
ठाकुर खपाङ्गी.
नेपालमा पटक पटक आन्दोलनहरु भए ।सयौं ,हजारौं नेपाली नागरिकको ज्यान गयो ,कैयौं नारीको सिन्दुर पुछियो ,विधुवा भए ,बालबच्चा टुहुरा टुहुरी भए ।कैयौं नागरिक बेपत्ता ,अपांग र असक्त बने ।उनीहरूको अवस्था आज पनि जिउँका तिउँ उस्तै जर्जर र दर्दनाक रहेको छ । साथै उनीहरूको सर्वाङ्गीण परिवर्तनको सपना कल्पनामा मात्रै सीमित हुन पुगेको छ ।
यस प्रकार गरीब ,मजदुर ,किसानहरू आन्दोलनको उपलब्धि अपेक्षित नवीन परिवर्तनको सपना र कल्पना ‘आकासको फल,आँखा तरि मर’ भने झैं मात्र भयो ।दिन प्रतिदिन गरीब मजदुर र किसानहरू बेरोजगार र गरीबीको शिकार भएर कष्टकर जीवन बाँच्न निरीह भइरहनु पर्ने स्थिति ज्यूँका त्यूँ रह्यो ।बेरोजगारी र गरिबीको शिकार हुनुको पीडाले गरीब र बेरोजगार नेपाली नागरिक दिन प्रतिदिन आफ्नो देशलाई आँशुको तिलाञ्जली दिंदै लाखौंलाख संख्यामा वैदेशिक रोजगारीको लागि विदेशिन बाध्य भै रहे ।अनि विदेशिनुको पीडा बुझ्न र सुन्न राज्य र सरकार नतमस्तक रमिते नै मात्र भए । उर्जाशील यूवाहरुको न स्वदेशमा न बिदेशमा कतै पनि जीवनको सुरक्षा नहुने स्थिति बन्यो ।
देशको सरकारी स्वामित्वको उध्योग कलकारखाना सरकारले साम्राज्यबादी नीजिकरण र उदारीकरणको बहानाबाजीमा बन्द गराए र नेपाली जनतालाई बेरोजगारी बनाए र विदेशमा रोजगारी गर्न विवश र बाध्य बनाए ।देशलाई युवा विहन देशको स्थिति बनाए ।सरकारमा बस्ने शासकहरूले नेपाली नागरिकलाई धेरै बर्ष पहिले देखि विदेशमा रोजगारी गर्न जाने बाध्य पार्न शासकहरूको असल नियत होला भन्न सकिन्न ।
अर्कोतिर देशमा भ्रष्टाचार ,कमिशन ,तस्करी ,मानव बेचविखन ,लुटपाट र हत्या हिंसाको श्रृङखला दिन दुई गुन्ना रात चार गुन्ना वृद्धिदरमा उक्लिनु पनि शासकहरू,कर्मचारीहरू र जनप्रतिनिधिको संलग्नता नरहेको देखिएन ।देशलाई कंगाल बनाउने ,डुबाउने र व्यक्ति धनी बन्ने प्रपंच तथा जालझेल गर्ने काममा देशको शासन गर्ने शासकहरू ,जनप्रतिनिधिहरू एवं कर्मचारीहरू जस्ता ठूला मूलतः माछाहरूले नै अग्रपंक्तिमा रहे। तिनले जे जस्तो अपराध गरे पनि छुट दिने प्रपंच गरे । यसरी देश र जनतलाई गरीब बनाउने अनि मुठ्ठीभर नेता कार्यकर्ता धनि बन्ने प्रपंच गरे ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना हुनुको उपलब्धि गरीब ,मजदुर र किसानहरूलाई भन्दा उनीहरुमाथि शासन गर्ने शासकहरू ,कर्मचारीहरू र जनप्रतिनिधिहरूका लाग सीमित मात्र रह्यो ।यस्ता ठूला माछाहरूको मात्रै उन्नति प्रगति ,सर्वाङ्गीण विकास र अद्भुत उच्च परिवर्तन भएको दिनानुदिन देखिदै गयो ।सर्वसाधारण गरीब जनताको आमूल परिवर्तनका लागि आन्दोलन नभएर शासन गर्ने शासकहरू ,कर्मचारीहरू र जनप्रतिनिधिहरूको मात्रै सर्वाङ्गीण आमूल परिवर्तन गर्ने क्रान्ति भएको सर्वत्र गुनासो जनजिब्रोले बोलेको सुनिन्छ ।यसर्थ ,भोट दिने सर्वसाधारण जनता गरीब हुने ,जनप्रतिनिधि र शासकहरू मात्रै धनि बन्ने यो कस्तो लोकतान्त्रिक गणतन्त्र र कस्को लागि गणतन्त्र ?
शासन गर्ने ‘जुन जोगी आए पनि कानै चिरेका’ आएको देखिन्छ ।राजतन्त्रमा पनि सर्वसाधारण जनता पिल्सिए ,बहुदलीय प्रजातन्त्रमा जनता नै पिल्सिए र संघीय लोकतान्त्रिक गणतन्त्र भए पनि पहुँच नभएका सर्वसाधारण जनता नै पिल्सिने र पछाडि पारिने व्यवस्था जनताको लागि बनमा ‘कागलाई बेल पाके पनि हर्ष न विस्मात’ भएको छ।
त्यसैले अब बाटो दीन दुःखी गरीब ,मजदुर र किसानहरूको गए गुज्रेको स्थितिबाट मुक्ति र आमूल परिवर्तनको लागि एक मात्र विकल्प नयाँ जनबादी क्रान्ति सम्पन्न गरी बैज्ञानिक समाजवादमा पदार्पण गर्नु हो । यस बाहेक अरु कुनै बाटो छैन । सम्पूर्ण श्रमजीवी जनता मजदुर, किसान, यूवा–बिद्यार्थी, राष्ट्रिय पूँजीपति तथा सबै उत्पीडित जन समुदाय सचेत, संगठित, संघर्षशील बनौं !