सोमबार, कार्तिक १० गते २०८३

‘प्रारम्भिक संस्था सञ्चालन नगरेका र वास्तविक समस्या नबुझेका व्यक्तिहरु लिडर बन्दा अभियान कमजोर भयो’


फाल्गुण १३, २०८२ बुधबार
‘प्रारम्भिक संस्था सञ्चालन नगरेका र वास्तविक समस्या नबुझेका व्यक्तिहरु लिडर बन्दा अभियान कमजोर भयो’


पछिल्लो समय बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमनको लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भएको छ, प्राधिकरणले ती सहकारी संस्थाको नियमन गर्न सक्ला ?

सहकारी क्षेत्रमा सुशासन कमजोर भयो र संस्थाहरु स्वःनियमनमा सञ्चालन भएनन् भनेर सरकारले पछिल्लो समय सहकारीको नियमनको लागि प्राधिकरण गठन गरेको छ । बचत ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको नियमनको लागि शक्तिशाली नियामक चाहिन्छ भन्ने माग सहकारी अभियानको तर्फबाट पनि भएको हो । प्राधिकरणले अहिले बचत ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई दर्ता अभिलेखीकरण खुल्ला गरेको छ र त्यहि काममा प्राधिकरण अल्झिराखेको छ । प्राधिकरणबाट अझै पनि धेरै सहकारी संस्थाहरुले संस्था सञ्चालन अनुमतिपत्र लिन बाँकी छ । प्राधिकरण यही काममा व्यस्त रहेकाले सहकारी संस्थाहरुको नियमन कसरी गर्छ भन्ने कुरा अझै पनि टुङ्गो लागिसकेको छैन । प्राधिकरणले सहकारीहरुलाई संस्था सञ्चालन इजाजतपत्र दिन अझै लामो समय लाग्ने देखिन्छ । यस्तो अवस्थामा मुलुकभर रहेका ३० हजार भन्दा माथि रहेका सहकारीको कसरी नियमन गर्न सक्ला भन्ने प्रश्न खडा भएको छ । 

संस्था सञ्चालन इजाजतपत्र दिनुु भन्दा अगाडि सहकारी प्राधिकरण र राष्ट्र बैंकले सहकारी संघ संस्थाको लागि निर्देशन तथा मापदण्ड जारी गरेको थियो । समस्या पार्ने बुदाँहरुमा अभियानले छलफल गर्नुपथ्र्यो । जुन जुन बुँदाले संस्था सञ्चालनमा अप्ठ्यारो पारिरहेको छ ती बुँदाहरु संशोधन गर्न अभियानको तर्फबाट लविइङ गर्नुपथ्र्यो । तर त्यो हुन सकेन । राष्ट्र बैंक र सहकारी प्राधिकरणले जारी गरेको कतिपय निर्देशनले संघसंस्थालाई अप्ठ्यारो पार्ने देखिन्छ । ससाना बचत गर्ने र साना तथा मझौला उद्यम गर्ने सदस्यहरुको सहभागिता सहकारी संस्थामा रहन्छ । तर सहकारी संस्थाले विना धितो ऋण लगानी गर्नु हुँदैन भन्ने सन्देश निर्देशनले दिएको छ । तिन लाख वा सदस्यले राखेको बचत मध्ये जुन बढी हुन्छ र दुई जना सदस्य जमानी राखेर मात्र विना धितो ऋण दिन भनेको छ ।  सहकारीबाट सेवा लिने सबै सदस्यसँग धितो हुँदैन । धितो राख्ने जग्गा जमिन पनि ग्रामीण क्षेत्रमा हुनसक्छ । काठमाडौंमा कारोबार गर्ने अधिकांश सहकारीका सदस्यको धितो बाहिर जिल्लामा हुन्छ । त्यो सम्पत्तिलाई धितोको रुपमा लिन पनि सम्भव हुँदैन । प्राविधिक र लागतको हिसाबले धितो लिन पनि महँगो पर्न जान्छ । निर्देशनले सहकारीलाई पनि बैंककै रुपमा अगाडि बढाउन खोजेको छ । 

