गत दुई साताको अवधिमा वाणिज्य बैंकहरूबाट २३ अर्ब निक्षेप घटेको छ। नेपाल बैंकर्स संघका अनुसार गत असोज ३१ मा ४५ खर्ब ४७ अर्ब रूपैयाँ निक्षेप रहेको बैंकहरूमा कात्तिक ११ गतेसम्म आइपुग्दा निक्षेप घटेर ४५ खर्ब २५ अर्बमा सीमित भएको छ। यो अवधिमा कर्जा लगानी भने पाँच अर्बले बढेर ४२ खर्ब २५ अर्ब रूपैयाँ पुगेको छ।
बैंकहरूको कर्जा निक्षेपअनुपात समेत दुई सातामा ८७.२० प्रतिशतबाट बढेर ८७.५८ प्रतिशत पुगेको छ। यता बैंकहरूले एकअर्काबीच लिने सापटी अन्तरबैंक को ब्याजदर समेत ८.५१ प्रतिशत पुगेको छ। तरलता दबाब बढेसँगै राष्ट्र बैंकबाट गत तीन दिनको अवधिमा बैंकहरूले एक खर्ब ७२ अर्ब रुपैयाँ स्थायी तरलता सुविधा चलाएका छन्।