बुधबार, कार्तिक १२ गते २०८३

शुभलाभ बहुउद्देश्यीयले कृषि परियोजनामार्फत गर्‍यो आम्दानी

माघ ३, २०७८ सोमबार
शुभलाभ बहुउद्देश्यीयले कृषि परियोजनामार्फत गर्‍यो आम्दानी

 

शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाले कृषिजन्य वस्तु विक्रीबाट राम्रो आम्दानी प्राप्त गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७७।७८ वर्षमा टमाटर, काउली, बन्दा, सिमी, खुसार्नी जस्ता तरकारी उत्पादन एवं बिक्री गरी ८ लाख ३९ हजार आम्दानी गरेको हो । संस्थाले अघिल्लो आर्थिक वर्षमा तरकारी विक्रीबाट १० लाख ६४ हजार आम्दानी गरेको संस्थाको २३औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । 

संस्थाका कार्यकारी अध्यक्ष तिखबीर राईले साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कृषि परियोजनाका लागि छुट्टै उपसमिति गठन गरी काम गर्दै आएको जानकारी दिए । संस्थाले ललितपुरको ठैवमा कृषि परियोजना सञ्चालन गरिरहेको छ । 

सभामा प्रस्तुत प्रतिवेदन अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म संस्थामा ४ हजार ११० सदस्य आवद्ध रहेका छन् । त्यस अवधिमा संस्थाको शेयरपुँजी ८ करोड ४५ लाख, बचत संकलन ४०.८३ प्रतिशतले वृद्धि १ अर्ब १५ करोड ३२ लाख र ऋण लगानी २६ प्रतिशतले वृद्धि ९७ करोड ३६ लाख ९० हजार पुगेको छ । संस्थाले त्यस अवधिमा ९७ लाख ९ हजार खुद नाफा आर्जन गर्न समेत सफल भएको छ । 

संस्थाले आवास, औद्योगिक, शैक्षिक, व्यापार, वैदेशिक, घरघडेरी खरिद, लघुघरेलु, कृषि लगायतका शीर्षकमा सदस्यहरुमाझ ऋण लगानी गर्दै आएको छ । संस्थाले संस्थागत सुशासनलाई समेत ध्यानमा राखी विभिन्न ८ उपसमिति बनाई कार्यसम्पादन गर्दै आएको छ । संस्थाले विगत ५ वर्षदेखि स्मार्ट बैंकिङ सञ्चालनमा ल्याएको र त्यसबाट सबैखाले युटिलिटी पेमेन्ट गरिनुका साथै डिपोजिट, विथड्र लगायतका विवरण प्राप्त गर्न सकिन्छ । 

संस्थाले यस आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम तय गर्दै कोरोना भाइरसजन्य परिस्थितिका कारण एटिएम सेवा सञ्चालनमा ल्याइसकेको जनाएको छ । त्यसैगरी ईच्छुक संस्थाहरुसँग एकिकरणको प्रक्रिया अगाडि बढाउने, विशिष्टिकृत संघ गठन गरेर बहुउद्देश्यीय परियोजना सञ्चालन गर्ने, सदस्यहरुलाई आत्मनिर्भर र स्वावलम्बी बनाउन सीपमूलक तथा आयमूलक तालिम सञ्चालन गर्ने भएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघसंस्थालाई आर्थिक सहयोग गर्दै आएको छ ।