
शरणबिक्रम मल्ल
दमौली पाटन । तनहुँ बोटानिकल उद्यान : "हिमालयन हर्वल फार्म प्रा. लि.” नामक फार्म दर्ता गराई के.बी. दाईले काम शुरू गर्न थाल्नु भएकाे रहेछ । आज यहां दुईसय भन्दा बेशी प्रजातिका वनस्पतिहर रहेछन् ।
नेपालका सञ्चार माध्यमहरुले जलवायु पूर्वानुमान महाशाखाको हवाला दिँदै आउँदो बिहीवार साँझ देखि २०८१ आश्विन १० ( सितंबर २६, २०२४) देखि मुलुकभर भारी वर्षा हुने सूचना जारी गरिरहेका थिए। तर केहि दिन अगाडिदेखि आश्विन १० गतेकै दिन हाम्रो पार्टी - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष कमरेड लोक नारायण सुवेदी, पार्टीका पुराना मित्र पाल्पाका शिव कुमार श्रेष्ठ र म तीन जना दमौली सम्म गएर दाई केबी गुरुङलाई भेटने निधो गरेका थियौं । एकरात दमौलीमा नै वस्ने हाम्रो कुरो थियो । अघिल्लो दिन पार्टीका केन्द्रिय कोषाध्यक्ष, अखिल नेपाल महिला यूनियनकी संयाेजक कमरेड सिता सुवेदीले आफू पनि केबी दाईलाई भेट्न जाने इच्छा प्रकट गर्नु भयो।
नेपाल कम्युनिष्ट पार्टीले १५ असार २०८१ देखि ०८२, असार १५ सम्म, वर्ष भरी कमरेड पुष्पलालको जन्म शत बार्षिकी मनाउने कार्यक्रमको घोषणा गरिसकेको थियो । यसको लागि शत बार्षिकी क्याप बनाउने, क्यालेन्डर प्रकाशित गरी सामाजिक, आर्थिक, सांस्कृतिक, एबम राजनीतिक जस्ता विविध विषयमा संवाद, परिसम्वाद, गोष्ठी, समारोह आयोजना आदि महत्वपूर्ण कार्यक्रम गर्दै शत बार्षिकी समाराेह मनाउने तय गरेको थियो।नेपाल कम्युनिष्ट पार्टीको पहलमा हाम्रा अग्रज अभिभावक तथा पार्टीका प्रमुख सल्लाहकार श्री शिव प्रसाद भट्टराईज्यूको संयोजकत्वमा नेपाल कम्युनिष्ट पार्टीका सदस्यहरु समेत रहेको समारोह समिति गठन भएको थियो । यस समितिमा पुष्पलालको विचारलाई सम्मान गर्ने , उहाँलाई नजिकवाट चिन्ने र माया गर्ने १०१ व्यक्तित्वहरुलाई समावेश गरिएको थियो। केबी गुरुङ, कमरेड एकदेव आले मार्फत कमरेड पुष्पलालसंग संपर्क भए पश्चात निरन्तर नेपाल कम्युनिष्ट पार्टीको निकट रहेर काम गरिरहनु भएका कारण यस समारोह समितिको सदस्य हुनुहुन्थ्यो, उहाको उमेर र जटिल स्वास्थ्य बारे हामीलाई अवगत भईरहेको थियो। यसैले हामीले उहाँलाई भेट्न जाने समय तय गरेका थियौं ।
हाम्रो सहयोगी श्री राजन कुमार श्रेष्ठलाई दमौली-तनहुँ जानको लागि मोटरको व्यवस्था मिलाउन दुई- तीन दिन अगाडि देखि नै भनी सकेको थिएँ। दश गते बिहानको खाना अलि छिटो खाएर हामी राजन समेत पाँच जना काठमाडौबाट दमौली तर्फ हानियौ।
आकाश बादलले ढाकेको थियो, झरी शुरू भएको थिएन, कहिं कता कति पानीको थोपा भने खस्दै थिए। यसले सडकको धूलो मारेको हुँदा हाम्रो यात्रा झन सहज बनेको थियो । बीच बाटोमा एक दुई ठाउँ चिया नास्ता खान रोकियौं, मुग्लिङ बजार पुग्दासाथ सुवेदीजीले केबी दाईलाई संपर्क गर्नु भयो- " हामी पांच जना छौ, आज बजारमा कुनै लजमा बसेर भोलि बिहान दाईलाई भेट्न आउँछौ दाई।"
केबी दाईले भन्नु भयो - " केबी गुरुङ आफ्ना पाँच छ जना साथीहरूलाई एकदुई रात खान बस्न व्यवस्था गर्न सक्षम छ तपाईहरु सिधै मेरो घर आउनोस्। " यस पछि हामीले कुरा बढाउने स्थिति रहेन। हामी अनुमान गरेको समयमा दमौली बजार पुग्यौं।
सुवेदीजीले दमौली पुग्दा फेरी केबी दाईलाई कल गर्नु भयो - "हामी दमौली पुग्यौं दाई, तपाईंको घरमा कसरी पुग्ने?"
