सोमबार, कार्तिक १० गते २०८३

बशर अल असद शासनको अबशान र सीरियाको भबिष्य


मंसिर २५, २०८१ मंगलबार
बशर अल असद शासनको अबशान र सीरियाको भबिष्य


यतिबेला पछिल्लो शासन सत्ता पल्टेका देशहरुमा सीरिया पनि सामेल भएको छ । त्यहाँका बिद्रोहीहरु ५० बर्ष अर्थात पाँच  दशक लामो  असदको शासन सत्तालाई उखेलिदिएका छन् । त्यो शासन सत्ताको अन्त्य गर्नका लागि संकल्पबद्ध रहेको मानिने बिद्रोही समूह हयात तहरीर अल शाम(एचटीआई)ले दुइ सातादेखियत असदको सत्ता पल्टाउने यो अभियानलाई निकै तीब्रता दिएको देखिन्थ्यो । त्यस क्रममा त्यो बिद्रोही समूहले अलेप्पो, हमा, होम्स र दारा भनिने प्रमुख  सीरियाली शहरहरुमा कब्जा जमाएपछि बशर अल असदको शासन सत्ता पल्टिने दिन गन्ति शुरु भएको अडकल गरिदै  थियो । गएको आइतबार अर्थात ८ डिसेम्बरका दिन राजधानी दमिश्कमाथि कब्जा जमाएपछि अब असद बंशको शासन अन्त्य निश्चित प्रायः भएको अडकल गरिदै थियो ।
 यो सत्ता पल्टाउँदा असद सीरियाबाट अज्ञात देशमा भागिसकेको बताइन्छ । तर यो आलेख तयार पार्दासम्म यकिनतः उनी कहाँ शरण लिन पुगे भन्ने कुरा केवल अनुमान मात्र गरिदै थियो । भनिन्छ असद आफ्नो परिबारकासाथ बिमानबाट कुनै अज्ञात मुलुकमा पुगेका छन् । उनी कुन देशमा पुगेका छन् कसैले किटान गरेर बताएको छैन । यस क्रममा उनी चढेको बिमान बेपत्ता भएको या दुर्घटनामा परेको समेत हल्ला फैलिएको छ । यता सत्ता कब्जा गरेका बिद्रोहीहरुले भने अब सीरिया एउटा स्वतन्त्र देश भएको भनिरहेका छन् । असदका बिरुद्ध रहेका बिद्रोही सेनाका एकजना सैनिक अपरेशन कमाण्डरले टेलिग्राममा एउटा पोष्ट लेखेका छन कि ‘हामी तानाशाह बशर अल असदबाट  दमिश्क शहर मुक्त भएको घोषणा गर्दछौं । बिश्वभर बिस्थापित भएर रहेका  सबै सीरियाली मानिसहरुको आगमनको लागि सीरियाले प्रतिक्षा गरिरहेको छ ।

Syriakabja.jpg
सीरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल–जलालीले पनि आइतबार बिहानै पहिले नै तयार गरिएको एउटा सन्देशमा भनेका थिए कि सरकार मानिसहरुबाट चुनिएको कुनै पनि नेतृत्वसँग सहयोग गर्नका लागि तयार छ । उनले सीरियाली मानिसरुलाई सार्बजनिक सम्पत्तिहरुको नोक्सानी नगर्न अपिल गर्दै भनेका थिए कि यो सम्पत्ति सबै नागरिकको हो । उनले आफ्नो स्थिति प्रष्ट पार्दै भनेका छन्–‘म यहाँ आफ्नै घरमा छु, कतै गएको छुइन, न त यसलाई छोड्ने इरादा नै छ । उनको यस बयानबाट स्पष्ट हुन्छ कि प्रधानमन्त्री बिद्रोहीहरुको शर्त मान्न र उनीहरुलाई सत्ता सुम्पिन तयार छन् । अर्कोतिर