बिहीबार , कार्तिक १३ गते २०८३

पाँच दिने अलर्ट जारीः चक्रवात ‘अर्नब’को प्रभावले वर्षा र बाढीको जोखिम


कार्तिक १३, २०८३ बिहीबार
पाँच दिने अलर्ट जारीः चक्रवात ‘अर्नब’को प्रभावले वर्षा र बाढीको जोखिम

 

काठमाडौं । चक्रवात ‘अर्नब’को सम्भावित प्रभावका कारण नेपालमा कात्तिक १२ देखि १६ गतेसम्म वर्षा र जलजन्य जोखिम बढ्न सक्ने पूर्वानुमान गरिएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाले पाँच दिनको बाढी तथा अन्य जलजन्य जोखिमसम्बन्धी पूर्वसूचना जारी गर्दै विशेषगरी नारायणी, बागमती, कमला, कन्काई र कोशी नदीका जलाधार तथा उपजलाधार क्षेत्रमा नदीको जलसतह बढ्न सक्ने जनाएको हो।

महाशाखाका अनुसार कात्तिक १२ गते नारायणी, कोशी, बागमती, कमला, कन्काईलगायतका नदी तथा आसपासका जलाधारमा नदीको जलसतह सामान्य बढ्ने सम्भावना छ। कात्तिक १३ गते भने नारायणी, कोशी र तिनका शाखा नदीका साथै बागमती, कमला र कन्काई क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले नदीको जलसतह उल्लेख्य बढ्न सक्ने पूर्वानुमान छ। यस दिन महाकाली, कर्णाली, पश्चिम राप्ती तथा बबई र तिनका शाखा नदीमा भने जलसतह सामान्यभन्दा केही बढी हुने अनुमान गरिएको छ।

कात्तिक १४ गते कोशी, बागमती, कमला, कन्काईलगायतका जलाधारमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने र पछिल्ला केही दिनको वर्षाका कारण प्रमुख नदीमा जलसतह उच्चतम विन्दुमा पुग्न सक्ने भए पनि सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ। कात्तिक १५ गते कोशी, बागमती र नारायणी जलाधारका केही स्थानमा हल्का वर्षा हुने तथा कात्तिक १६ गते देशभरका प्रमुख नदीमा जलसतह सामान्य अवस्थामा रहने अनुमान छ।

महाशाखाले नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना न्यून भए पनि वर्षाको वास्तविक मात्रा र नदीको अवस्थाअनुसार जोखिम परिवर्तन हुन सक्ने जनाएको छ। उच्च हिमाली क्षेत्रमा कोशी र नारायणी जलाधारतर्फ हिमपात तथा हिमपहिरोको जोखिमसमेत देखिएको छ।

यसैगरी, पहाडी, चुरे तथा तराई क्षेत्रमा बिहीवार र शुक्रवार विशेषगरी नारायणी, बागमती, कमला, कन्काई तथा कोशी जलाधारका पहाडी–चुरे क्षेत्रमा आकस्मिक बाढी तथा डुबानको जोखिम रहन सक्ने पूर्वानुमान गरिएको छ। कात्तिक १२, १३ र १४ गतेका लागि जिल्लागत आकस्मिक बाढी जोखिमसमेत पहिचान गरिएको महाशाखाले जनाएको छ।

महाशाखाले वर्षाको मात्रा बढेमा जोखिमको अवस्था परिवर्तन हुन सक्ने भएकाले नदी किनार, तल्लो तटीय क्षेत्र, पहाडी तथा चुरे क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

badhi.jpg