एवं सत्कार्यको रूपमा लिइएको सतीप्रथा कालान्तरमा गएर हिन्दू समाजको पतिब्रता धर्मसँग जोडिएको एक सामाजिक कुप्रथा थियो । आफ्नो पतिको मृत पार्थिव शरीरसँग पत्नीले चितामा जलेर देहत्याग गर्ने सतीप्रथाको सन्दर्भमा अनेकौं किवदन्तीहरु पाइन्छन् । पुराणमा उल्लेख भए अनुसार महादेवसँग विवाह गरिएकी सतिदेवीले बाबु प्रजापतिको वार्षिक यज्ञमा सवै देवता निमन्त्रित भएर ज्वाई आफ्नो पतिलाई अवहेलना हुँदा आफ्नो छात्ति चिरिएर पतिप्रति भएको अपमानको बदला लिन सो यज्ञको अग्निकुण्डमा फालहालेर पतिको नाममा देहत्याग गरेको सम्झनामा यस प्रथाको प्रचलन शुरु भएको हो ।
पतिको मृत्युमा पत्नीले, पत्नीको मृत्युमा पतिले, आम–बुबाको मृत्युमा छोरा–छोरीले र आफूलाई मनपरेको जोसुकैको मृत्युमा जोसुकैले चिताको पार्थिव शरीरसँग जलेर आत्मदाह वा प्राण परित्याग गर्ने कार्यलाई सती जाने भन्ने गरिन्छ । ऋग्वेदमा यस प्रथालाई आत्महत्याको संज्ञा दिइएता पनि सती जाने पत्नीले नरक गएका आफ्ना पतिलाई स्वर्गमा पु¥याउन सक्ने गौरवपूर्ण कार्यको संज्ञा पनि दिइएको पाइन्छ । हिन्दू वाण भट्ट र बौद्ध धर्ममा तन्त्रशास्त्रहरुले यसको विरुद्धमा जतिसुकै विरोध गरे पनि अङ्गीरस र हरिता नामक व्यक्तिहरुले यसको समर्थनमा व्यापक प्रचार–प्रसार गरे ।
 
वैदिककादेखि प्रारम्भ भएको यो कुप्रथा महाभारतकाल (इं.पू.९५०) सम्म पाण्डुको मृत्यु हुँदा मादी, कीचक मर्दा सौरन्द्री, सुकदेवको मृत्युमा देवकी, भद्रा, रोहिणी र मन्दिरा नामक ४ जना स्त्रीहरु, कृष्णको मृत्युमा रुक्मीणी, गान्धारी, शैल्या, हेममति र जम्बावति गरी ५ जना सती गएका थिए भने प्रभाकरवघद्र्धनको निधनमा धेरै मित्र, शुभचिन्तक, मन्त्री, दासहरु, राजा अनन्तकी रानीको निधनमा पुरुषहरु मौर्य र गुप्तकाल पश्चात सती गएको उदाहरण पाइन्छन् । वैदिक मौर्य र गुप्तकालमा सतीप्रथा अनिवार्य नभए पनि यस प्रथाले लोकप्रियता लिनुमा राजनैतिक, अर्थिक, सामाजिक, धार्मिक र कुटनैतिक कारणहरु रहेका छन् । (७१५)
हिन्दू दर्शन र समाजले विधवा नारीलाई कुनै पनि चाड पर्वोत्सव, उत्सव धार्मिक समारोह इत्यादिमा भाग लिन नदिने, हेय र अपसगुनको रुपम हेर्ने, एकदमै नीच स्तरमा राख्ने आदि कारणबाट नबिएर, उदासिन र उपेक्षित भएर बस्नुभन्दा मर्नु बेश भन्ने धारणा जाग्न गएकोले सतीप्रथाले व्यपकता लिएको पाइन्छ । उपरोक्त सामाजिक कारणझैं धार्मिक कारणका रुपमा धर्मका ठेकेदार बनेका ठेकेदार गुरु–पुरोहित, पण्डितहरुले पतिसँगै बसेर स्वर्गीक आनन्दप्राप्त गर्न सती जानु पर्ने, बाबु–आमा र पतिको ३ टै कुलको उद्धारका लागि नारीले सती जानु पर्ने, विधवाका लागि अग्नी प्रवेशको अतिरिक्त दोस्रो मार्ग र विकल्प नभएको कुराहरु प्रचार–प्रसार गरिदिदा सतीप्रथामा बल पुगेर यसले व्यापक रुप लियो ।
 
यसरी नै निःसन्तान दाजु–भाइको मृत्युपछि अंश हात लगाउनका लागि भाउजु–बुहारीलाई सती जान कर गर्दा ब्राह्मण पुरोहितले धेरै कपडा गर–गहना प्राप्त गर्ने प्रचलनले गर्दा अंशियार एवं ब्राह्मण दुबैलाई फाइदा पुग्न जाने भएकोले जबरजस्ती सती पठाएका घटनाहरु पाइन्छन् जो आर्थिक कारणका रुपमा लिन सकिन्छ। राजनीतिक रुपबाट पनि आफ्ना प्रतिद्वन्दीलाई सखाप पारेर अनुकूल परिस्थितिमा राजनैतिक शक्ति संयम गर्न अगोर्खाली गुटले प्रतापसिंहको असामयिक निधन हुँदा राजेन्द्र लक्ष्मीलाई सती पठाउन खोजेको बहादुर शाहले बेतियाबाट फर्केर मैजुरानीलाई सती पठाएको, रणवहादुर शाहकी रानी राजराजेश्वरीलाई भीमसेन थापाले हेलम्बुबाट बोलाएर सती जान बाध्य गरेको, गीर्वाणयुद्धविक्रमको निधनमा सिद्धिराज्यलक्ष्मीलाई सती पठाइएका घटनाहरु जीवितै जसले सतीप्रथालाई उत्प्रेरित गरेको थियो ।
 