बिद्रोही समूह एचटीआईका नेता अबू मोहम्मद अल–जुलानीले पनि बिद्रोही शक्तिसँग राज्यका संस्थानहरुलाई नोक्सान नगर्न आह्वान गरेका छन् । यद्यपि दमिश्कमा सडकहरुमा जस्तो प्रकारले ट्यांकहरु र बन्दुक सहीत बिद्रोही शक्ति देखिएको छ त्यसले अहिले भर्खरै स्थिति सामान्य भइहाल्ने परिस्थिति देखिदैन भन्ने बिश्लेषण पनि भइरहेको छ ।
२०११ को ‘अरब बसन्त’मा धेरै देशहरुमा सत्ता पल्टाएको देखिएको थियो । तीन चार दशकदेखि सत्तामा राज गरिरहेका तथाकथित तानाशाहहरुलाई लोकतन्त्रको अभियानका नाममा उखेलेर फालियो पनि । होस्नी मुबारक, कर्नल कद्दाफी आदि जस्ता त्यतिबेला बिश्वमा चर्चित शासकहरुको सत्ताको अन्त्य भयो । त्यस्तै खालको सफलता सीरियामा पनि प्राप्त गर्न कोशिश गरियो । तर बशर अल असदलाई शासन सत्ताबाट हटाउन बितेको १३ बर्षदेखि लामो प्रतिक्षा गर्नुपरको देखियो । ‘अरब बसन्त’को क्रममा सीरियामा बिद्रोहरुलाई बशर अल–असदको शासनले कडा दमन गरेको थियो । हुन त उनले सत्ता सम्हालेको एक दशक मात्र भएको थियो  तर उनको राजनीतिक दृष्टिकोण तानाशाहरुको भन्दा अलिक भिन्न थियो ।
 सेप्टेम्बर ११, १९६५ मा जन्मेका बशर अल असदको पारिबारिक पृष्ठभूमि राजनीतिक थियो । उनका पिता हाफिज अल असद १९७१ म सीरियाको राष्ट्रपति बने । अनि २००० सम्म त्यस पदमा कायम रहे । तर बशर अल असदले राजनीतिको साटो चिकित्सा क्षेत्रको बाटो पक्रे । उनी लण्डनमा आँखा उपचार चिकित्सा शिक्षा पढिरहेका थिए ।जनबरी १९९४मा उनका ठूल्दाजु बासेलको मृत्यु भयो । जसलार्ई  स्वभाबिकरुपमा सीरियाको अर्को राष्ट्रपति मानिदै थियो । यसरी ठूलो दाइको मृत्यु भए पछि बशर अल असद राजनीतिमा आए । पिताको मृत्यु पछि २००० मा उनले राष्ट्रपति पदको शपथ लिए ।  सत्ता सम्हाल्दै गर्दा उनले ‘पारदर्शीता, लोकतन्त्र, बिकास र आधुनिकीकरणका कुरा गरेका थिए । छोटो समयका लागि भए पनि सीरियामा अभिब्यक्तिको स्वतन्त्रता,नागरिक स्वतन्त्रता, जस्ता कुराहरुले स्थान पाए । त्यसलार्ई ‘दमिश्क स्प्रिङ्ग’ पनि भन्ने गरिएको थियो । तर त्यो ‘बसन्त’ पनि चाँडै समाप्त भयो । अनि आफ्ना देश वरिपरीका छिमेकी देशहरुमा बनिरहेको बिपरीत परिस्थितिका कारण बशर अल असदले पनि दमनकै बाटो पक्रिए । इराकमाथि अमेरिकी हमला,लेबनानको माध्यमबाट सीरियालाई नियन्त्रणमा लिने अमेरिकी चाल,‘अरब बसन्त’,ईराकमा इस्लामिक स्टेटको उभार, गाजामाथि इजरायली हमला आदि बितेका डेड दशकका यी यावत घटनाक्रमहरुले बशर अल असदलाई उनको पहिलाको राजनीतिक सोचभन्दा भिन्न र बिपरीत काम गर्न बाध्य पारेको समेत यतिबेला बिश्लेषण गरिदैछ ।
