बुधबार, कार्तिक १२ गते २०८३

नेकपा एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने 

फाल्गुण १५, २०७९ सोमबार
नेकपा एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने 


नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । पार्टीको सचिवालय बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट पार्टी बाहिरिने   र सरकारलाई दिएको समर्थन पनि  फिर्ता लिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।  

पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पौडेलले प्रधानमन्त्री दाहालले नेकपा एमाले र एमालेले प्रतिनिधित्व गरेका मन्त्रीहरूप्रति गरेको व्यवहार र टिप्पणीका कारण आफूहरू सरकारबाट बाहिरिन बाध्य भएको  उल्लेख गरे । उनले भने, ‘राष्ट्रपतिको निर्वाचनमा सहमति नभए पनि सरकारलाई सहयोग गरेर काम गर्ने सोचमा हामी थियौँ ।

तर पछिल्ला दिनमा प्रधानमन्त्रीज्यूले नेकपा एमाले र एमालेबाट प्रतिनिधित्व गर्नु भएको मन्त्रीप्रति गरेको अभिव्यक्ति र व्यवहारले गर्दा हामी सरकार छाड्ने निर्णयमा पुग्यौँ ।’  ह्युमन राइट्स काउन्सिलको बैठकमा जानबाट परराष्ट्रमन्त्री विमला राईलाई अकारण रोकेकोमा  समेत उनले आक्रोश व्यक्त गरे ।