पोकितोले मैले दिएको भात अलिकति खायो र अलिकति घरका परेवाहरूलाई छाडिदिएको छ आज पनि, सदा झैँ । काठमाडौंमा हिजोआज केही दिन यता प्रचन्ड घाम लागेको छ। पोकितो पुण्य गरेको भावमा लठ्ठ परेजस्तो आँगनको एकापट्टी छहारीमा बिन्दास पल्टिएको छ । आँखाका कोषबाट छड्के हेर्दै मानौं कुनै पहुँचवाला ध्यानीले पुलुक्क दर्शनार्थीलाई हेरेजस्तै । भन्छन् मान्छे र कुकुरको जुनी बीच निकै नजिकको सम्बन्ध हुन्छ । कुकुरको जुनीपछि उसको अर्को जन्म मान्छेको जुनी लिने पालो रे । प्राभुपादले एक ठाउँमा लेखेका छन्–मान्छे मर्ने बेलामा सास छाड्न मानिरहेको छैन भने बुझ्नुपर्छ उसलाई कुकुरयोनीमा जानुपर्ने विकल्पले हो । प्रभुपाद गौड़ीय सम्प्रदायका कृष्णभक्त हुन् र इस्कोनका संस्थापक हुन् । उनको कृष्णभक्तिको ऊँचाई र उनको भनाईमा कुनै शंकाको गुञ्जाइस छैन ।
अनि मैले सोचें यो पोकितो पूर्वजन्मको मान्छे नै हुनुपर्छ जो कुनै गल्तीले गर्दा कुकुरयोनिमा च्यूत हुनपुगेको हो । उसका हेराई, उसका हिंडाई अनि उसको बेलामा खान नपाउंदा ठुस्स पर्ने बानी सबै मान्छेका जस्तै छन् । अरु त अरु कुनै पराई मान्छे घरछेउ बीस हातपर समेत देख्न हुँदैन मूलद्वार भित्रैबाट झम्टिन खोज्छ, अहिलेका प्रभुहरूको हुंकारको याद दिलाउँछ । फेरि मैंले जन्म पूनर्जन्मका कुरा सोचें अनि विचार गरें । जन्मजन्मान्तर र स्वभावको अन्तरसम्बन्धका बारेमा, अनि निर्क्यौलमा पुगें पोकितो पक्कै मान्छे बनेर जन्मिन्छ । अब मान्छे बनेर यो देशमा जन्मेछ नै भने पनि के चैं लछारपाटो लाउला ? यति माया गरेर उसलाई कसले पो खान देला ? ठूला घरमा जन्मेछ भने त तै बिसेक, कथं गरीबकामा जन्म्यो भने अरु जस्तै भोकभोकै पर्ला ।
सम्झें देशको के दोष ? देश त माटाको थुप्रो हो । जंगल पहाड पर्वत अनि खोलानाला, यही त हो हामीले पढेको र जानेको, देश मान्छेहरूको समूह हो भन्ने कुरो कसैले पनि मानेको देखिएन । देशको प्रतिनिधित्व पोकितोहरूले कसरी गर्न सक्याहोलान् र कुनै पनि कालखण्डमा ? मैले पोकितोलाई हेरें अनि मान्छेहरूलाई, फेरी मान्छेहरूलाई हेरें अनि पोकितोलाई, तादाम्य छ दुवैमा एकादम् दुरुस्त । एउटा कमी चैं छ हाम्रो पोकितोमा, दिएको भातले उ सन्तुष्ट हुन्छ अरुहरूजस्तो जति खाए पनि नअघाउने छैन पोकितो । यो असन्तुष्टिको उपचार यमराजसित मात्र छ, घाटले बोलाएपछि समय बाँकी नै हुँदैन सुध्रिन ।
घरको छानु चिथ्रा चिथ्रा परेर आकाशमंडली भाको निकै भो, भिताहरू हल्लिसकेका छन् कुकुरहरूको ठूलो झुण्ड ऐले मस्त निद्रामा छ, पोकितो जागा छ, घरिघरी हूँ हूँ गरी कराउँछ हाम्रो निद्रा खल्बलिने गरी । एक्लो उसले खस्दो सगर थेग्न सक्दैन । यो रात हो ।
असार २, २०८१ भक्तपुर
(निबन्धकार विश्वचर्चित बहुभाषी कवि तथा साहित्यकार हुनुहुन्छ।)