काठमाडौं, सहकारी क्षेत्रमा देखिएको विश्वासको संकट समाधान गर्दै सुशासन र व्यवसायिकता सुदृढ गर्न काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. (कास्कून) ले ७ बुँदे साझा प्रतिबद्धता सार्वजनिक गरेको छ।
“सहकारी संचालनको अनुकुलन, सहकारीपन र सुशासन” भन्ने मूल भावसहित आयोजित अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरूको गोष्ठी–२०८२ बाट यस्तो प्रतिबद्धता आएको हो। कार्यक्रममा विषयविज्ञद्वारा प्रस्तुत कार्यपत्र र गहन छलफलपछि सहकारी अभियानलाई ऐन–कानुन अनुरूप, सदस्यमुखी र व्यवसायिक बनाउन एकीकृत संकल्प गरिएको जनाइएको छ।
प्रतिबद्धतामा सहकारी मूल्य–मान्यता र सिद्धान्तमा आधारित भई कानुनी व्यवस्था कार्यान्वयन गर्ने, सदस्यको सक्रियता र स्वामित्व बढाउँदै नीति तथा योजना निर्माणमा सहभागिता सुनिश्चित गर्ने उल्लेख छ। त्यस्तै, सहकारी ऐन, नियमावली तथा नियामकीय मापदण्डअनुसार क्षमता-आधारित स्रोत संकलन र परिचालन गर्दै वित्तीय अनुशासन कायम गर्ने जनाइएको छ।
नियामक निकायका निर्देशन कार्यान्वयनमा पूर्ण प्रतिबद्धता जनाउँदै अभियानमैत्री नबनेका प्रावधान संशोधनका लागि पहल गर्ने, एकीकृत सूचना प्रणालीमा आबद्ध भई सदस्य पहिचान र जोखिम विश्लेषण गर्ने विषय समेटिएको छ।
साथै, सहकारीप्रतिको घट्दो विश्वास पुनःस्थापित गर्न क्षमता विकासमार्फत सकारात्मक परिवर्तन ल्याउने, शिक्षा–तालिम तथा गोष्ठीमार्फत सञ्चालकीय र व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्ने र सञ्चालक, व्यवस्थापन तथा सदस्यबीच एकता कायम गर्दै सहकारीलाई दीगो सेवा प्रदायक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
कास्कूनका अध्यक्ष दिपक पनेरुको सभापत्तित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्मा थिए । तीन फरक विषयमा कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

नेपालपत्र संवाददाता