लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि को २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष मैया महतको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बागमति प्रदेश भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री चन्द्र लामा रहेका थिए ।
संस्थाले कोभिड १९ को महामारीलाई मध्यनजर गरी गत असोज १० गतेदेखि १५ गतेसम्म मुख्य कार्यालय र सेवा केन्द्र बनेपामा सदस्य उपस्थिति पुस्तिका खुल्ला गरी वार्षिक प्रतिवेदन वितरण गरेको थियो ।
संस्थाले हिजो शनिबार सीमित व्यक्तिको उपस्थितिमा विद्युतीय माध्यमबाट सभा समापन गरेको हो ।
सभामा अध्यक्ष मैयाँ महतले संस्थाले कार्यक्षेत्र भित्रका महिला सदस्यहरुलाई एकिकृत गरी उनीहरुमा सीप विकास तथा उद्यमशीलतामा लाग्न अभिप्रेरित गर्दै प्रतिस्पर्धी गुणस्तरीय सेवामार्फत जीवनस्तरलाई सहज बनाउन लागिपरेको उल्लेख गरिन् ।
संस्थाकी सचिव सुवासना श्रेष्ठले आ.व. २०७७।०७८को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ३० रुपैयाबाट शुरु भएको बचतले संस्था १७÷१८ करोडको वासलात बनाउन सफल भएको उल्लेख गरिन् । सदस्यहरुको हकहित र जीवनस्तरमा परिवर्तन ल्याउन जनचेतना अभिवृद्धि, उद्यमशीलता, व्यवसायिक, सीपमूलक, कृषि र महिला सशक्तिकरण जस्ता तालिमहरु सञ्चालन गरी महिला सदस्यहरुको जीवन परिवर्तनमा संस्थाले सक्रिय भूमिका खेलेको बताइन् । संस्थाले नवदुलही भेटघाट, प्रसूति राहत, मृत्यु राहत, विरामी राहत जस्ता थुप्रै सदस्यमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
संस्थाकी कोषाध्यक्ष शकुन्तला श्रेष्ठले आ.व. २०७७।०७८को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै संस्थाले १५ प्रकारका बचत र १० प्रकारका ऋण सञ्चालनमा ल्याएको बताइन् । गत आवको असार मसान्तसम्म संस्थामा २०३० शेयर सदस्य, शेयर पूँजी २ करोड २९ लाख ४३ हजार, बचत संकलन १५ करोड ९१ लाख ७३ हजार बचत संकलन तथा १५ करोड १९ लाख ९६ हजार ऋण लगानी गरी संस्थाको कुल सम्पत्ति २० करोड ४६ लाख ६३ हजार पगेको छ । संस्थाले ११ लाख ३२ हजार खुद मुनाफा आर्जन गरेको छ ।