तर निर्देशनका कतिपय बुँदा राम्रा पनि छन् । तेस्रो पक्ष धितो राख्न नपाउने, संस्थागत पुँजीको आधारमा बचत ऋणको कारोबार गर्ने र संस्थालाई बलियो बनाउने, तरलता व्यवस्था, लोन लष्ट प्रोभिजन जस्ता व्यवस्थाले संस्थालाई बलियो बनाउन मदत गर्छ । अर्कोतर्फ संघहरुमा राखेको बचतलाई तरलताको रुपमा गणना गर्न नपाउने व्यवस्था निर्देशनमा ल्याइएको छ । यसले सहकारीहरुले अहिलेसम्म संघहरुसँग गरिराखेको कारोबारलाई के गर्ने भन्ने अन्यौलता सिर्जना भएको छ । यी विषयमा अभियानले दह्रो रुपमा लविइङ गर्नुपर्ने हुन्छ । त्यसैगरी केही सहकारी संस्थाको समस्यालाई  हेरेर समग्र सहकारीलाई अप्ठ्यारो पार्ने नियम बनाउनु हुँदैन भन्ने मेरो मान्यता हो । गलत नियतका कारण केही सञ्चालकले ठुलो ऋण लिएर संस्थाहरु समस्यामा परे । त्यसलाई नै नजिर बनाएर सहकारी संस्थाका सञ्चालकले ऋण नै लिनु हुँदैन भन्ने निर्देशनमा आयो । यस अघिको मापदण्डमा ४९ प्रतिशत सञ्चालकले ऋण लिन पाउने व्यवस्था थियो । अहिलेको निर्देशनले सहकारी संस्थाका सञ्चालकले ऋण लिन पाइँदैन भन्ने आयो । भएको बेलामा बचत गर्छु र आवश्यक पर्दा ऋण लिन्छु भनेर नै सहकारीमा सदस्य बन्ने हो । संस्थाको सञ्चालक भएपछि ऋण लिन नपाउने भए किन सहकारीमा बस्नुपर्यो ? ऋण चाहिए अब सहकारीका सञ्चालक बैंकमा जानुपर्ने भयो । सञ्चालक पनि व्यवसायी हुन्छ, उद्यमी बन्नुपर्छ । पुँजी बिना उद्यमी बन्न सकिदैँन ।

निर्देशनले पुँजी कोषको १५ प्रतिशत भन्दा बढी ऋण लगानी नपाउने व्यवस्था गरेको छ । अहिले समुदाय र सदस्य केन्द्रीत संस्थामा तरलता अधिक छ । संस्थाहरुमा ५० प्रतिशतसम्म तरलता छ, ऋण लगानी हुन सकेको छैन । संस्थामा अधिक तरलता हुनु पनि जोखिम हो । संस्थाले सदस्यहरुले गरेको बचतमा ब्याज दिनुपर्छ तर संस्थाले लगानी गर्न सकेन भने कसरी नाफा कमाउँछ त ? सञ्चालन खर्च भन्दा केही बढी आम्दानी हुनैपर्छ । तर ठुलो रकम तरलताको रुपमा रही रहने र न्युन आय भएका सदस्यहरुलाई जमानतमा ठूलो ऋण लगानी गर्न नपाउने र सञ्चालकहरुले ऋण लिन बन्द गर्ने हो भने यसले संस्थामा जोखिम निम्त्याउँछ । संस्थाले सकार गरेको गैर बैकिङ सम्पत्तिमा पनि शतप्रतिशत प्रोभिजन गर्नुपर्ने कुराले धेरैलाई अप्ठ्यारो पार्छ । अव्यवहारिक कुरालाई नियामक निकाय र अभियानले छलफल गरी फुकाउनुपर्छ । सहकारी समुदायमा केन्द्रीत भएर स्वः नियमनमा नै संस्था सञ्चालन हुनुपर्छ । नियामक निकायले नियमन गरिदिन्छ र म संस्था राम्रो बनाउछु भन्ने सोच राख्नु हुँदैन । सहकारी जहिले पनि स्वःनियमनमा सञ्चालन हुनुपर्छ । स्वः नियमनमा सञ्चालन भए भने संस्था टिक्छन् । सहकारी प्राधिकरण आएको छ, प्राधिकरणले नियमन गरेपछि संस्था राम्रो बनाउँला भन्ने सोच हटाउनुपर्छ । संस्थाहरु आफै सहकारीका मुल्य, मान्यता, सिद्धान्त र ऐन कानुन अनुसार स्वतःस्फूर्त रुपमा सञ्चालन हुनुपर्छ । 

प्राधिकरणले ल्याएको कतिपय निर्देशनले सहकारी संस्था सञ्चालन गर्नै गाह्रो पर्ने देखिन्छ । अबको मध्यमार्गी बाटो के हुनसक्छ ?

