बुधबार, कार्तिक १२ गते २०८३

बेपत्ता दण्डपाणी न्यौपाने लगायत सबै इमान्दार क्रान्तिकारी योद्धाहरुप्रति हार्दिक सम्झना, सम्मान र सलाम !

जेठ ७, २०८० आइतबार
बेपत्ता दण्डपाणी न्यौपाने लगायत सबै इमान्दार क्रान्तिकारी योद्धाहरुप्रति हार्दिक सम्झना, सम्मान र सलाम !
bepattayoddha.jpg
नारायण शर्मा
ज जेठ ७ । जनयुद्धका क्रममा राज्यद्वारा गैरकानुनी, गैरन्यायिक, अमानवीय, अलोकतान्त्रिक रुपमा हठात् र बलात् बेपत्ता पारिएका माओवादी नेता, कार्यकर्ता, योद्धा र जनताको सम्झना, श्रद्धा र सलामी अर्पण गर्ने एक विशिष्ट दिन ।
हार्दिक स्मरण, श्रद्धासुमन र सलाम क. दण्डपाणि न्यौपानेलगायतका १५०० बढी सम्पूर्ण वीरवीराङ्गना बेपत्ता योद्धाहरुलाई ।
अहिले जनयुद्धका सुपृम कमाण्डर र माओवादी पार्टीका ४ दसकदेखिकै अविच्छिन्न कार्यकारी प्रमुख नेता प्रचण्ड नै देसकै तेस्रो कार्यकालको लागि कार्यकारी प्रमुखको रुपमा प्रधानमन्त्री हुनुहुन्छ ! उहाँले अरु धेरै ठुला, चर्का र धाकधक्कुयुक्त कुरा गर्नुभन्दा विगत २५ बर्षभन्दा पनि बढी समयदेखि बेपत्ता बनाइएका आफ्नै अङ्ग, जीवन, सत्ता र स्वार्थका रक्षक यी सम्पूर्ण बेपत्ता योद्धाहरुको यथार्थ अवस्था सास वा लास पत्ता लगाई सम्बन्धित सन्तति-आफन्तीहरुको आश र त्राशलाई सम्बोधन गर्न सके धेरै ठुलो काम हुन्थ्यो । प्रधानमन्त्रीय प्रणालीमा यस क्षेत्रमा केही राम्रो गर्न खोजेझैं गर्ने तर आफ्नै सत्ताधारी दलले वा आफ्नै राज्य संयन्त्रको अर्को अङ्गले विरोध गर्ने र रोक्ने भनेको कि त "तँ रोएझैं गरेस् म कुटेझैं गर्छु" भनेको हो कि भने लाचार कार्यकारी प्रमुख भएको प्रमाणित हुनु भनको हो ! यस्तो प्रधानमन्त्री हुनुको बेपत्ता योद्धा र तिनका परिवारजनहरुको लागि के अर्थ ?
तसर्थ, प्रचण्ड साँच्चै गम्भीर, संवेदनशील र जिम्मेवार नेता-प्रधानमन्त्री हो भने उहाँले आफ्नै सहकर्मी, सहधर्मी र सहयोद्धा यी बेपत्ता योद्धाहरुलाई अबिलम्ब सार्वजनिक गर्न-गराउन सक्नुपर्छ । यही कुरा गर्न राज्यसँग खासगरी प्रधानमन्त्री प्रचण्डसँग म यस दिवसका सन्दर्भमा यस बर्ष २०८० मा पनि पुन: जोडदार माग गर्दछु ।
साथमा यस बेपत्ता योद्धा दिवसका सन्दर्भका केही अनुभूतिहरु समेत स्मरण गर्न-गराउन चाहन्छु !
वि.सं. २०५६ जेठ ७ गते दिउँसो ४ बजे काठमाडौं सुनधारा (टेवहाल, संकटा मन्दीर नेर) बाट नेकपा (माओवादी) का तत्कालीन केन्द्रीय सदस्य दण्डपाणी न्यौपाने (दीपेन्द्र शर्मा–चितवन), लाई अनि मिलन नेपाली (काठमाडौं), नवीन शर्मा (काभ्रे), कमला शर्मा (काभ्रे) , गोरे बहादुर पुर्कोटी लगायतलाई काठमाडौबाटै तत्कालीन राज्यले गिरफ्तार गर्यो तर राज्यले कतिपयबेला गिरफ्तार नै नगरेको भन्दै आयो त कतिपयबेला ती मान्छे हामीसँग छैनन् भन्दै आएको छ । एकपटक त तत्कालीन प्रम कृष्ण प्रसाद भट्टराईले पद्मरत्न तुलाधरहरुसङ्ग " They are already killed" सम्म भने ! त्यतिबेला गिरफ्तार सबै योद्धाहरु आजसम्म वेपत्ताको स्थितिमा छन् ! विडम्बना माओवादी नेता द्वयकै नेतृत्वमा तीन पटक सरकार बने, सहभागिताका सरकारको कुरा छोडौं, तर तिनको कुनै अत्तोपत्तो नहुनु वा पत्तो लगाउन गम्भीर प्रयत्न नहुनु दुखद विडम्बना भएको छ ! अझ विचित्र विडम्बना त यो भैरहेछ कि यी वेपत्ता योद्धा, सहिद, घाइते र इमान्दार क्रान्तिकारीलाई बिर्सने र आफ्ना विगतका प्रतिबद्धताबाट विचलित हुने गरेको समेत हामीलाई आरोप लाग्ने गरेको छ ! जे होस्, त्यही दिनलाई नेकपा माओवादीद्वारा वेपत्ता योद्धा दिवश मनाउने घोषणा गरिएकोले हालसम्म पनि मनाउँदै आइएको छ । राज्यद्धारा बेपत्ता दण्डपाणी न्यौपाने लगायत सबै इमान्दार क्रान्तिकारी योद्धाहरुप्रति हार्दिक सम्झना, सम्मान र सलाम ! आजको दिनमा सबै वेपत्ता, सहिद, घाइते र इमान्दार क्रान्तिकारीका सपना र जपना पूरा गर्ने प्रण गरौं, संघर्ष गरौं ! यसरी नै उहाँहरुप्रती सच्चा श्रद्धा हुने छ !
 

  • सम्बन्धित विषय:

  • # नारायण शर्मा