आज २५७० औं बुद्ध जयन्ती
‘एशियाका ज्योति’ भगवान गौतम बुद्ध (ई.पू.५६३/४८०–४८०/४००) लुम्बिनी (आधुनिक नेपाल) मा जन्मेको सर्वप्रथम यकिन गर्ने मौर्य साम्राज्यका सम्राट अशोक हुन् । लुम्बिनीको अशोक स्तम्भ त्यसमा ब्राम्ही लिपीमा लेखिएको ब्यहोरा त्यसैको प्रमाण हो । अशोक स्तम्भमा लेखिएको छ-
“जब राजा देवानाम्प्रिय प्रियदर्शिनलाई बीस वर्षअघि अभिषेक गरिएको थियो, तब उहाँ स्वयं यहाँ (लुम्बिनीमा) आउनुभयो र पूजा गर्नुभयो, किनभने बुद्ध शाक्यमुनीको जन्म यहीँ भएको थियो । उहाँले घोडा कुँदिएको ढुङ्गा बनाउन लगाउनुभयो, जो वरदान प्राप्त यहीँ जन्मनु भएको देखाउनका लागि हो । उहाँले लुम्बिनीको गाउँलाई करमुक्त बनाउनु भयो, र आफ्नो उपजको आठौँ अंशमात्र बुझाउँदा हुने बनाइदिनु भयो।” सोही अशोक स्तम्भमा १३औँ वा चौधौँ शताब्दीतिर रिपु मल्लले ‘ॐ मणि पद्मे हूँ’ थप्न लगाए।
सम्राट अशोक (ई.पू.३०४-२३२) चन्द्रगुप्त मौर्यको नाती तेस्रो मौर्य सम्राट थिए । उनको शासनकाल (ई.पू.२६८-२३२) हो । कलिङ्ग (आधुनिक उडिसा, भारत) को लँडाईं (ई.पू.२६५ मा अन्त) मा भएको नरसंहारले उनलाई विक्षिप्त बनाएपछि उनी त्यसैबेला लुम्बिनी आएर अशोकस्तम्भ खडा गर्नुका साथै बुद्ध धर्म अँगालेर मौर्य साम्राज्यभर यसको प्रचारप्रसार गरे ।
मूर्तीपूजा र बलिप्रथाको पुरातन नेपालमा बुद्ध जन्मभूमि झाडी र जङ्गलले छोपेको उपेक्षित र बेमतलबको अथाह स्थानका रुपमा थियो । भारतको औपनिवेशिक शासनका ब्रिटिशहरूलाई सन् १८१६ (बि.सं. १८७२) मा सुगौलीको सन्धी गर्दासम्म यो तथ्य थाहा थिएन । थाहा हुँदो हो त सो सन्धी गर्दा लुम्बिनीलाई नेपालसँग रहन दिने थिएनन् ।
बुद्धका मूख्य ‘३२ लक्षण’ थिए रे ! उनले शाक्य परम्पराअनुसार बिहे गर्नुअघि रणकौशल तालिम लिएका थिए । सुगठित शरीर, सुन्दर अनुहार, लामालामा कान, नीला आँखा, तेज स्मरण शक्ति, अद्वितीय चिन्तनशक्ति आदि ३२ गुण बताइएको छ ।
भगवान बुद्धका उपदेश विश्वभरि निर्विवाद र श्रद्धाका साथ पढिन्छ । मुसलमानहरू पनि बुद्धलाई यथोचित श्रद्धा गर्छन्। संसारमा सबभन्दा धेरै र सबभन्दा ठूला मूर्तीहरू बुद्धकै छन् ।
यसमा भारतीयहरूको कपटाचारले बिथोल्न खोजेको छ । उनीहरू ‘बुद्ध भारतमा जन्मेका हुन्’ भन्ने प्रपोगण्डा गर्न छोड्दैनन् । लुम्बिनीमा जन्मेका बुद्ध कसरी भारतमा जन्मेका हुन्छन् ? भनी सोध्यो भने उनीहरू ‘सिद्धार्थ गौतम लुम्बिनीमा जन्मे, तर सिद्धार्थको बुद्धत्व त भारतमै जन्मेको हो नि !” भन्ने कुतर्क गर्छन् ।
बुद्धलाई चिनाउने काम प्राचीन कालमा मौर्य सम्राट अशोकले गरे । भारतका अन्य मौर्य सम्राटहरूले पनि गरे । आधुनिक कालमा बुद्ध जन्मभूमिको पहिलो उत्खनन् खड्ग शम्शेरले एक जर्मन वैज्ञानिकका साथ गरेका हुन् । त्यसपछि राष्ट्र संघका महासचिव ऊ थान्टले राष्ट्र संघबाट लुम्बिनीका लागि आवश्यक प्रारम्भिक कार्यक्रम अगाडि सार्नुका साथै विश्व प्रसिद्ध जापानी डिजाइनर केन्जो टाङ्गेलाई लुम्बिनी विकासको गुरूयोजना बनाउन लगाए । जापानका दशौँ सामाजिक संस्थाहरूले बुद्धका उपदेशहरू प्रकाशित गरी संसारभरि पुर्याए ।
दरबारको उत्तराधिकारी राजकुमार सिद्धार्थले राजपाट त्यागेर बुद्धत्व आर्जन गरे । उनी बैशाख पूर्णिमाका दिन जन्मे । सोही तिथिमा बुद्धत्व प्राप्त गरे । सोही तिथिमा ८० वर्षको उमेरमा आज भारतमा पर्ने कुशिनगरमा महापरिनिर्वाण (देहान्त) भए । उनको मृत्यु भीक्षाटनमा पाएको दूषित खानाबाट फूड प्वाइजनिङ्बाट भएको विश्वास गरिएको छ ।
चन्द्रमणि गाैतम