पहिलो कुरा संस्थाहरु स्वयं स्वःनियमनमा सञ्चालन हुनुपर्यो । स्वःनियमनमा सञ्चालन भएनन् त्यसकारण नियमनमा जानुको विकल्प रहेन भन्ने कुरा सुनिन्छ । त्यसमा म सहमत छैन । सञ्चालनकर्ताले स्वःनियमनमा रही ऐन कानुन र सिद्धान्तलाई पालना गरी सञ्चालन गरे संस्था राम्रो हुन्छ । संस्था सदस्य केन्द्रीत हुन्छ र संस्थाप्रति सदस्यको विश्वास बढेर जान्छ । नियामक निकाय आयो, उसैले संस्था राम्रो र सुरक्षित बनाइदिन्छ भनेर बस्नु गलत हुन्छ । राष्ट्र बैंक जस्तो अब्बल निकायले त्यति थोरै बैंक तथा वित्तीय संस्थाको नियमन गरिराखेको छ । राष्ट्र बैंकले नियमन गरेका लघुवित्त संस्था सबै ठिक छन् त ? निरन्तर नियमन र सुपरीवेक्षण गरिराखेको हुन्छ । केन्द्रीय बैंकले सुपरीवेक्षण गरेका  संस्थाहरु त समस्यामा परेका छन् ।

सहकारीको संख्या त यति धेरै छ । संख्यात्मक रुपमा यति धेरै सहकारी संस्थाको प्राधिकरणले कसरी नियमन गर्न सक्ला ? प्राधिकरण आफैं सञ्चालन इजाजतपत्र दिन अलमलमा परिराखेको बेलामा साँच्चैनै नियमन गर्छ भन्ने कुरामा म विश्वस्त छुइन् । प्राधिकरणमा त्यस खालको जनशक्ति अहिलेसम्म छैन । आवश्यक जनशक्ति, त्यही अनुसारको स्रोत साधनको अभावले प्राधिकरणले अहिले नै अफ साइड अन साइड मनिटरिङ गर्न सक्ने अवस्था देखिँदैन । प्राधिकरणले संघ महासंघसँग सहकार्य गरेर गयो भने केही सम्भावना रहला। सहकारी विभागले सुपरीवेक्षण गरिरहेकै संस्थाहरु समस्यामा परे । सहकारीका बचतकर्ता समस्यामा नपरुन् भन्ने सोच सरकारले राख्छ भने प्राधिकरणले अभियानसँग सहकार्य गरेर जानुको विकल्प देखिँदैन । 

सहकारीमा स्वः नियमन असफल भएकाले नै प्राधिकरण आएको हो, तपाईले फेरी स्वः नियमनको कुरा गरिराख्नु भएको छ, यो सम्भावना रहला र ?

स्वःनियमनमा रहेर सहकारीको मुल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालन हुने संस्थालाई नियमनको अवश्यकता पर्दैन । तर सहकारीमा लागेका सबै सञ्चालक राम्रो सोचका हुँदैनन् । कतिपयले संस्था दर्ता गर्दादेखि नै गलत सोच राखेका हुन्छन् । गलत नियतकासाथ सञ्चालन गर्छन् भने त्यस्ता संस्थाको लागि नियमन आवश्यक पर्छ । १५ हजारको हारहारीमा बचत ऋणको कारोबार गर्ने सहकारी संस्था छन् । प्राधिकरणबाट सञ्चालन इजाजतपत्र लिएका मध्ये कुनै संस्था गलत तरिकाले सञ्चालन भइराखेको छ भने न नियमनको आवश्यकता पर्ने हो । कुनै संस्था गलत तरिकाले सञ्चालन भइराखेको छ भन्ने जानकारी संघसँग हुनसक्छ । त्यो समयमा संघ, महासंघ र प्राधिकरण मिलेर राम्रो बनाउँछौ भन्यौ भने त्यो सम्भावना छ । अभियानलाई पुरै बाइपास गर्ने, समन्वय र सहकार्य नगरी प्राधिकरण एक्लैले नियमन गर्छु भन्यो भने त्यसले समाधान दिँदैन । 