मध्यकालीन राजाको शवको सती बिना दाहसंस्कार गरिँदैनथ्यो । २४ वर्षको वयस्क उमेरमा पार्थीवेन्द्र मल्ल मर्दा ३२ वटी कन्या, योगनरेन्द्र मल्लसँग ३३ वटी विश्वजित मल्लसँग उनकी आमा, प्रताप मल्लसँग उनका ९ जना रानीहरु र महिन्द्र मल्लसँग रानीहरुसहित बहिनी पनि सती गएका थिए। सन् १८१७ को वर्ष मात्र बंगालमा ७०० नारीहरु सती गएको तथ्याङ्क भेटिन्छ । यो कुप्रथा भारतबाट शरणार्थीको रुपमा नेपाल प्रवेश गर्ने ब्राह्मण, क्षेत्री आदि आर्यहरुले नेपालमा भित्र्याएका थिए। सतीप्रथा भारतबाट नेपालमा भित्रिएर यहाँका ब्राह्मण जातिले आर्थिक प्रलोभनमा परेर सतीप्रथालाई प्रशंसा गरेका थिए ।
 
भारतस्थित गभर्नर जनरल लर्ड बेन्टिकले केही भारतीय विद्वान (राजा राममोहन राय समेतका) हरुको राय सल्लाहमा सन् १८२९ मा यस प्रथाको अन्त्य गर्ने घोषणा गरेपछि यसको प्रभाव नेपालमाथि पर्न गएर व्यवहारिक तथा भावनात्मक कारणबाट नेपालमा सती जाने कामलाई धाराशयी गर्न राणा प्रधानमन्त्री जङ्गवहादुरले सन् १८५४ को ऐनमा निरुत्साहित गर्ने कदम चालेका थिए । उनले १६ वर्षभन्दा कम उमेरको विधवा सती जान नपाउने, १६ वर्ष र ५ वर्ष उमेर नपुगेका छोरी, छोरी हुने विधवा, दोजिया विधवा जान नपाउने र छोराको मृत्युमा आमा र दासीहरु सती जान नपाउने प्रावधान उल्लेख गरेर सती जान बाध्य बनाउनेलाई रु १००।– जरिवाना तोकि दिएका थिए ।
 
जङ्ग बहादुरले आफ्ना भाई बमबहादुर र कृष्णबहादुरको मृत्युमा बुहारीहरुलाई सती जानबाट रोके तथापि उनका श्रीमतिहरु सती गएका कारण ऐन प्रभावकारी हुन सकेको थिएन । उनको निधनमा उनीसँग कोही पनि सती नगएको भए ऐन प्रभावकारी हुने थियो । वीर शमशेरले सन् १८८७ मा एक इश्तिहार जारी गरी कुनै पनि महिला सती जान नपाउने र ऐनले छुट दिएका महिलालाई पनि सम्झाई बुझाई रोक्ने कथं कदाचित नमाने कुनै सरकारी कार्यालयमा सूचना गरी जाँचबुझ गरेर मात्र पठाउन सक्ने प्रावधान घुमाउरो अस्पष्ट र अव्यवहारिक भएका कारण नेपाली समाजबाट सतीप्रथा रोकिएको थिएन ।
 
राणाकालदेखि नै यो सामाजिक कुप्रथाको रुपमा लिएर कानूनी बन्देज लगाई दिएको भए नेपाली समाजमा यस प्रथाले फस्टाउने मौका नै पाउने थिएन । २८ जुन १९२० का दिन टँुडीखेलको खरिको बोटमुनी भेला भएको आम सभालाई एक भाषण दिदै श्री ३ महाराज चन्द्रशमशेरले सतीप्रथा बन्द भएको घोषणा गर्ना साथ परम्परादेखि सामाजिक कलङ्कको रुपमा प्रचलित सतीप्रथा बन्द भएको थियो । उनले घोषणामा अब उप्रान्त स्वास्नी मानिसलाई सती जान दिई ज्युँदो मान्छे पोल्ने मार्ने गरेको ठहरियो भने सो बचन दिने, पोल्ने र मद्दत दिनेलाई समेत ज्यानमाराको ऐन बमोजिम सजाय हुने कुरा बोलेपछि यो कु–प्रथाको अन्त्य भएर यसको श्रेय चन्द्रशमशेरले पाएका थिए । (७१६)
 
यसरी नारी जातिको लागि अन्यायको रुपमा र सामन्ती प्रथाको एक अवशेष अङ्गको रुपमा हेरिएको सतीप्रथा घोषणपछि पूर्ण रुपमा बन्द भएको थियो । राणा प्रधानमन्त्री तथा श्री ३ महाराज चन्द्रशमशेरले जतिसुकै दमनात्मक शासन चलाएर नेपाली जनताको पढ्ने, लेख्ने, वाकस्वतन्त्रता, राजनीतिक, आर्थिक र सामाजिक अधिकारहरुको हनन् गरे पनि उनले घोषणा गरेको सतीप्रथाको उन्मूलनलाई आज पनि प्रशंसा गरिएको छ । सतीप्रथा र दासप्रथा हटाई नेपाली समाजको ठूलो कुरीति बन्द गर्ने कार्यमा चन्दशमशेरले ठूलो श्रेय प्राप्त गरेका छन् । (७१७)
 
साभारः डा. बमबहादुर अधिकारी लिखित नेपालको बृहत इतिहास पृष्ठ ७१५-७१७ बाट)