मंगलबार, कार्तिक ११ गते २०८३

सहकारी अध्यादेश पारित, प्रतिस्थापन विधेयकमार्फत संशोधन हुनेमा सहकारीकर्मी विश्वस्त


फाल्गुण २३, २०८१ शुक्रबार
सहकारी अध्यादेश पारित, प्रतिस्थापन विधेयकमार्फत संशोधन हुनेमा सहकारीकर्मी विश्वस्त

सरकारले ल्याएको सहकारी अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैबाट पारित भएको छ । सहकारी क्षेत्रको समस्या फास्ट ट्रयाकबाट सम्बोधन गर्ने भन्दै सरकारले अध्यादेशमार्फत् सहकारी ऐन परिमार्जन गरेको हो । दुवै सदनबाट अध्यादेश पारित भएसँगै अब ऐन कार्यान्वयनको लागि बाटो खुलेको छ ।

अध्यादेशमा आएका धेरै बुँदाको अभियानले स्वागत गरेको भए पनि केही व्यवस्थाले यो क्षेत्रलाई समस्या पार्ने भन्दै संशोधनको माग गरेका थिए । तर सरकारले भने प्रतिस्थापन विधेयक मार्फत अध्यादेशमा नमिलेको कुरा संशोधन गर्ने आश्वसन दिएको थियो । अध्यादेशमा आएका व्यवस्था मध्ये बचतको सीमा, सञ्चालकको दुई कार्यकाल र एक संस्था एक सदस्य जस्ता विषय संशोधन गर्नु पर्ने माग अभियानको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले अध्यादेश अर्जेन्सी र प्राथमिकतामा ल्याइने भएकाले अभियानसँग लामो छलफल गर्न नसकेको बताएका थिए । उनले  सहकारी क्षेत्रलाई संकुचन गर्ने बुँदाहरु प्रतिस्थापन विधेयक मार्फत संशोधन गर्ने आश्वसन समेत दिएका थिए ।

सहकारी क्षेत्रलाई  अप्ठ्यारा  पार्ने बुँदाहरु संशोधनका लागि राष्ट्रिय सहकारी महासंघले यस अघि नै  विभिन्न निकायलाई बुझाई सकेको  छ  । महासंघकी अध्यक्ष ओमदेवी मल्लले प्रतिस्थापन विधेयक मार्फत सहकारी क्षेत्रत्लाई संकुचन गर्ने बुँदाहरु संशोधन हुनेमा  आफु आशावादी रहेको बताइन् । उनले आफ्नो नेतृत्वमा सबै राजनीतिक दल,प्रधानमन्त्री, मन्त्री,प्रमुख सचेतक, मन्त्रालयका सचिव र रजिष्ट्रारलाई संशोधनका बुँदाहरु बुझाएकाले संशोधन हुने उल्लेख गरिन । प्रधानमन्त्रीले समेत  सहकारीका नमिलेका विषय मिलाउने आश्वस दिएको र ६० दिन भित्र प्रतिस्थापन विधेयक मार्फत संशोधन हुने उनले विश्वास व्यक्त गरिन् ।

सरकारले  सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश र निजीकरण (पहिलो संशोधन) अध्यादेश बिहिबार राष्ट्रिय सभाबाट बहुमतले स्वीकार गरिएको हो । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीकले  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश  पुस १४ र अन्य चार अध्यादेशलाई गत पुस २९ मा जारी गरेका थिए । दुवै सदनबाट अध्यादेश स्वीकार भएपछि सरकारलाई प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ ।  संवैधानिक व्यवस्था अनुसार संसद्को अधिवेशन सुरु भएको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने हुन्छ ।