सहकारीका कतिपय सञ्चालक र व्यवस्थापकलाई पैसालाई कसरी म्यानेज गर्ने भन्ने विषयमा राम्रो ज्ञान छैन । अहिलेको समयमा ज्ञान, सीप र सूचना आदानप्रदान सबै भन्दा महत्वपूर्ण हुन्छ । ती कुरा प्रत्येक सहकारीकर्मीले बुझ्नुपर्ने हुन्छ । कुनै संस्था गलत बाटोमा जान लाग्यो भने अभियानले पनि खबरदारी गर्नुपर्छ । सहकारी समुदायमा आधारित हुनुपर्छ भन्ने सोच र ज्ञान दिन आवश्यक छ । त्यो भयो भने सहकारी अभियानको भविष्य राम्रो छ । जति संस्था समस्यामा परे, ती सहकारी समस्याबाट बाहिर आउन सक्ने देखिँदैन । भएका सहकारीका लागि ठुलो सिकाइ भएको छ । अब संस्थाहरु वित्तीय पारदर्शिता र सुशासनमा सञ्चालन गर्नुपर्छ भन्ने भावना सबैमा विकास भएको छ । 

तपाईंले लामो समय सहकारी महासंघमा बिताउनुभयो, तपाईको बुझाईमा नेपालको सहकारी अभियान कहाँ चुक्यो जस्तो लाग्छ ?

महासंघ सहकारी अभियानको लागि आवश्यक छ, महासंघले लविइङ र एडभोकेसी गर्छ । अभियानलाई आवश्यक ऐन कानुन बनाउनको लागि पहल गर्छ भन्ने अनुभूति सबै संस्थालाई हुनुपर्यो । तर मैले धेरै सहकारीकर्मीमा त्यो अनुभूति भएको पाइन । सहकारीको नियमनको लागि नियामक निकाय छँदैछ, किन संघ महासंघ चाहियो र भन्ने बुझाई संस्थाहरुमा छ । त्यो कुरा संघ महासंघले पनि बुझाउन सकेनन् र प्रारम्भिक संस्थाहरुले पनि बुझ्ने प्रयास नै गरेनन् । महासंघलाई साँच्चै नै लविइङ र एड्भोकेसी गर्न सक्ने बनाउने हो भने उसलाई स्रोत साधनले सम्पन्न बनाउने जिम्मेवारी पनि अभियानको होला नि ? सरकारसँग बजेट मागेर कार्यक्रम गर्छ भने महासंघले भनेको कुरा सरकारले किन सुन्छ ? जापान, जर्मन लगायतका देशमा महासंघले प्रारम्भिक संस्थादेखि संघहरुको इन्टर्नल अडिट गर्छ । त्यस बापत शुल्क लिन्छ । भारतमा पनि त्यहाँको महासंघले भारतभर रहेका  सहकारी अभियानको लागि तालिम सञ्चालन गर्छ । विभिन्न प्रदेशमा तालिम केन्द्र छ र नियमित रुपमा तालिम सञ्चालन गरिराखेको हुन्छ । त्यसबाट उसको आय वृद्धि हुन्छ र सरकारले पनि एकमुष्ट रुपमा फण्ड उपलब्ध गराउछ । तर नेपालको सन्दर्भमा त्यस्तो सुविधा छैन । महासंघ स्रोत साधनले बलियो भयो भने सहकारी अभियानको लागि अनुकुल नीति नियम, ऐन कानुन बनाउन पहल गर्छ र यसले संस्था सञ्चालनमा सहज हुन्छ भन्ने खालको भावना सबैमा जगाउन सकिएन । 

अर्कोतर्फ प्रारम्भिक संस्थामा सहकारिताको अभ्यास गरेको पोख्त व्यक्ति संघ महासंघको नेतृत्वमा पुग्नुपर्छ । तर हामी कहाँ प्रारम्भिक सहकारी संस्था सञ्चालन नगरेका र संस्थाको समस्या नै नबुझेका  व्यक्तिहरु लिडर बने । लिडरसीपले समस्या नबुझेपछि समस्या के हो र समाधान कसरी हुन्छ भनेर सरकारलाई बुझाउन गाह«ो पर्छ । म महासंघमा रहँदा सरकारले अभियानलाई सोधेर मात्र नीति बनाउँछ, कस्तो खालको नीतिनियम, ऐन कानुन बनाउने भन्ने कुरा सरकारले सोधोस् भन्ने थियो । झन्डै त्यो लेवलमा महासंघ पुग्न लागेको थियो तर पछिल्लो समय सहकारी क्षेत्रमा ठुलो समस्या आयो । नेतृत्व तहमा पुगेका कतिपय व्यक्तिहरुकै संस्थामा समस्या देखियो । त्यसले गर्दा अभियानप्रति सरकार विश्वस्त भएन । 

