मंगलबार, कार्तिक ११ गते २०८३

निजी सम्पत्ति तथा संचार गृहमा तोडफोडको घटना दुखदः परिसंघ


चैत्र १७, २०८१ आइतबार
निजी सम्पत्ति तथा संचार गृहमा तोडफोडको घटना दुखदः परिसंघ


नेपाल उधोग परिसंघले  गत शुक्रबार निजी सम्पत्ति तथा संचारगृहमा भएको तोडफोड, आगजनी, तथा व्यवसायिक प्रतिष्ठानमा भएको लुटपाटको घटनाको निन्दा गरेको छ । विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्दा आम सर्वसाधारण, विभिन्न पेशा, व्यवसायमाथि भौतिक आक्रमण, व्यक्तिगत सम्पत्तिमाथि आगजनी, व्यवसायिक प्रतिष्ठानमा तोडफोड एवं लुटपाट जस्ता कार्य जहिले पनि निन्दनिय रहने परिसंघको भनाई छ । 

निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी, लुटपाट जस्ता अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई सुरक्षित रुपमा व्यापार, व्यवसाय, पेशा गर्न पाउने अधिकारलाई सुरक्षित बनाउन परिसंघ माग गरेको छ । साथै यस प्रकारका घटना दोहोरिन नदिन परिसंघ सम्बन्धित सबैमा अपिल समेत गरेको छ ।

विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्न पाउने अधिकार सुरक्षित भएतापनि यस्ता कार्यले अरु कसैको अधिकार हनन् गर्न हुँदैन भन्नेतर्फ समेत सचेत हुन सम्बन्धित सबैलाई परिसंघ आग्रह  गरेको छ । परिसंघ शुक्रबारको घटनामा परी निधन हुनुभएका व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।