 पश्चिमा शक्तिहरुको सामना गर्नका लागि हिज्बुल्लाहको सहयोग र साथ सीरियालाई मिल्दै रह्यो । तर पेलेस्टिनीहरुलाई सर्बनाश तुल्याउनको सँगसँगै इजरायलले हिज्जबुल्लाहका पनि शीर्षस्थ नेताहरुलाई मारिदियो । फलतः यस पटक सीरियालाई साथ सहयोग दिने शक्ति हिज्जबुल्लाहमा पनि रहेन । इरानको पनि त्यस्तै हबिगत हुन पुग्यो । अर्कोतिर रुस पनि युक्रेन युद्धमा फँसेको स्थिति रह्यो । त्यसले गर्दा पछिल्लो पटक सीरियालाई रुसको मद्दत मिल्न सकेन । बशर अल असदले अमेरिकाका नब निर्बाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मद्दत मागेका थिए तर उनलाई त्यसमा पनि निराशा नै हात लाग्यो । ट्रम्पले पूर्ब राष्ट्रपति बाराक ओबामाका नीतिहरुलाई जिम्मेवार ठहराए ।साथै उनले यसको पछाडि रुसलई पनि जिम्मेवार बताए । उनले भने यो हाम्रो लडाई होइन। अमेरिकाले यस लडाईमा सामेल हुनु हुँदैन । सीरिया अमेरिकाको मित्र होइन । 
 हुन पनि यतिबेला अमेरिकाका प्राथमिकताहरु के देखिन्छ भने जहाँ उसलाई आर्थिक तथा सामरिक फाइदा हुन्छ त्यहाँ कसैले नबोलादा पनि उ जबर्जस्ती पुगिहाल्छ र कथित लोकतन्त्रको हवाला दिएर हस्तक्षेप गर्दछ । तर उसलाई लाभ नमिल्ने ठाउँमा ती ठाउहरुप्रति आँखा बन्द गरेजस्तो गरी बस्छ । त्यसैले यतिबेला अमेरिकाले सीरियालाई कुनै सहयोग नगरी उसको स्थितिमा छोडिदियो । बिश्लेषकहरु भन्दछन्,– गएको आइतबार  अर्थात ८ डिसेम्बरका दिन दमिश्कमा त्यस्तै स्थिति देखियो । जस्तो यस अघि अफगानिस्तान, श्रीलंका, बंगलादेश आदिमा देखिएको थियो । बिमान स्थलमा भागभाग छ, मानिसहरु सुरक्षित बाहिर निस्कन चाहन्छन् त्यही अर्कोतिर मानिसहरु स्वतन्त्रताको खुशियाली पनि मनाइरहेका छन् । उता अर्कोतिर राष्ट्रपति भवनमा लुटपाट मच्चाउने,तोडफोड गर्ने जस्ता शिलशिला पनि चलिरहेका छन् ।
 यसरी असद परिवारको शासनको दुःखद अन्त्य सीरियामा भएको छ । तर अब के त्यहाँ शान्ति र सुखमय भबिष्य  छाउला र नागरिकले सुरक्षित महसुश गर्लान् प्रश्न खडा छ । अब जुन सत्ता स्थापित होला त्यसको स्वरुप कस्तो हुने हो, महाशक्तिहरुको भूमिका र दबाबमा नआइकन कुनै सरकारको गठन होला यी गम्भीर महत्वपूर्ण प्रश्नहरुको सही उत्तर आउला कि नआउला अहिले प्रतिक्षाको बिषय छ ।त्यहाँ जनताले आफ्नो देशका आवश्यकता र स्थिति अनुकूलको जन–लोकतन्त्र अपनाउन सके र त्यसका लागि शतत जागरुप भएमात्र तिनको भबिष्य सुरक्षित हुने अहिलेसम्मको अनुबभले दर्शाउँछ ।