सुबेदीजी, एकपटक २०४६ सालको परिवर्तन लगत्तै पछि, कमरेड पुष्पलाल देहावसान पछि पार्टीको प्रवक्ताको भुमिका निभाउनु भएका कमरेड बलराम उपाध्याय (बराउती) संग उहाँको घरमा जानु भएतापनि लामो समिय बितिसकेकोले घर ठ्याक्कै पहिलाउन उहाँलाई गाह्रै थियो।
"मेरो घर दमौलीको पुल क्रस गर्दा साथ देब्रे पारीपट्टि हो , तपाईहरु कहां हुनुहुन्छ म लिन आउँछु। "केबी विगत डेढ वर्षदेखि डाईलसिसमा हुनु हुन्छ, केही वर्षदेखि उहाँलाई किड्नीको समस्या देखिएको थियो। आजै मात्र पोखरामा गै डाइलासिस गराएर फर्कनु भएको हामीलाई जानकारी थियो। हप्ताको तीन पटक डाइलासिस गर्नु पर्छ, बिहीवार, आईतवार र मगंलवार। उमेर उनानब्बे वर्ष , तापनि हामीलाई बजार सम्म लिन आउँन कस्सिदै हुनुहुन्थ्यो। यो सुनेर सुवेदीजीले भन्नु भयो - "हैंन दाई तपाईँ आउनु पर्दैन, हामीसंग मोटर छ घरको लोकेशन दिनोस् त। ""हैंन साँझ परि सक्यो, अल्मिलिनु होलाकि भनेर, " उहाँलाई चिन्ता थियो " पोखरा तिर लाग्दा लामो पुल क्रस गर्दा साथ सोध्नुहोला पाटन जाने बाटो, देब्रेपट्टी जाने बाटो आउँछ त्यही बाटो नछोडिकन आउनु होला, जब लहरै दायाँ-बायाँ बाटोको दुवै किनारमा बटोल नेक पामको रुख देखिन्छ, त्यही बाटो पस्नुहोला। बाँसको गेट बाँसकै घर देखिन्छ, त्यही मेरो घर हो " यो सुने पछि सुबेदिजीले "हस् हस् " भन्नु भयो।

दमौलीको पुल तरे पछि केही बेरमा देब्रे तिर लाग्ने बाटो आई पुग्यो। हामीले आफूलाई आस्वस्त पार्न एकजना हिँड्दै गरेकी बहिनीलाई सोध्यौँ- ' लहरै बाटोको दायाँ बायाँ बोटाल्नेक पाम रोपेको ठाउँ पुग्ने बाटो यही हो बहिनी ?"
बहिनीले प्रति प्रश्न गरिन् -" तपाईहरु केबी गुरुङको फार्म जान लाग्नु भएको हो ?""होहो बहिनी " हाम्रो उत्तर थियो। बहिनीले भनिन- " उकालो केही माथि पुगे पछि ओरालो आउँछ हेर्दै जानु होला ठ्याक्कै पुग्न हुन्छ "त्यस ठाउँमा केबी गुरुंगलाई धेरैले चिन्दा रहेछन। यसको मतलब, अझै त्यहाँ शाहरीकरणको हावा पुगिसकेको थिएन । नत्र ओल्लो कोठाकोले पल्लो कोठाकालाई नचिन्ने शहरको रोग त्यहाँ पनि लाग्थ्यो। उहाँको पिताजीको मूल घर तनहुँ दमौली नजिक भए पनि उहाँको जन्म विसं १९९२ मङ्सिर ८ गते काठमाडौँमा भएको थियो। आमा पुर्बेली गुरुङ भएकीले उहाँलाई गुरुङ भाषा भने त्यति राम्रो आउदैन। प्रारम्भिक शिक्षा काठमान्डूमा भए पनि उहाँले भारतबाट बीएस्सी एजी अध्ययन पुरा गरी तत्कालिन श्री५ को सरकारको कृषि विभागमा प्राविधिक अधिकृत हुनु भएको थियो। उहाँको स्वभाव अलि स्वछन्द र अनुसन्धात्मक भएका कारण सरकारी जागिरमा रमाउन सक्नु भएको थिएन। हाम्रो देश प्राकृतिक विविधताले भरिएको देश जहाँ समुन्द्री सतहको एकहजार फिट देखि माथि पाइने सबै प्रजातिकवनस्पति, पशुपंछी, वन्यजन्तु सबै फस्टाउन सक्ने उर्वर जलवायु, अनुकूल र सुन्दर भूमि छ । यसको बहुआयामिक उपयोग भएमा हामी आत्मानिर्भर मात्र होइन सम्पन मुलुक बन्न सक्दछौं । यो दिशामा शुरू किन नगर्ने यिनै हुटहुटीले उहाँलाई सताइरह्यो। जसको कारण उहाँले छिट्टै सरकारी जागिर छोड्नु भयो ।
