मंगलबार, कार्तिक ११ गते २०८३

सहयोगी बहुद्धेश्यीय सहकारी रजत वर्षमा प्रवेश, २०३ ज्येष्ठ सदस्यलाई गर्‍यो सम्मान

कार्तिक २३, २०७८ मंगलबार
सहयोगी बहुद्धेश्यीय सहकारी रजत वर्षमा प्रवेश, २०३ ज्येष्ठ सदस्यलाई गर्‍यो सम्मान

 

महालक्ष्मी नगरपालिका ८ लुभुमा रहेको सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाले २५ औं वार्षिकोत्सव एवं रजत वर्ष उद्घाटन गरेको छ । संस्थाका अध्यक्ष नारायणभक्त श्रेष्ठको सभापतित्व एवं सोही नगरपालिका वडा नं ८ का अध्यक्ष विश्वराज श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आयोजना भएको हो ।

सो अवसरमा संस्थाले ज्येष्ठ नागरिक गृह सञ्चार समितिका संयोजक नारायणलाल श्रेष्ठको अगुवाईमा ७० वर्ष माथिका २०३ जना सदस्यलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।  त्यसैगरी संस्थाले नेपाल हृदयरोग निवारण प्रतिष्ठान, महालक्ष्मी ईकाईको पहलमा लुभु प्राथमिक स्वास्थ्य केन्द्रमा सदस्यहरुको लागि मुटु परिक्षण सेवा समेत उपलब्ध गराएको छ । गत कार्तिक १५ गते देखि साताको दुई दिन सोमबार र बिहीबार एक महिनासम्म मुटु परिक्षण गराउने सदस्यहरुको चिकित्सक शुल्क संस्थाले व्यहोर्ने भएको छ । 

वि. सं. २०५३ साल कार्तिक २२ गते ३१ हजार शेयरपुँजी र ३१ जना संस्थापक शेयरसदस्यबाट शुरु भएको संस्थामा हालसम्म आइपुग्दा ३५९५ शेयरसदस्य, ९ करोड २६ लाख शेयरपुँजी, ८२ करोड बचत संकलन र ६९ करोड ऋण लगानी पुगेको अध्यक्ष श्रेष्ठले बताए । संस्थाले आफ्नै भवनबाट सदस्यहरुलाई वित्तीय सेवा दिँदै आएको छ भने संस्थाको स्वामित्वमा रहेको जग्गामा ज्येष्ठ नागरिक गृह निर्माण गरी उनीहरुलाई दिवकालिन सेवा दिँदै आएको छ । संस्था बहुउद्देश्यीय भएकाले बचतऋण कारोबार बाहेक वेष्टर्न मावि, सहयोगी सुपथमुल्य सहकारी पसल, सहयोगी ग्याँस डिपो, सहयोगी अर्गानिक कृषि सेन्टर समेत सञ्चालन गरिरहेको छ । 

संस्थाले विशेषतः सदस्यका छोराछोरीहरुलाई शिक्षित बनाउन संस्थाले सञ्चालन गरेको विद्यालयमा वार्षिक ५ महिनाको शैक्षिक शुल्क भुक्तानी गरिदिँदै आएको श्रेष्ठले जनाए । शिक्षालाई नै संस्थाले पहिलो प्राथमिकतामा राखेको उनले बताए । सोही विद्यालयमा अध्ययनरत २० जना जेहेन्दार विद्यार्थीलाई संस्थाले छात्रवृत्ति प्रदान गरी निःशुल्क अध्यापन गराउँदै आएको छ । संस्थाले महालक्ष्मी न.पा. वडा नं ७, ८, ९, १० भित्र बसोबास गर्ने स्थानीय समुदायको आर्थिक तथा सामाजिक उत्थानका लागि क्रियाशील रहेर कार्य गर्दै आएको उनले बताए । 

सदस्यहरुलाई वित्तीय सेवाका अतिरिक्त समुदायभित्रका कलासंस्कृतिको जगेर्नामा समेत संस्थाले अग्रणी भूमिका खेल्दै आएको छ । संस्थाले विशेषतः कृषि, टेक्सटायल, घरजग्गा र सदस्यको मागका आधारमा ऋण लगानी गर्दै आएको छ । 

Sahayogi 2.jpg