मंगलबार, कार्तिक ११ गते २०८३

“ विकसित राष्ट्रले सहकारीमार्फत समृद्धि हासिल गरे, यहाँ पनि सम्भव छ” – अध्यक्ष सापकोटा


आश्विन १३, २०८१ आइतबार
“ विकसित राष्ट्रले सहकारीमार्फत समृद्धि हासिल गरे, यहाँ पनि सम्भव छ” – अध्यक्ष सापकोटा

 

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटाले विकसित मुलुकहरुले पनि सहकारी मार्फत् नै आर्थिक फड्को मार्न सफल भएको बताएका छन् । दोलखाको गौरीशङ्कर गाउँपालिका २ जुँगूमा मुख्य कार्यालय रहेको जनउपकार बचत तथा ऋण सहकारी संस्थाको २५ औं साधारण सभा अन्तर्गत काठमाण्डौ इकाइ सभाको प्रमुख अथितिको रुममा बोल्दै उनले जापान, अमेरिका, कोरिया लगायतका धेरै राष्ट्रले सहकारीको माध्यमबाट आर्थिक समृद्धि हासिल गरेको बताएका हुन् ।  नेपालले पनि सहकारीमार्फत् आर्थिक सबलीकरण गरी समुन्नत समाज निर्माण गर्न सक्ने उनले जनाए । 

अध्यक्ष सापकोटाले आन्तरिक नीति, विधि र सिष्टम बनाएर सञ्चालन भएका सहकारी संस्थामा कुनै समस्या नभएको बताए । बागमती प्रदेशमा धेरै सहकारी रहेको र समस्या पनि यही प्रदेशमा धेरै रहेको उनको भनाई छ । दोलखा, मकवानपुर लगायतका केही जिल्लाका सहकारी संस्थामा कुनै समस्या नरहेको भन्दै उनले कुल सहकारी संस्थाको २ प्रतिशत संस्था मात्रै समस्यामा परेको समेत जानकारी दिए । 

नेफ्स्कून र बागमती प्रोस्कूनले सञ्चालन गरेका स्तरीकरण कार्यक्रममा सहभागी भएका संस्थाहरुमा समस्या नरहेको समेत उनले प्रष्ट पारे । सहकारी मूल्य, मान्यता र सिद्धान्तमा रहेर सदस्यहरुलाई सेवा दिन खुलेका संस्थाहरुमा कहिल्यै समस्या नआउने उनको भनाई छ । जनउपकार सहकारीले पनि सदस्यहरुलाई सेवा प्रदान गरी आर्थिक रुपमा सवल बनाउन लाग्नु पर्नेमा उनको जोड छ । युवा पुस्तालाई सहकारीमा आवद्ध गर्न संस्थालाई प्रविधिमैत्री बनाउँदै जानु पर्ने अध्यक्ष सापकोटाले बताए । 

jana upakar 2.jpg

संस्थाका कार्यवाहक अध्यक्ष बद्री बहादुर बुढाथोकीले बैकिङ पहुँचबाट टाढा रहेका ग्रामीण भेगका जनतालाई नवीनतम प्रविधिको प्रयोग गरी  वित्तीय सेवा प्रदान गर्दै आएको बताए । उनले समुदाय र सदस्य केन्द्रीत रहेर वित्तीय कारोबार गर्दै आएको र सदस्यहरुको विश्वासले संस्थाले सफलता प्राप्त गर्न सकेको उल्लेख गरे । 

संस्थाले यस आर्थिक बर्षमा सदस्यलाई लक्षित गरी विभिन्न कार्यक्रम गर्ने भएको छ । कृषि तथा पशुपालनको क्षेत्रमा अन्य ऋणको तुलनामा २ प्रतिशत ब्याजदर कम गरी ५ लाखसम्म ऋण लगानी गर्ने, संस्थामा सदस्यको बनेको १५ बर्ष पुरा भएका ७५ बर्ष नाघेका सदस्यहरुलाई मासिक भत्ता उपलब्ध गराउने,जटिल रोग लागेका सदस्यलाई उपचार खर्च दिने र प्राकृतिक विपतिमा परेका सदस्यहरुलाई आर्थिक सहयोग प्रदान गर्ने नीति लिएको छ । संस्थाले सुत्केरी भत्ता, उपचार तथा काजकृया खर्च,वृद्धा भत्ता, मृतक परिवार राहत र पूर्ण अपाङ्गता भत्ता उपलब्ध गराउँदै आएको छ । 

संस्थाले गत आर्थिक बर्षको असार मसान्तसम्म शेयर पुँजी ३ करोड ७५ लाख ७७ हजार, बचत संकलन ४० करोड ३४ लाख, ऋण लगानी ३४ करोड ५० लाख गरी कुुल कारोबार ४९ करोड पु¥याएको छ । संस्थाको जगेडा तथा अन्य कोषमा गरी ३ करोड १४ लाख पुगेको छ । संस्थामा ७ हजारभन्दा बढी सदस्य आवद्ध रहेका छन् । संस्थाको एकाइगत रुपमा सुरु भएको साधारण सभा असोज २१ गते समापन हुनेछ । सभाले नयाँ सञ्चालक समिति समेत चयन गर्ने छ ।