आफ्नै पुर्खौली थलो दमौलीमा कृषि र वनस्पतिमा अनुसन्धान गर्ने सोच जाग्यो । "हिमालयन हर्वल फार्म प्रा. लि.” नामक फार्म दर्ता गराई काम शुरू गर्न थाल्नु भयो । आज यहां दुईसय भन्दा बेशी प्रजातिका वनस्पतिहरु छन् । अगर उड (AGUR WOODS), रक्त चन्दन, श्रीखण्ड, जस्ता बहुमूल्य वनस्पतिको रहेको झण्डै दुईसय रोपनीकोमा उहाको यो बोटानिकल गार्डेन साँच्चिकै नमुनाको छ । केबी दाईका अनुसार २०५ वटा अगर उड २५-२६ वर्षका उपयोग गर्न लायकका रूखहरू छन् र झण्डै १५०० जाति पाँचसात वर्षका भएका छन् । यो बहुमूल्य प्रजातिको रुख विश्वका १२ मुलुकमा पाइँदो रहेछ , हाम्रो देशमा तराई देखि दामन जस्तो बाइस तेईस सय मिटरको उचाईमा उत्पादन हुन सक्दछ भन्ने उहाँले बताउनु भयो । सरकारका कारण यसको बजारको भने संकट कायम छ । निकट भविष्यमा यस प्रकारको जन उत्तरदायी विहीन सरकारबाट कुनै सकारात्मक काम हुनेमा पनि उहाँलाई कुनै विश्वास छैन ।
अहिले उहाले यही बोटानिकल उद्यानमा उत्पादित वाँस र अन्य कमसल जातिका काठको बिक्रीबाट वार्षिक दशबाह्र लाख रुपैयाँ जति प्राप्त गर्नु हुँदो रहेछ र यसबाट जेनतेन व्यवस्थापन खर्च धान्नु भएको छ । विशेष खर्च टुक्राटाक्री जमीनबेचेर गुजारा गर्दै हुनु हुन्छ । उहाँले पर्वत जिल्लाको बनौ भन्ने ठाउँमा पनि वीस रोपनीमा उच्च लेकमा पाईने विभिन्नजातिका जडी बूटी उत्पादन परीक्षण गरिरहनु भएको छ । "देशलाई भारत र चीनको आर्थिक दास बनाउने होइनकी उनिहरुको बजारलाई हाम्रो बहुमूल्यवान उत्पादनको बजार बनाएर देशलाई स्ववालम्वन र समृद्धि बनाउन सकिन्छ भन्ने सोच राखी अनुसन्धान थालेको हुँ , तर सरकारले कुनै मूल्यांकन गर्दैन, अदुरदर्शी र दास मनोवृत्तिका व्यक्तिहरूलाई बारम्बार सत्तामा पुर्याउने यो समाजाईलाई देख्दा पनि दिक्क लाग्छ । तर मेरो कामको म आफूलाई भने समाजलाई केही नमुना छोडेर जान पाउँदा गर्व छ ”- केबी दाईले हामीसँग भन्नु भयो ।
उहाँका दुई धर्म पत्नीहरू छन- शक्तिशाला गुरुङ र शान्ति थकाल्नी ।
दुवैका एकएक जना छोरी छन् रेखा र ज्योति । शक्तिशाला पनि केबी दाईकै हाराहारी उमेरमा, काठमाडौंमा जेठी छोरीको रेखदेखमा हुनु हुन्छ । कान्छी छोरी ज्योति गुरुङ प्रेम विवाह गरेर अमेरिकाको न्युयोर्क शहरमा आम नेपालीहरुको सन्तानहरूकै नियती भोग्दैछिन् । ७६ वर्षिय कान्छी पत्नी शान्तिले दमौलीको पाटन अवस्थित श्रीमानले हुर्काएको जंगल बीचको बासे घरमा पतिको अथक सेवा गरिरहेछिन्। यसको साथै बिना झन्जट महसुस पतिलाई भेटन आउने आफन्तलाई पनि सेवा सत्कार गर्दैछिन्। हाम्रा कुरा सिद्धिएका थिएनन्, विहानको ११ बजिसकेको थियो, पानी दर्किन थालेको थियो। खाना खाईओरी हामी काठमाडौ फर्कने सुरसारमा थियौं। केबी दाई भन्दै हुनुहुन्थ्यो आज यतै बसौ भोलि जानु होला। तर हामी उठी सकेका थियौ। उहांले छुट्टने वेलामा फेरि भन्नु भयो- “लोकनारायणजी तपाईंलाई न्योखाको डेरा देखि आज पनि डेरैको वास देख्दा मेरो सारै मन खिन्न भएर आउंछ, आउनोस म यही घडेरी दिन्छु, एउटा स्थायी वास त चाहिन्छ ।” सुवेदीजीले विदाहुदै भन्नु भयो-“दाईको भावनाको सम्मान गर्छु, मेरो लागि सारा नेपालीको वास नै मेरो घर हो !”
केवी दाई र लोकनारायणजीको विदाईको समयको यो भावनात्मक सम्वादले हामी भावविह्वाल हुनु स्वभाविक थियो । दमौली वजार काटेर धेरै वर आईपुग्दा सम्म पनि हामी केही वोलेनौ ।
साभार : मल्लजीका कार्तिक १५ गतेकाे मुहार पुस्तिकाबाट