सोमबार, कार्तिक १० गते २०८३

सहकारी सुशासनमा  सम्झौता गर्न सकिँदैनः नेफस्कून अध्यक्ष ढकाल

पौष १७, २०८० मंगलबार
सहकारी सुशासनमा  सम्झौता गर्न सकिँदैनः नेफस्कून अध्यक्ष ढकाल


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको सहकारी समन्वय उपसमितिको आयोजनामा सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० को प्रतिवेदन विषयक अन्तरक्रिया तथा सहकारी ऐन परिमार्जनका लागि सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून ) का अध्यक्ष चन्द्र प्रसाद ढकालले कार्यदलको प्रतिवेदन अभियानको साझा सम्पत्ति भएको बताए । साझा धारणा बनाउने काम भक्तपुर जिल्ला बचत संघले गरेकोमा खुशी व्यक्त गर्दै नेफ्स्कूनले पनि प्रतिवेदनकाबारेमा साझा धारणा निर्माण गरी कार्यान्वयनमा लान पहलकदमी गर्ने जनाए । भक्तपुर जिल्लामा तुलनात्मक रुपमा सहकारीहरूमा कमैमात्र समस्या देखिनुमा बचत संघको भुमिका महत्वपुर्ण रहेको उनको भनाई थियाे । सहकारीकाे सुशासन र सदृढिकरणमा सम्झौता गर्न नसक्ने  बताउँदै अध्यक्ष ढकालले अभियानका मुद्दाहरु प्राथमिकताका आधारमा समाधान गर्दै लाने उल्लेख गरे । 

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले पछिल्लो समयमा सहकारी क्षेत्रमा कतिपय बाह्य र आन्तरिक कारणले संकटहरु देखिएको बताए । सहकारी क्षेत्रमा देखा परेको सैद्धान्तिक बिचलनका कारणले यस क्षेत्रको कार्यगत, व्यवहारगत र संरचनागत सुधारको आवश्यकता महशुस गरी सरकारले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल २०८० गठन गरिएको बताए । उक्त प्रतिवेदनमा उल्लेखित सहकारी सुधारका तल्काल, अल्पकालिन, दीर्घकालिन  सुधार, कार्यगत सुधार, जनशक्ति सुधार, कार्यदलको निष्कर्ष लगायतका विषयमा प्रस्तुतिकरण  गरेका थिए ।

संघका उपाध्यक्ष एवं उपसमितिका संयोजक हरि बल्लले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० ले दिएको प्रतिवेदनको बारेमा जानकारी दिनुका साथै समुदायका सहकारीको विकास र प्रवर्धनका लागि सहकारी ऐनका परिमार्जनका लागि सुझाव समेत संकलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

संघका सहकारी समन्वय उपसमितिका सदस्य बलराम प्रजापतिले स्वागत मन्तव्य राख्दै नेपालको संविधान, २०७२ ले समाजवादउन्मुख अर्थतन्त्र विकासको महत्वपूर्ण खम्बाको रुपमा सहकारी क्षेत्रलाई लिए पनि राज्यले सहकारीका समस्याहरु समयमै प्राथमिकतामा राखी सम्बोधन गर्न नसक्दा सहकारीमा समस्या देखापरेको बताए । सहकारीलाई समुदायमा आधारित, सदस्य केन्द्रीत, लोकतान्त्रिक, स्वायत्त र स्वनियम संगठनको रुपमा  विकास गर्न सहकारी ऐन कानुन समुदायमा आधारित सहकारीमैत्री हुने गरी परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याए।

अन्तरक्रिया कार्यक्रममा नेफ्स्कूनका नवनिर्वाचित अध्यक्ष चन्द्र प्रसाद ढकाललाई बधाई ज्ञापन गरिएको थियो । कार्यक्रमको संचालन गर्दै संघका व्यवस्थापक बालकृष्ण धोजुले सहकारीको पाँचौ सिद्धान्त शिक्षा, तालिम र सूचना बमोजिम कार्यदलको प्रतिवेदन बारे सदस्य संस्थालाई सुसूचित गराएको बताए । उनले सहकारी सुधारको लागि दिएका अभियान सुढिकरणका सुझावहरु पनि कार्यान्वयन गर्दै लैजानुपर्ने उल्लेेख गरे ।  अन्तर्क्रिया कार्यक्रममा संघमा आवद्ध सदस्य संस्थाका पदाधिकारी, संचालक, व्यवस्थापक तथा कर्मचारी गरी १४९ जनाको उपस्थित रहेको थियो । 

  • सम्बन्धित विषय:

  • # नेपालपत्र संवाददाता