पछिल्लो समय महासंघ झनै कमजोर जस्तो देखिन्छ, सहकारी क्षेत्रको लविइङ र एडभोकेसीमा महासंघले केही गर्न सक्दैन भन्ने आरोप लागेको छ नि ?

पछिल्लो समय महासंघ कमजोर भएको कि भन्ने कुरा मैले पनि सुनेको छु । पहिलो कुरा जुनसुकै अर्गनाइजेशनमा म्यानेजमेन्ट बलियो हुनुपर्छ । प्रारम्भिक सहकारी संस्था, संघ र महासंघमा व्यवस्थापन सक्षम हुनुपर्छ । अहिले महासंघ लामो समयदेखि कायममुकायम महाप्रबन्धकको भरमा चलिराखेको छ । यदी उहाँले काम गर्न र परिणाम दिन सक्नुहुन्छ भन्ने विश्वास वोर्डलाई छ भने पूर्ण रुपमा महाप्रबन्धकको जिमेवारी दिनुपर्यो, होइन भने अर्को जिएम खोज्नुपर्यो । दोस्रो विषय, महासंघको सञ्चलाक समितिमा नै आन्तरिक समस्या जस्तो देखिएको छ । अध्यक्ष लामो समयदेखि देश बाहिर हुनुहुन्छ । उहाँ आउन नसक्ने हो भने अर्को व्यक्तिलाई अध्यक्ष छाडिदिनुपर्यो । महासंघ लविइङ र एड्भोकेसी गर्ने निकाय भएकाले का.वा. अध्यक्ष  भइरहँदा सरकारले पनि पत्याउँदैन । महासंघले केही पनि सक्दैन भन्ने अवस्थामा पुग्नुको कारण त्यो पनि हुनसक्छ । 

सहकारीको लामो इतिहास छ, करोड मानिस यस क्षेत्रमा आवद्ध भएका छन्, अर्बौं बचत परिचालन भएको छ तर पनि यो क्षेत्रप्रति नैराश्यता नै बढी देखिन्छ नि ?

समस्या चिर्ने र सहकारीको नैराश्यता हटाउने काम अभियानले नै गर्नुपर्छ । राज्यले सहकारी अभियानको नेतृत्व गर्यो भने राज्य नियन्त्रित अभियान बन्दै जान्छ । राज्य नियन्त्रित अभियान कहीँकतै सफल भएको छैन । राज्यले नियन्त्रण गर्ने लगेपछि सहकारी, सहकारीको रुपमा रहँदैन र राज्यको एउटा अंगको रुपमा रहन्छ । त्यसकारण अभियानले नेतृत्व गर्नुपर्छ । वित्तीय पहुँच ,लैगिक समानता,सामाजिक एकीकरणदेखि तल्लो वर्गका मानिसले सेवा पाइराखेको यो क्षेत्रलाई व्यवस्थित गरेर लैजानुपर्छ । सहकारीको फिलोसफी राम्रो छ । यसका अन्तर्राष्ट्रिय मुल्य, मान्यता र सिद्धान्त असाध्यै प्रभावकारी छन् । सोही अनुसार संस्था सञ्चालन हुनुपर्छ । अन्य देशका सहकारी अभियानमा पनि समस्या आएको थिए । ती समस्याबाट पाठ सिकेर सहकारी संघसंस्था र महासंघ ऐक्यवद्ध भएर अगाडि बढ्नुपर्छ । अभियानलाई यसको मर्म अनुसार अगाडि लगियो भने यो जस्तो बलियो अभियान अरु कुनै हुन सक्दैन ।  अब हामी आशावादी भएर अगाडि बढ्नुपर्छ । संविधानले दिएको मर्म र भावना अनुसार अर्थतन्त्रको तीन मध्ये एउटा खम्बाको रुपमा स्थापित गर्नुपर्छ ।