ललितपुर । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौ सदस्य सुविधा काउन्टर सञ्चालनमा आएको छ । काठमाडौंको नयाँ बजारमा संस्थाले सो सुविधा काउन्टरबाट सोमबारदेखि कारोबार शुरु गरेको हो ।
एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले नयाँ बजार स्थित सदस्य सुविधा काउण्टरको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा अध्यक्ष श्रेष्ठले शेयर सदस्यलाई सर्वसुलभ सुविधा उपलब्ध गराउन थप सदस्य सुविधा काउन्टर सञ्चालनमा ल्याएको जनाए । उनले भने–हामी उपत्यकामा अझै केही सदस्य सुविधा काउन्टर सञ्चालन गर्नेछौं ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशको सदस्यलाई थप सेवा दिन नयाँ बजारका सातौं सदस्य सुविधा काउन्टर स्थापना गरेको जनाए ।
पुल्चोकमा मुख्य कार्यालय रहेको संस्थाले यसअघि ललितपुर चापागाँउ, काठमाडौंको चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र चितवन जिल्लाको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरिसकेको छ ।
संस्थाले हालसम्म करिब ३ सय भन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बहुउद्देश्यीय लगानीमा स्वास्थ्य क्षेत्रतर्फ श्री लालीगुराँस हस्पिटल, शिक्षा क्षेत्रतर्फ श्री लालीगुराँस राष्ट्रिय उच्च मा.वि./कलेज र नेशनल एकेडेमी, डेरी परियोजना तर्फ चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, ललितपुरको गोदावरीमा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्र तर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावर लगायतसंघ संस्थामा लगानी गरेको छ ।