मंगलबार, कार्तिक ११ गते २०८३

सहकारीमा पनि सस्तियो ऋण, बैंक सरह एकल अंकमा सदस्यलाई लगानी गर्दै


मंसिर २१, २०८१ शुक्रबार
सहकारीमा पनि सस्तियो ऋण, बैंक सरह एकल अंकमा सदस्यलाई लगानी गर्दै

 

काठमाण्डौ । पछिल्लो समय सहकारी संस्थाहरुले पनि बैंक सरहकै व्याजदरमा ऋण लगानी गर्न थालेका छन् । संस्थाहरुमा तरलता थुप्रिन थालेसँगै सदस्यहरुलाई सस्तो ब्याजदरमा ऋण दिन थालेका हुन् । 

केही सयम अघिसम्म सदस्यहरुले गरेको अविश्वासका सहकारी संस्थामा तरलता अभाव लगायतका समस्या रहेको भए पनि पछिल्लो समुदाय र सदस्य केन्द्रीत वित्तीय कारोबार गर्ने संस्थाहरुमा अधिक तरलता थुप्रिएको छ । समुदायमा आधारित सहकारी संस्थाहरुमा २० प्रतिशतभन्दा माथि तरलता जम्मा भएको छ । 

एकातिर बैंक तथा वित्तीय संस्थाले संस्थागत निक्षेपमा दिने ब्याजदर घटाउँदै लगेका छन भने अर्कोतर्फ मुलुकमा आर्थिक क्रियाकलापमा अपेक्षाकृत वृद्धि नहुँदा बजारमा ऋणको माग न्यून छ । यस्तो अवस्था सहकारी संस्थाहरुले एकल अंकमा ऋण लगानी गर्नका लागि विभिन्न प्रकारका स्किम योजना अघि सारेका छन् । कतिपय संस्थाले सहुलियत कर्जा योजनाको नाममा त कतिपय संस्थाले सदस्य पुनरोत्थान कर्जाको नाम नयाँ नयाँ स्किम ल्याएका हुन् । 

सहकारी संस्थाहरुले सदस्यलाई सस्तो र मासिक किस्ताबन्दीमा ऋण लगानी गर्ने योजना अघि सारेसँगै ऋणको माग बढ्ने अपेक्षा गरिएको छ । भक्तपुरको शंखधर चोकमा रहेको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई विभिन्न शिर्षकमा ९ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने भएको छ । संस्थाले सिद्धार्थ साना तथा मझौला व्यवसाय, सिद्धार्थ घर जग्गा खरिद, सिद्धार्थ उद्यमशील, औद्योगिक र सिद्धार्थ शैक्षिक ऋण ९ प्रतिशत ब्याजदरमा नै लगानी गर्ने जनाएको छ । संस्थाले ती क्षेत्रमा एक बर्षदेखि बढीमा १० बर्षका लागि ५० लाखसम्म रकम ऋण लगानी गर्ने नीति लिएको छ । 

त्यसैगरी भक्तपुरकै बालकुमारी साकोस र काभ्रेको पनौतीमा रहेको लक्ष्मी महिला साकोसले ८ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने भएका छन् । बालकुमारी सहकारीले कृषि, पशुपालन, शैक्षिक, घर निमार्ण, व्यापार व्यवसाय र उद्यमशीलताको क्षेत्रमा ८ प्रतिशत ब्याजदरमा नै ऋण लगानी गर्ने जनाएको छ । संस्थामा अधिक तरलता रहेको र सदस्यहरुलाई सहुलिय ब्याजदरमा ऋण लगानी गरी आय आर्जनमा टेवा पु¥याउने उदेश्यले बालकुमारी समृद्धि ऋण ल्याएको व्यवस्थापक सुजेन्द्र श्रेष्ठले बताए । १० बर्ष अवधिका लागि मासिक किस्ता बन्दीमा ४० लाखसम्म रकम ऋण लगानी गर्ने उनको भनाई छ । 

संस्थाले प्रकाशित गरेको कात्तिक महिनाको वित्तीय विवरण अनुसार ३९.४९ प्रतिशत अर्थात ६८ करोड ९६ लाख तरलता रकम रहेको छ । संस्थाको शेयर पुँजी १३ करोड ७४ लाख, जगेडा कोष ६ करोड ३३ लाख, बचत संकलन १ अर्ब ७४ करोड ६३ लाख, ऋण लगानी १ अबृ २५ करोड ४१ लाख गरी कुल सम्पत्ति २ अर्ब १२ करोड २६ लाख पुगेको छ । 

त्यसैगरी लक्ष्मी महिला साकोसले पनि कृषि, पर्यटन र साना तथा मझौला व्यवसायमा सदस्य पुनरोत्थान ऋण लगानी गर्ने भएको हो । संस्थाले ८ प्रतिशत ब्याजदरमा ५ लाखसम्मको ऋण १० बर्षको लागि लगानी गर्ने जनाएको छ । संस्थाले कार्तिक महिनामा प्रकाशित गरेको वित्तीय विवरण अनुसार ३२.२८ प्रतिशत अर्थात ७ करोड ८४ लाख तरलता रकम रहेको छ । संस्थाको शेयर पुँजी ३ करोड, साधारण जगेडा कोषमा १ करोड ५३ लाख, विभिन्न कोषमा ८२ लाख ९५ हजार, कुल संस्थागत पुँजी १ करोड ६१ लाख, बचत संकलन २४ करोड ३० लाख, ऋण लगानी १८ करोड ६६लाख गरी कुल सम्पत्ति २९ करोड ६६ लाख पुगेको छ । 

यी संस्थाले मात्र नभई वित्तीय रुपमा सबल अन्य सहकारी संस्थाले समेत सस्तो ब्याजदरमा ऋण लगानी गर्न थालेका छन् । विगतमा कतिपय सहकारीले घरजग्गा र अनुत्पादक क्षेत्रमा ठुलो मात्रामा ऋण लगानी गर्दा तरलता समस्या झेल्नु परेपछि अहिले सहकारी संस्थाहरुले सदस्यहरुको आयआर्जन वृद्धि गर्ने, उत्पादनमूलक तथा  साना र मध्यम प्रकारको ऋणलाई प्राथमिकतामा राखेका छन् । 

सहकारी विभागले सहकारी संस्थाहरुलाई अधिकतम १६ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्न अनुमति दिएको छ । विभागले २ वर्ष अघि सन्दर्भ ब्याजदर निर्धारण गर्दै १६ प्रतिशत कायम गरेको भएपनि त्यसको पुनरावलोकन हालसम्म गर्न सकेको छैन ।