मंगलबार, कार्तिक ११ गते २०८३

राष्ट्रिय क्रान्तिकारी मोर्चाको बागमती प्रदेश भेला सम्पन्न, संयोजकमा शैलज पौडेल


भाद्र २०, २०८२ शुक्रबार
राष्ट्रिय क्रान्तिकारी मोर्चाको बागमती प्रदेश भेला सम्पन्न, संयोजकमा शैलज पौडेल

काठमाण्डाै । राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको बागमती प्रदेशको हिजाे सम्पन्न भेलाले  'प्रतिरोध : जनअधिकार आन्दोलन'का नेता क.शैलज पौडेलकाे संयाेजकत्वमा बागमती प्रदेश तदर्थ  कमिटीकाे  चयन गरेकाे छ।क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको कार्यालय कुपण्डाेल, ललितपुरकाे सभा कक्षमा  भएको भेलाले पौडेलको संयोजकत्वमा १२ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कमिटीका सदस्यहरुमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका क. सागर भण्डारी र क.सुरेश अधिकारी, प्रतिरोध : जनअधिकार आन्दोलनका क.ललितजन रावल,  नेपाल कम्युनिष्ठ पार्टीका क. महेन्द्र जोशी र क. बद्री अधिकारी, अखिल नेपाल कम्युनिष्ट पार्टीका क.भुवन फँयाल र क.निरेन्द्र कुँवर, नेकपा मार्क्सबादी पुष्पलालका क. जयप्रकाश सरिया र क. शिव थापा तथा नयाँ जनवादी मोर्चा नेपालका क.राजेन्द्र सापकोटा रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालका केन्द्रीय संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष क. लोकनारायण सुवेदीले मोर्चालाई गतिशील बनाउँदै आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउनु पर्ने बताए । मोर्चाले शुरुदेखि नै जनजीविकाका सबालका साथसाथै प्रतिगमन र साम्राज्यवाद विरोधी आन्दोलनलाई मुख्य रुपमा अगाडि बढाएको उनको भनाइ थियो। 

"हामीले जनताका जनजीविकाका समस्यालाई उठाउँदै आएका छौँ",  उनले भने, "प्रतिगमनका साथै साम्राज्यवादको विरोध हाम्रो आन्दोलनको मुख्य एजेन्डा हो ।"  बागमती प्रदेश केन्द्रीय राजधानी रहेको प्रदेश भएका कारण पनि आन्दोलनलाई अगाडि बढाउन यस प्रदेश कमिटीको विशेष भूमिका हुने भन्दै संयोजक सुवेदीले  प्रदेश कमिटीले आन्दोलनका कार्यक्रमलाई विशेष ध्यान दिनुपर्ने बताए ।  

मोर्चाका निवर्तमान संयोजक तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेता क. सन्तबहादुर नेपालीले विचार मिल्ने पार्टी र संगठनहरुलाई मोर्चामा समावेश गराउँदै प्रतिगमन र साम्राज्यवाद विरुद्धको आन्दोलनलाई तीव्र बनाउनु पर्ने बताए ।  मोर्चाले आफ्नो अवधारणा पत्रमा स्पष्ट रुपमै प्रतिगमन र साम्राज्यवादको विरोधमा लाग्ने उल्लेख गरेको बताउँदै अहिलेको क्रान्तिकारी आन्दोलनको नेतृत्व मोर्चाले गर्नुपर्ने बताए । 

त्यस्तै अखिल नेपाल कम्युनिस्ट पार्टीका महासचिव क. लक्ष्मण उप्रेतीले मोर्चाका कार्यक्रमहरुलाई प्रदेश हुँदै जिल्ला तहसम्म लैजानु पर्ने बताए । "मोर्चा अहिले केन्द्रमा मात्रै भएजस्तो भएको छ", उनले भने,  "अब यसका कार्यक्रमहरुलाई प्रदेश हुँदै जिल्ला तहसम्म लैजानुपर्छ।" 

नवनिर्वाचित संयोजक क.शैलज पौडेलले केन्द्रको नीति निर्देशन अनुसार प्रदेश कमिटीलाई अगाडि लैजाने प्रतिवद्धता व्यक्ति गरे ।