शुक्रबार, कार्तिक १४ गते २०८३

सुदूरपश्चिमका सहकारीमा सदस्यसँगै समग्र वित्तीय कारोबारमा वृद्धि


कार्तिक १४, २०८३ शुक्रबार
सुदूरपश्चिमका सहकारीमा सदस्यसँगै समग्र वित्तीय कारोबारमा वृद्धि


सुदूरपश्चिममा रहेका सहकारी संस्थामा सदस्यको संख्यासगँगै पुँजी  संकलन र परिचालनमा समेत  वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले केही समय अगाडि  प्रकाशित गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३) ले सदस्यको संख्या, पुँजी संकलन र परिचालनमा  वृद्धि भएको देखाएको हो ।

राष्ट्र बैंकले उक्त प्रदेशमा रहेका सहकारी मध्ये प्रत्येक जिल्लाबाट एक एक वटा सहकारी संस्था नमुना छनोटको रुपमा लिएको थियो । केन्द्रीय बैंकले छनोट गरेका संस्थाहरुमा सदस्य संख्या र पुँजी दुबै वृद्धि भएको देखाएको छ ।   समीक्षा वर्षमा नमुना छनौटमा परेका १० वटा सहकारीहरुको  कुल पुँजी गत वर्षको तुलनामा १४.८८ प्रतिशतले वृद्धि भई रु.१ अर्ब ३४ करोड ०९ लाख पुगेको केन्दीय बैंकको अध्ययनले देखाएको छ । गत वर्ष यस्तो पुँजी १४.७६ प्रतिशतले वृद्धि भई रु.१ अर्ब १६ करोड ७३ लाख पुगेको थियो । यसैगरी, कुल बचत गत वर्षको तुलनामा ६.६८ प्रतिशतले बढ्न गई रु.६ अर्ब ४१ करोड ३ लाख पुगेको छ । गत वर्ष यस्तो बचत ७.३२ प्रतिशतले वृद्धी भई रु.६ अर्ब ८८ लाख पुगेको थियो ।

यसैगरी समीक्षा वर्षमा नमुना छनौटमा परेका १० वटा सहकारीहरुले प्रवाह गरेको कुल ऋण गत वर्षको तुलनामा ३.४३ प्रतिशतले वृद्धि भई रु.५ अर्ब १९ करोड ६३ लाख पुगेको  अध्ययनले देखाएको छ । गत वर्ष यस्तो ऋण ५.८४ प्रतिशतले वृद्धि भई ५ अर्ब २ करोड ५१ लाख पुगेको थियो । समीक्षा वर्षमा छनौट गरिएका सहकारी संस्थाका सदस्यहरुको संख्या ९.१२ प्रतिशत र सहकारी संस्थामा काम गर्ने कर्मचारीको संख्या ३.७२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा सदस्य संख्या ९.०५ प्रतिशतले तथा कर्मचारी संख्या ५.०३ प्रतिशतले वृद्धि भएको थियो ।